पूर्वअर्थमन्त्री पुनको आरोप: गभर्नरले देउवा र प्रचण्ड सरकारलाई सहयोग गर्नु भएन



‘प्रचण्डको नेतृत्वको सरकारलाई पनि गभर्नरले सपोर्ट गर्नुभएन । अहिले आफूसँग वैचारिक निकटता भएको प्रधानमन्त्री र अर्थमन्त्री आएको हुनाले उहाँले खुकुलो गर्नुभएको आफ्नो ट्रेन्डभन्दा विपरीत खुकुलो नीति लिनुभयो ।’

काठमाडौं । पूर्वअर्थमन्त्री वर्षमान पुनले राष्ट्र बैंकका गभर्नरले आफूसँग वैचारिक निकटता मिल्ने प्रधानमन्त्री र अर्थमन्त्री आएकाले मौद्रिक नीति खुकुलो ल्याएको देखिएको बताएका छन् । तर गभर्नरले विगतका सरकारलाई साथ नदिएको पनि उनको आरोप छ ।

बिहीबार प्रतिनिधिसभा अन्तर्गतको अर्थसमितिको बैठकमा बोल्दै पूर्वअर्थमन्त्री पुनले यस्तो बताएका हुन् । उनले गभर्नरले विगतमा शेरबहादुर देउवा र पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई गभर्नरले साथ नदिएको पनि आरोप लगाए ।

अहिले आफूसँग वैचारिक निकटता भएको प्रधानमन्त्री र अर्थमन्त्री आएकाले गभर्नरले खुकुलो मौद्रिक नीति ल्याएको नेता पुनको दाबी थियो । भन्ने मान्छेको मुख थुन्न नसकिने भए पनि बाहिर बसेर हेर्दा कहीँ न कहीँ गभर्नरको भूमिका त्यही देखिएको उनले बताए ।

पूर्वअर्थमन्त्री पुनले भने, ‘बाहिर टिप्पणी पनि आएको छ । त्यो स्वभाविक पनि हो । विगतमा शेरबहादुर देउवाको नेतृत्वको सरकारलाई गभर्नरले सपोर्ट गर्नु भएन । प्रचण्डको नेतृत्वको सरकारलाई पनि गभर्नरले सपोर्ट गर्नुभएन । अहिले आफूसँग वैचारिक निकटता भएको प्रधानमन्त्री र अर्थमन्त्री आएको हुनाले उहाँले खुकुलो गर्नुभएको आफ्नो ट्रेन्डभन्दा विपरीत खुकुलो नीति लिनुभयो । यसले राम्रो भएको भन्ने पनि आयो । मान्छेको मुख थुन्न सकिँदैन । तर,कही न कही त्यो पनि देखिन्छ ।’

यस्तै अर्थमन्त्री र गभर्नरको वैचारिक निकटताका कारण वित्त र मौद्रिक नीतिको तालमेल यस पटक मिलेको उनले संकेत गरेका थिए । धितोपत्र बजार बढ्नु राम्रो भए पनि पहिले नै सुधारका नीति लिन राष्ट्र बैंकले ढिला गरेको पनि उनले बताए । उनले सेयर धितो कर्जाको सीमा पहिले नै हटाउनुपर्ने भए पनि अहिले मौद्रिक नीतिमार्फत हटाउनु राम्रो भएको पनि बताए ।

यस्तै पुँजी बजारको सन्दर्भमा पारदर्शी कारोबार र व्यवस्थापनका लागि तत्काल धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्नुपर्ने उनको भनाइ थियो । वर्तमान सरकारले धितोपत्र बोर्डको अध्यक्ष कुनै चलखेल र बद्मासी बिना उपयुक्त गर्नुपर्ने उनले बताए ।

पूर्वअर्थमन्त्री पुनले धितोपत्र बोर्ड रोकिरहेको आईपीओ तत्काल खोल्न पनि आग्रह गरेका थिए । उनले आईपीओ रोकिराख्नु राम्रो नभएको भन्दै अर्थमन्त्री र प्रधानमन्त्रीसँग छलफल गरी आईपीओ नरोक्न आग्रह गरेका थिए ।

धितोपत्र बोर्डको अध्यक्षमा व्यवसायिक मान्छे ल्याउनुपर्छ भनेर मैले पनि धेरै कोशिस गरे। यसमा धेरै कर्पोरेट हाउसको चासो रह्यो । तर बोर्ड अध्यक्षमा स्वच्छ र व्यावसायिक मान्छे ल्याउन आवश्यक छ ।’


क्लिकमान्डु