हतारमा बनाइएको हेलिपोर्टमा जबरजस्ती उडान, हवाई सुरक्षामा उच्च जोखिम



काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले भक्तपुरको नलिल्चोकमा साढे ११ करोड रुपैयाँ खर्चिएर बनाएको हेलिपोर्ट कमिशनको लोभमा हतारमा निर्माण गरिएको छ ।

प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई चाप कम गर्न भन्दै नलिन्चोकमा हतार गरेर हेलिप्याड बनाएका हुन् । उनले हेलिप्याडमा आवश्यक न्यूनतम पूर्वाधार तयार नहुँदै निजी क्षेत्रका हेलिकप्टर कम्पनीलाई उडान तथा अवरणमा बाध्य पारेका छन् ।

प्राधिकरणले आवश्यकता र औचित्यमाथि समेत अध्ययन नगरी हेलिपोर्ट (हेलिकप्टरको उडान तथा अवतरण गर्ने विमानस्थल) बनाएको आरोप सम्बन्धित हवाई क्षेत्रका जानकारहरुले लगाएका छन् ।

‘प्राधिकरणको उच्च नेतृत्वले आफूलाई फाइदा हुने भएपछि विभिन्न बाहनामा नलिन्चोकमा हेलिप्याड बनाएको छ,’ हवाई क्षेत्रका एक जनाकारले भने, ‘आवश्यक न्यूनतम पूर्वाधारनै नबनाइ हेलिकप्टरलाई उडान र अवतरणमा बाध्य पारिएको छ ।’

प्राधिकरणले ७ असारमा पर्यटन मन्त्री हितबहादुर तामाङलाई लगेर शुभारम्भ गरेसँगै हरेक हेलिकप्टर कम्पनीलाई उक्त हेलिपोर्टमा उडान तथा अवतरण गर्न बाध्य पारिएको छ । यो हेलिपोर्टमा सबै कम्पनीका हेलिकप्टरले उडान अवतरण गर्नुपर्ने र रात्री बिसानसमेत त्यही गर्नुपर्ने बाध्यकारी व्यवस्था उड्डयन प्राधिकरणले गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई चाप घटाउन, हेलिकप्टरले नियमित उडानका वायुसेवालाई गर्ने अवरोध हटाउन र क्षमताभन्दा बढीका हेलिकप्टर काठमाडौंमा बस्ने थालेको भन्दै प्राधिकरणले नलिन्चोकमा हेलिपोर्ट बनाएको हो । साढे दुई वर्षअघि (२०७८ माघ १८) मा उड्डयन प्राधिकरणको महानिर्देशक भएका अधिकारीले यो हेलिप्याडको भौतिक संरचना सकिएको भए पनि आवश्यक पूर्वाधारविना नै जोखिम मोलेर हेलिकप्टरलाई उडानमा दबाब दिएका हुन् ।

आवश्यक पूर्वाधार तयार नपारेकोले पनि यो हेलिपोर्टमा उडान अवतरण असहज भएको भन्दै ४७ जना हेलिकप्टर पाइलटले असहमतिसहितको पत्र प्राधिकरणलाई दिएका छन्

यो हेलिपोर्ट उमा एण्ड कम्पनीले बनाएको हो । यो हेलिपोर्ट बनाउन प्राधिरकणले नै ३० करोड रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरेको थियो । यस्तो लागत अनुमानमा हेलिपोर्ट मात्रै बनाउन १५ करोड र त्यहाँ इन्धन ट्यांक, फायर फाइटिङ कक्ष, टावर, हेलिकप्टर मर्मत गर्ने ह्याङगर, यात्रु टर्मिनल, कन्फेक्सनरी सपसहितको सेवा सुविधाको लागि प्राधिकरणले थप १५ करोड रुपैयाँ खर्च गर्ने भएको छ । यही खर्चमा कमिशनको चलखेल गर्न प्राधिकरण नेतृत्वले आवश्यक पूर्वाधार तयार नहुँदै हेलिपोर्ट सञ्चालनमा बाध्यकारी गरेको स्रोतको भनाइ छ ।

‘यो हेलिपोर्ट कमिशनका लागि बनाइएको छ,’ स्रोतले क्लिकमान्डुसँग भन्यो, ‘इन्धन ट्यांक, फयार फाइटिङ कक्ष, टावर केही बनाइएको छैन । सबै अत्यावश्यक पूर्वाधारको तयारी नभइ जोमिख लिएर हेलिकप्टर लैजान हतार गरिएको छ ।’

