शंकर ग्रुपले ८ अर्ब खर्चेर बनाएको पाँचतारे होटल हिल्टन सञ्चालनमा, प्रधानमन्त्रीले उद्घाटन गर्ने



काठमाडौं । शंकर ग्रुपले निर्माण गरेको पाँचतारे हिल्टन होटल सञ्चालनमा आएको छ । अन्तर्राष्ट्रिय चेनको हिल्टनले यो होटलको व्यवस्थापन जिम्मेवारी लिएको छ । होटल भोलि शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीबाट औपचारिक उद्घाटन हुँदै छ ।

१७४ कोठाको यो होटलमा शंकर ग्रुपले ८ अर्ब रुपैयाँ लगानी गरेको छ । होटल ७ वर्ष अगाडि नै निर्माण सुरु गरेको भए पनि कोरोना महामारी र अरु प्राविधिक कारणले निर्माणमा ढिलाइ भएको ग्रुपले जनाएको छ ।

यो होटलले स्तर वर्गीकरणको लागि अनुगमन गरिदिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पर्यटन विभागमा निवेदन दिएको छ । पर्यटन विभागका प्रवक्ता कालीबहादुर भुलेजका अनुसार होटल सञ्चालनमा आएकोले शुक्रबार औपचारिक उद्घाटन हुँदै छ । होटलको अनुगमन गरेर ५ तारे डिलक्सको मान्यता दिन आवेदन परेको परेको उनले बताए ।

१५० कोठा माथिका आवश्यक मापदण्ड पुगेका होटल पाँचतारे डिलक्स हुन सक्छन् । होटलको स्तरीकरणसम्बन्धी मापदण्डले निर्धारण गरेका शर्त पूरा गरेको अवस्थामा मात्रै स्तरीकरण निर्धारण हुने हुख्छ । होटलले पाँचतारे माथिको स्तर वर्गीकरणको माग गरेको विभागले जानकारी दिएको छ ।

‘अहिलेलाई होटल सञ्चालन गर्दै गर्नुस्, पर्यटन विभागले अनुकुल समयमा अनुगमन गरेर स्तरकरण गछौं भनेका छौं,’ भुजेलले भने ।

जगदम्बा हस्पिटालिटी ग्रुपले निर्माण गरेको यो होटल सन् २०१२ मा दर्ता भएको र सन् २०२३ को जुलाईमा पब्लिक लिमिटेड कम्पनीमा परिणत गरिएको थियो। होटल निर्माण सुरु गरेसँगै हिल्टनसँग व्यवस्थापनका लागि सम्झौता गरेको थियो ।

हिल्टन वर्ल्डवाइड म्यानेज लिमिटेड बेलायत हिल्टन वर्ल्डवाइड होल्डिङ इंकको स्वामित्व भएको कम्पनी हो । जुन अमेरिकन मल्टिनेसनल हस्पिटालिटी कम्पनी हो । यस कम्पनीले सन् २०२३ अक्टोबरसम्म विश्वका १२३ देशमा ७ हजार २९५ होटल तथा रिसोर्टका १० लाख वटा कोठा व्यवस्थापन गर्दै आएको छ ।

शंकर ग्रुपले मुलुकमा ४० वर्षदेखि विभिन्न व्यापार व्यवसायमा लगानी गर्दै आएको छ भने साहिल अग्रवालसँग ट्रेड तथा उद्योगमा २० वर्षको अनुभव छ । शंकर ग्रुपले हाल उत्पादनमूलक उद्योग, ट्रेडिङ, बीमा, जलविद्युत्, घरजग्गालगायतका क्षेत्रमा लगानी गरेको छ ।

हिल्टन होटलमा हेल्थ क्लब स्पा, वातावरण अनुकूल स्विमिङ पुल र फिटनेस सेन्टरसहितका सुविधा उक्त होटलमा उपलब्ध हुने कम्पनीको भनाइ छ । होटलले स्थानीय तथा अन्तर्राष्ट्रिय स्वादका खाना उपलब्ध गराउने छ ।

होटलमा विवाह तथा सभा समारोहका लागि छुट्टै सभाकक्ष निर्माण हुनेछ । दुई तला अन्डर ग्राउन्डसहित बन्न लागेको १८ तल्ले भवनको १६औं तलामाथि स्विमिङ पुल रहनेछ । होटलमा नाइट क्लब, जिम हल, स्पालगायतका सुविधासमेत हुनेछन्।


क्लिकमान्डु