‘भद्र सहमति’ तोडिएको १ वर्ष पूराः निक्षेपको ब्याजदर साढे ४ प्रतिशत बिन्दुसम्मले घट्यो, बढेन कर्जा



काठमाडौं । आफ्नै ढंगले तय गर्न थालेको १ वर्षमा वाणिज्य बैंकहरुले निक्षेपमा दिने अधिकतमक ब्याजदरको औसत ३.११ प्रतिशतले घटेको छ । २०८० असारसम्म वाणिज्य बैंकहरले निक्षेपमा समान ९.९९ प्रतिशत ब्याज दिने गरेकामा साउनदेखि आफूखुसी दर तोक्न थालेका थिए ।

ब्याजदर तय बैंकले प्रतिस्पर्धी ढंगले गर्नुपर्ने मान्यतासहित १ वर्षअघि बैंकरहरुबीच भद्र सहमती तोड्ने सहमति सहित साउनका लागि सबै बैंकले नयाँ ब्याजदर तय गरेका थिए ।

त्यसयता भदौ र असोजमा केही बैंकहरुले निक्षेपको ब्याजदर करिब १२ प्रतिशतसम्म पुर्‍याएका थिए । यी महिनामा निक्षेपमा दिने अधिकतम ब्याजदरको औसत १०.३ प्रतिशतसम्म पुगेको थियो ।

त्यसयता बैंकिङ क्षेत्रमा पर्याप्त तरलताका कारण ब्याजदर घटिरहेको छ ।

भद्र सहमती तोडिएलगत्तै निक्षेपको अधिकमत ब्याजदरको औसत ९.८३ प्रतिशत रहेकामा साउन २०८१ का लागि तय भएको नयाँ ब्याजदरको औसत ६.७२ प्रतिशत कायम भएको छ ।

अर्थात् उतारचढावका माझ १ वर्षमा यस्तो औसत ३.११ प्रतिशतले घटेको छ ।

१ वर्षको अन्तरमा सबैभन्दा बढी ब्याजदर घटाउने बैंक प्राइम कमर्सियल बैंक हो । बैंकले यस अवधिमा निक्षेपको अधिकतम ब्याजदर ४.४३ प्रतिशतले घटाएको हो । बैंकले गत वर्षको साउनमा निक्षेपमा १०.९३ प्रतिशतसम्म ब्याज दिने घोषणा गरेको थियो । यो महिनाका लागि बैंकले मात्रै ६.५ प्रतिशत ब्याज दिने घोषणा गरेका छ ।

यस अवधिमा सबैभन्दा कम ब्याजदर घटाउने बैंक स्ट्यान्डर्ड चार्टर्ड हो । गत वर्षको साउनमा यस्तो दर ८.९५ प्रतिशत रहेकामा बैंकले यो महिनाका लागि ब्याजदर ७ प्रतिशत तोकको छ ।

गत वर्ष बैंकहरुबीच भद्र सहमती तोडिएपछि नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसी सीईओ रहेको एनएमबि बैंकले सबैभन्दा बढी १०.९८ प्रतिशत ब्याज दिने घोषणा गरेको थियो । त्योबेला सबैभन्दा कम ब्याज स्ट्यान्डर्ड चार्टर्डले दिने बताएको थियो ।

एक वर्षपछि सबैभन्दा बढी ब्याज दिने बैंक एनएमबी नै बनेको छ । साउनका लागि एनएमबिसँगै एनआईसी एशियाले पनि सर्वाधिक ७.५३ प्रतिशत ब्याज दिने बताएका छन् । यो महिनाका लागि निक्षेपमा सबैभन्दा कम ब्याज राष्ट्रिय वाणिज्य बैंकले दिँदैछ ।

ब्याजदर घटेपनि बढेन कर्जा

१ वर्षको अन्तरालमा ब्याजदर भारीमात्राले घटेपनि बैंकबाट प्रवाह हुने कर्जाको परिमाण भने उल्लेख्य मात्रामा बढ्न सकको छैन ।

सामान्यतयाः ब्याजदर घटेपछि कर्जाको माग बढ्ने अनुमान लगाइन्छ । व्यवसायीले पनि ब्याजदर उच्च भएको भन्दै कर्जा लिनै नसक्ने अवस्थामा पुगेको र नेपाल राष्ट्र बैंक घटाउन सक्रिय नभएको भन्दै चर्को विरोध गरेका थिए ।

निक्षेपको ब्याजदर घटेपनि कर्जाको लागत पनि घट्ने भएकाले अहिले कर्जाको ब्याजदर पनि निकै घटेको छ ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार जेठ मसान्तसम्म वाणिज्य बैंकहरुको औसत आधार दर ८.१७ प्रतिशत कायम भएको छ जुन अघिल्लो साउनको १०.११ प्रतिशतभन्दा १.९४ प्रतिशत हो । यस अवधिमा वाणिज्य बैंकहरुको कर्जाको भारित औसत ब्याजदर १२.२४ प्रतिशतबाट १०.१५ प्रतिशतमा झरेको छ ।

निक्षेप र कर्जाको ब्याजदरमा उल्लेख्य गिरावट आएपनि कर्जा भने सोहीअनुरुप बढेको छैन ।

