१५ वर्षदेखि बंगालादेशी प्रधानमन्त्री रहेकी हसिना हेलिकप्टर चढेर भागिन्, सेनाले अन्तरिम सरकार बनाउँदै



एजेन्सी । आरक्षणको बिरोधमा सुरु भएको आन्दोलनले उग्र रुप लिँदा बंगलादेशकी प्रधानमन्त्री शेख हसिना देश छाडेर भागेकी छन्। उनी करिब १५ वर्षदेखि बंगलादेशको प्रधानमन्त्री थिइन् ।

ढाकामा रहेको प्रधानमन्त्री कार्यालयमा बिहानैदेखि व्यापक आन्दोलन भइरहेको छ ।

प्रधानमन्त्री निवासमा अहिले प्रदर्शनकारीहरुको ठूलो भीड छ । विद्यार्थीहरुले भने देशभर प्रदर्शन गरेका छन् । सोमबार प्रदर्शन चर्किएपछि इन्टरनेट सेवा नै अवरुद्ध गरिएको थियो ।

बीबीसी बांग्लाका अनु्सार हसिनाले राजीनामा दिएकी छन् । उनले देश छाड्दा साथमा बहिनी शेख रेहाना पनि सँगै रहेको बीबीसीले जनाएको छ ।

बीबीसी बांग्लाका अनुसार शेख हसीना भारतको अगरतलातर्फ हेलिकप्टरमा चढेर गएकी छन् ।

प्रधानमन्त्री हसिनाले देश छाडेपछि सेनाका प्रमुख जनरल वकार उज जमानले सञ्चारमाध्यमबाट सम्बोधन गर्दै बंगलादेशमा एक अन्तरिम सरकार बनाउने घोषणा गरेका छन् ।

बंगलादेशको राजधानी ढाकामा हजारौं प्रदर्शनकारी प्रधानमन्त्री हसिनाको आधिकारिक निवासमा जम्मा भएका छन् ।

बंगलादेशमा आरक्षणलाई लिएर चलिरहेको आन्दोलन सोमबार थप व्यापक बनेको हो ।

छात्र नेताहरुले आयोजना गरेको ‘ढाकासम्म लङमार्च’ मा हजारौ मानिस ढाकाको उपनगरीय क्षेत्रतर्फ अघि बढेका थिए ।

हजारौं मानिस शाहबाग तर्फ पैदल र रिक्सामा आइरहेका छन् ।

पैदल यात्र गर्नेमा ठूलो संख्यामा महिला पनि रहेका छन् । यो क्षेत्र आवागमनको एक ठूलो हब हो र शहरको केन्द्र भाग हो । यहाँ कयौं पार्क र विश्वविद्यालय रहेको छ ।

सडकमा सेनाको बाक्लो उपस्थिति छ तर मार्च गर्नेहरुलाई रोकिएको छैन ।

सरकार विरोधी प्रदर्शनकारी र सुरक्षाबलबीच भएको भिडन्तमा करिब ३ सय जना मारिएका थिए ।


क्लिकमान्डु