यो आन्तरिक उडानको हेलिकप्टर मात्रै उडान अवतरण हुने विमानस्थल हो । विमानस्थल भएकोले अन्य आन्तरिक विमानस्थलमा जस्तै आवश्यक सेवा सुविधा यसमा आवश्यक हुन्छ ।

आवश्यक पूर्वाधार तयार नपारेकोले पनि यो हेलिपोर्टमा उडान अवतरण असहज भएको भन्दै ४७ जना हेलिकप्टर पाइलटले असहमतिसहितको पत्र प्राधिकरणलाई दिएका छन् ।

पाइलटहरुले आवश्यक पूर्वाधार र अत्यावश्यक सेवा नहुँदै हेलिकप्टर उडान बाध्य पारिनुले उड्डयन सुरक्षामै जोखिम भएको भन्दै आपत्ति जनाएका छन् । यो हेलिपोर्ट वरिपरी उच्च भू-भागससहितको अवरोधहरु रहेको, कन्ट्रोल टावर नबनेको, फाइनल एप्रोच टेकअफ प्वाइन्ट साँधुरो भएको, पार्किङ क्षेत्र सानो, इन्धन भर्ने सुविधा नभएको, आपतकालीन सेवा अभाव र साघुँरो क्षेत्रमा हेलिपोर्ट भएको कारण उडानयोग्य नभएको हेलिकप्टरका क्याप्टेनहरुको भनाइ छ ।

‘आवश्यक पूर्वाधार र अत्यावश्यक सेवा नहुँदै उडानमा बाध्य पारिएको छ,’ एक हेलिकप्टर पाइलटले भने,’यसले हवाई उडानमा जोखिम निम्त्याएको छ।’

नलिन्चोकमा प्राधिकरणको ३३ रोपनी क्षेत्रफमा हेलिकप्टर बनाएको भए पनि न्यूनतम पूर्वाधार पूरा नहुँदै उडान अवतरणमा जोड दिनु प्राधिकरणकै ‘जमिनको सहतहमा हेलिप्याड निर्माण तथा सञ्चालन सम्बन्धी कार्यविधि २०७५’ विपरीत भएको उनीहरुको भनाइ छ । हेलिप्याडको मापदण्ड अनुसार चारैतिर खुला हुनुपर्ने तथा हेलिकप्टरको उडान अतरणमा कुनै पनि बाधा हुन नहुने व्यवस्था छ । हेलिपोर्ट वरपर कुनै पनि संरचना हुन नहुने र नजिक डाडाँ नभएको हुनुपर्ने कार्यविधिमा व्यवस्था छ । यो व्यवस्था विपरीत नजिकका डाँडा, बस्ती र साँघुरो क्षेत्रमा हेलिपोर्ट बनाइएको हो ।

यो हेलिपोट बनाउँदा स्थानीयको अनुमति नलिएको भन्दै निर्माणकै चरणमा २०७९ चैतमै उच्च अदालत पाटनमा मुद्दा परेको थियो । अदालतले तत्कालाई हेलिपोर्ट निर्माणमा रोक्ने गरी अन्तरिम आदेश दिएको थियो । उक्त मुद्दाको अन्तिम फैसलाबाट भने स्थानीयको माग सम्बोधन गरेर हेलिपोर्ट बनाउन अदालते आदेश दिएको थियो ।

नलिन्चोकमा बनेको उक्त हेलिपोर्टले अहिले पनि निजकैका दुई विद्यालयलाई भने समस्या भएको छ । जोरपाटी मावि र विमाल स्कुललाई हेलिकप्टरको उडान अवतरणको आवाजले समस्या पारिरहेको सूर्यविनायक नगरपालिका १० नम्बरका वडाध्यक्ष शिवराम राउतले बताए ।

‘हेलिपोर्ट बनाउँदा पहिले स्थानीयको गुनासो आएर अदालतसम्म पुगेको थियो । अहिले विद्यालयलाई असर गरिरहेको यसको समस्या कसरी समाधान गर्न सकिन्छ भनेर उड्डयन प्राधिरकरणसँग आवश्यक छलफल चलिरहेको छ,’ उनले भने ।

