बंगलादेशी प्रधानमन्त्रीको निवासमा ढुंगामुढा, देश छाडेर भागिन् हसिना



सेना प्रमुखले सम्बोधन गर्दै प्रदर्शनकारीलाई शान्त रहन आग्रह गरेका छन् ।

एजेन्सी । बंगलादेशमा आन्दोलन चर्किरहँदा प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिँदै देश छाडेकी छन् । उनकी बहिनीले पनि देश छाडेको बताइएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार हसिना सुरक्षित स्थानमा गएकी छन् ।

प्रधानमन्त्री कार्यालयमा बिहानैदेखि व्यापक आन्दोलन भइरहेको छ । प्रधानमन्त्री निवासमा अहिले प्रदर्शनकारीहरुको ठूलो भीड छ । विद्यार्थीहरुले भने देशभर प्रदर्शन गरेका छन् । सोमबार प्रदर्शन चर्किएपछि इन्टरनेट सेवा नै अवरुद्ध गरिएको थियो ।

यसैबीच बंगलादेशमा प्रदर्शन अनियन्त्रित भएपछि त्यहाँको सेनाले देशवासीका नाममा सम्बोधन गरेको छ । सैन्य प्रमुखले सम्बोधनको क्रममा प्रदर्शनकारीलाई शान्त रहन आग्रह गरेका छन् ।

बीबीसी हिन्दीका अनुसार हसिना देश छाडेर भारतमा गएकी छन् । उनी भारतको त्रिपुरा राज्यको राजधानी अगरतलातर्फ गएको समाचारमा उल्लेख गरिएको छ ।

बंगलादेशमा केही महिनादेखि नै आरक्षणको सुविधाविरुद्ध देशभर विद्यार्थीहरु आन्दोलित हुँदै आएका छन् । पछिल्लो समय सरकारले प्रदर्शन दबाउन बल प्रयोग गरेपछि प्रदर्शन झनै चर्किएको हो । आइतबार नै सरकारले बल प्रयोग गर्दा १ सय ९३ जना प्रदर्शनकारीको मृत्यु भएको थियो ।

प्रधानमन्त्रीले आन्दोलनकारीका माग सुनुवाइ नगर्दा सोमबार बिहानैदेखि प्रदर्शनकारीहरुले प्रधानमन्त्रीको निवास नै घेराउ गरेका थिए । यसैबीच नेपाल सरकारको त्यहाँस्थित नेपाली विद्यार्थीहरुलाई सुरक्षित स्थानमा रहन आह्वान गरेको छ । ढाकास्थित नेपाली दूतावासले सूचना प्रकाशित गर्दै नेपालीहरुलाई सुरक्षित रहन आह्वान गरेको हो ।

पछिल्लो समय बंगलादेशमा प्रदर्शन हिंसात्मक बन्दै गएको छ । ठूलो संख्यामा प्रदर्शनकारीहरु मारिएका छन् । प्रदर्शनकारीहरुले भौतिक संरचना पनि क्षति पुर्‍याएका छन् । यस्तैमा सेनाले देशवासीका नाममा सम्बोधन गरिरहँदा कतिपयले बंगलादेशको राजनीतिक भविष्यबारे चिन्ता व्यक्त गर्न थालेका छन् ।


क्लिकमान्डु