नलिन्चोक हेलिपोर्टमा उडान नगर्ने पाइलटहरुको निर्णय, उड्डयन सुरक्षामा सम्झौता नगर्ने निष्कर्ष




काठमाडौं । नलिन्चोक हेलिपोर्टमा उडान नगर्ने हेलिकप्टर पाइलहरुले निर्णय गरेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले नलिन्चोकमा बनाएको हेलिपोर्टमा उड्डयन सुरक्षामा जोखिम भएको निष्कर्ष निकाल्दै हेलिकप्टर पाइलटहरुले आज विहीबारदेखि उडान अवतरण नगर्ने निर्णय गरेका हुन् ।

एक हेलिकप्टर पाइलटका अनुसार पाइलटहरुबीच बुधबार भएको बैठकमा नलिन्चोक हेलिपोर्टबाट हुने उडान अवतरण जोखिमपूर्ण भएको र न्यूनतम पूर्वाधारसमेत नभएको भन्दै उडान नगर्ने निर्णय गरेका हुन । ति पाइलटका अनुसार जबसम्म हेलिपोर्टबाट उडान अवतरण गर्नु काठमाडौं विमानस्थलकै जस्तो ढुक्कको सुरक्षित महशुस हुँदैन तबसम्म त्यहाँ जान सकिदैन ।

ती पाइलटले भने ‘प्राधिकरणले उड्डयन सुरक्षामा खेलाँची गरेर हेलिपोर्ट बनाएको, आवश्यक सुरक्षा संयन्त्रसहितका पूर्वाधार बिना नै उडानमा दबाब दिएको सहितका कारण अब उडान गर्न नसकिने निष्कर्ष निकालिएको हो।’

सुरक्षा जोखिम न्यूनिकरणका लागि प्राधिकरणलाई असार १६ मा लिखित रुपमै विभिन्न हेलिकप्टर कम्पनीका ४७ जना पाइलटहरुले सुझाव दिएका थिए । ती पाइलटहरुको सुझावलाई प्राधिकरणले बेवास्था गरेको निष्कर्ष पनि पाइलटहरुको छ ।
उक्त हेलिपोर्ट प्राधिकरणले कमिशनका लागि बनाएको आरोप लागिरहेको छ । प्राधिकरण नेतृत्वले पनि उक्त हेलिपोर्टमा पाइलटलाई जबरजस्ती उडान अवतरण गर्न लगाइरहेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले असार ७ गते यो हेलिपोर्टको उद्घाटन गरेका थिए। त्यसपछि प्राधिकरणले यो हेलिपोर्टबाट सबै कम्पनीका कम्तिमा एकएक हेलिकप्टर नलिनचोकबाट अनिवार्य सञ्चालन गर्न निर्देशन दिएको छ ।

पाइलटहरुले आवश्यक पूर्वाधार र अत्यावश्यक सेवा नहुँदै हेलिकप्टर उडान बाध्य पारिनुले उड्डयन सुरक्षामै जोखिम भएको भन्दै आपत्ति जनाएका छन् । यो हेलिपोर्ट वरिपरी उच्च भू-भागससहितको अवरोधहरु रहेको, कन्ट्रोल टावर नबनेको, फाइनल एप्रोच टेकअफ प्वाइन्ट साँधुरो भएको, पार्किङ क्षेत्र सानो, इन्धन भर्ने सुविधा नभएको, आपतकालीन सेवा अभाव र साघुँरो क्षेत्रमा हेलिपोर्ट भएको कारण उडानयोग्य नभएको हेलिकप्टरका क्याप्टेनहरुको भनाइ छ ।


क्लिकमान्डु