प्राधिकरणले हेलिपोर्ट बनाएपछि आवश्यक पूर्वाधार पूरा नगरी सञ्चालन गरेको जस्तो भने देखिएको राउतले बताए । उनका अनुसार हेलिपोर्टको भौतिक पूर्वाधार भए पनि अरु पूर्वाधार केही नदेखिएकोले हतारमा सञ्चालन भएको देखिन्छ । तर अरु प्राविधिक विषय हामीलाई थाहा हुने कुरा भएन ।

हेलिपोर्ट बनेर सञ्चालनमा आइसकेकोले त्यहाँको समस्या समाधान गरेर अगाडि बढ्ने प्रतिवद्धता उड्डयन प्राधिकरणले गरेको छ । प्राधिकरणका एक उच्च अधिकारीले याे विमानस्थलमा बानी परेका हेलिकप्टर क्याप्टेनलाई नलिन्चोक जाँदा असहज भयो भनेर गुनासो गरेको बताए। काठमाडौंको हवाई चाप घटाउन, काठमाडौंमा क्षमताभन्दा बढी हेलिकप्टर अवरतण हुँदा पर्ने जोखिम न्यूनीकरण भएको र विस्तारै नलिन्चोकबाटै बानी पर्ने पनि उनको भनाइ छ । नयाँ हेलिपोर्ट भएको र भौतिक संरचनासँगै सेवा र सुविधा विस्तारै थपिँदै जाने हुँदा प्राविधिक परीक्षण सफल गरेका क्याप्टेनले नै असहमति व्यक्त गर्नु जायज नभएको तर्क प्राधिकरण उच्च तहसँग भएकाे हेलिकप्टर पाइलटसँग मिटिङमै दिइएको छ ।

हेलिकप्टर सोइइटी अफ नेपालले पनि प्राधिकरणले हतारमा हेलिपोर्ट बनाएर उडान अवतरणमा दबाब दिएको बताएको छ

प्राधिकरणका अर्का एक उच्च अधिकारीले भने क्याप्टेनहरुले गरेको कुनै गुनोसो वा लिखित निवेदन नआएको दाबी गरे ।

प्राधिकरणले सम्भाव्यता अध्ययन गरेर आवश्यक तयारी पूरा नगरी हेलिपोर्ट बनाएको दाबी हेलिकप्टर साेसाइटीको छ । सोसाइटीमै आबद्ध हेलिकप्टर पाइलटले याे हेलिप्याडमा असहति जनाइरहेको भएपनि नियामककाे दाबबका कारण उडान राेक्न नसकेकाे बताइरहेका छन । पाइलटले नियामककाे दबाबकै कारण अत्यन्त जोखिम मोलेर यहाँ उडान तथा अवरण गर्न बाध्य भएको प्रतिकृया क्लिकमाण्डुलाइ दिएका छन् ।

प्राधिकरणले भने एरोड्रम इन्जिनियरिङ विभागले आवश्यक अध्ययन गरेको, हेलिपोर्ट निर्माणको मापदण्ड पूरा भएको दाबी गरेको छ । प्राधिकरणका अनुसार सार्वजनिक प्रस्तावबाट सबैभन्दा कम मूल्यांकन गर्ने कम्पनीबाट पारदर्शी रुपमा बनाएको हेलिपोर्टको विषयमा हुने नकारात्मक टिप्पणी प्राधिकरण बिरोधीले गरेका हुन् ।

प्राधिकरण नेतृत्वले गरिरहेको कामलाई देखि नसहने र जसरी पनि कमी कमजोरी देखाउने, दुःखीआत्मा हुनेले मन शान्त पार्न व्यक्त गरेको असन्तुष्टि मात्रै भएको पनि प्राधिकरणका ती अधिकारीको भनाइ छ ।

हेलिकप्टर सोइइटी अफ नेपालले पनि प्राधिकरणले हतारमा हेलिपोर्ट बनाएर उडान अवतरणमा दबाब दिएको बताएको छ । सोसाइटीका एक उच्च अधिकारीले प्राधिकरण नेतृत्वलाई हेलिकप्टर पाइलटले उठाएका विषय र देखिएको समस्या समाधान गर्न आग्रह गरे । सोसाइटीले प्राधिकरण नेतृत्वसँग समन्वय गरेर पाइलटले भोगेको हेलिकप्टर उडान तथा अवतरण र आवश्यक सेवा सुविधा उपलब्ध गराउन सहजीकरण गर्न माग गरेको छ ।


क्लिकमान्डु