गत आवको ११ महिना (जेठ मसान्त)सम्ममा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा २ खर्ब ४६ अर्ब ८० करोड (५.१ प्रतिशत) ले मात्र बढेको छ ।

यसअवधिमा स्ट्यान्डर्ड चार्टर्ड र प्रभु बैंकले कर्जा प्रवाह घटाएका छन् । यसैगरी प्राइम कमर्सियल बैंकले १८ प्रतिशतले कर्जा विस्तार गर्दा नबिलले १३ प्रतिशत तथा एभरेष्ट र कृषि विकासले १० प्रतिशतभन्दा बढी दरले कर्जा प्रवाह विस्तार गरेका छन् ।

१ वर्षमा केके भयो ?
बैंकमा तरलताको अवस्था सहज भएको निष्कर्षसहित २०८० असार २७ गते बैंकहरुले आफैंले ब्याजदर तोक्ने सहमति गरेका थिए । त्यसयता भएको घटनाक्रम निम्नअनुसार छ ।

२०८० साउन
औसत ब्याजदरः ९.८३ प्रतिशत
सबैभन्दा बढीः एनएमबि बैंकको १०.९८ प्रतिशत
सबैभन्दा कमः स्ट्यान्डर्ड चार्टर्ड बैंकको ८.९५ प्रतिशत

२०८० भदौ
औसत ब्याजदरः १०.३३ प्रतिशत
सबैभन्दा बढीः एनआईसी एशिया, ग्लोबल आईएमई, कुमारी, सिटजन्स, कृषि विकास, सानिमा र नेपाल बैंकको १०.८९६ प्रतिशत
सबैभन्दा कमः स्ट्यान्डर्ड चार्टर्ड बैंकको ८.९२ प्रतिशत

२०८० असोज
औसत ब्याजदरः १०.२६ प्रतिशत
सबैभन्दा बढीः प्राइम कमर्सियल बैंकको ११.३५८ प्रतिशत
सबैभन्दा कमः स्ट्यान्डर्ड चार्टर्ड बैंकको ९.२९ प्रतिशत

२०८० कात्तिक
औसत ब्याजदरः ९.९६ प्रतिशत
सबैभन्दा बढीः एनएमबि, हिमालयन र एनआईसी एशिया बैंकको ११.००३ प्रतिशत
सबैभन्दा कमः स्ट्यान्डर्ड चार्टर्ड र एभरेष्ट बैंकको ९.२२ प्रतिशत

२०८० मंसिर
औसत ब्याजदरः ९.६१ प्रतिशत
सबैभन्दा बढीः माछापुच्छ्रे, नेपाल एसबीआई र हिमालयन बैंकको ९.६१ प्रतिशत
सबैभन्दा कमः एनआईसी एशिया बैंकको ८.९६८ प्रतिशत

२०८० पुस
औसत ब्याजदरः ८.९९ प्रतिशत
सबैभन्दा बढीः माछापुच्छ्रे र नेपाल एसबीआई बैंकको ९.६ प्रतिशत
सबैभन्दा कमः नेपाल बैंकको ८.५५६ प्रतिशत

२०८० माघ
औसत ब्याजदरः ८.१७ प्रतिशत
सबैभन्दा बढीः सिटिजन्स बैंकको ९.१५ प्रतिशत
सबैभन्दा कमः कृषि विकास बैंकको ७.२६ प्रतिशत

२०८० फागुन
औसत ब्याजदरः ७.७६ प्रतिशत
सबैभन्दा बढीः एनएमबि बैंकको ८.५ प्रतिशत
सबैभन्दा कमः कृषि विकास बैंकको ६.४४३ प्रतिशत

२०८० चैत
औसत ब्याजदरः ७.२५ प्रतिशत
सबैभन्दा बढीः एनआईसी एशिया बैंकको ८.५४८ प्रतिशत
सबैभन्दा कमः कृषि विकास बैंकको ५.६६६१ प्रतिशत

२०८१ वैशाख
औसत ब्याजदरः ७.०७ प्रतिशत
सबैभन्दा बढीः एनएमबि बैंकको ७.९७ प्रतिशत
सबैभन्दा कमः कृषि विकास बैंकको ५.६६६१ प्रतिशत

२०८१ जेठ
औसत ब्याजदरः ६.९९ प्रतिशत
सबैभन्दा बढीः एनएमबि र एनआईसी एशिया बैंकको ७.८ प्रतिशत
सबैभन्दा कमः कृषि विकास बैंकको ५.६६६१ प्रतिशत

२०८१ असार
औसत ब्याजदरः ६.८८ प्रतिशत
सबैभन्दा बढीः हिमालयन बैंकको ८.२५ प्रतिशत
सबैभन्दा कमः कृषि विकास बैंकको ५.६६६१ प्रतिशत

२०८१ साउन
औसत ब्याजदरः ६.७२ प्रतिशत
सबैभन्दा बढीः एनएमबि र एनआईसी एशिया बैंकको ७.५३ प्रतिशत
सबैभन्दा कमः राष्ट्रिय वाणिज्य बैंकको ६.२१ प्रतिशत


क्लिकमान्डु