हेलिकप्टर पाइलटले उठाएका माग ७ दिनभित्र समाधान गर्ने गरी समिति गठन



काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले नलिन्चोकको हेलिप्याडको विषयमा पाइलटले उठाएका माग समाधान गर्ने गरि अध्ययन समिति गठन गरेको छ ।

अध्ययन समितिलाई ७ दिनको समय दिइएको छ ।

नलिन्चोकमा निर्माण भएको हेलिप्याड सञ्चालन गर्न प्रतिवद्ध रहेको बुधबार प्राधिकरणले निर्णय गरेको छ ।

‘नलिन्चोक हेलिप्याड सञ्चालनको लागि असार १६ गते पाइलटलहरुले दिएको पत्र अनुसार उनीहरुको माग सम्बोधन गर्न प्राधिकरणले एक अध्ययन समिति गठन गरेको हो’ प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भने ।

हाल नलिन्चोकमा निर्माण भएको हेलिप्याडमा आवश्यक पूर्वाधार पूरा भएपछि मात्रै हेलिपोर्ट बन्ने भुलले बताए । हाल सञ्चालनमा आएको हेलिप्याड भएको र आवश्यक सेवा सुविधा पूर्वाधार बनाएपछि मात्रै हेलिपोट भनिने उनको भनाइ छ ।

हेलिप्याडलाई सुरक्षित र सुदृढ बनाउन प्राधिकरण प्रतिवद्ध भएकोले उक्त समिति गठन गरेको उनको भनाइ छ ।

समितिले प्राधिकरण महानिर्देशक प्रदीप अधिकारीलाई प्रतिवेदन बुझाउने छ ।
पाइलटहरुले राखेको सेवा र सुविधालाई सम्बोधन गर्न प्राधिकरणले कुनै पनि उड्डयन सुरक्षामा सम्झौता नगर्ने भुलले बताए । प्राधिकरणले पाइलटको माग अनुसार नै सेवा सुविधा दिएर हेलिपोर्टलाई व्यवस्थित रुपमा सञ्चालन गर्ने र त्यसका लागि प्राधिकरण प्रतिवद्ध भएको उनको भनाइ छ ।

मौसमका कारणले हेलिकप्टरले कामै नपाएको अवस्थामा नलिन्चोकबाट उडान अवतरण नगर्ने भनेर मिडियाबाजी गर्नुको कुनै तुक नभएको प्राधिकरणको भनाइ छ ।


क्लिकमान्डु