बालेनले ८ वर्षपछि पार्टी खोल्ने, शाह र हमालसँग मिले रास्वपालाई ०८४ मै बहुमत !



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्वित महामन्त्री मुकुल ढकालले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले २०८९ को चुनाव ताका मात्र पार्टी खोल्ने सम्भावना रहेको उल्लेख गरेका छन् ।

ढकालले तयार गरेको समीक्षा यात्राको प्रतिवेदनमा रास्वपा पुराना दलहरुसँग भन्दा बालेनसँग मिल्नुपर्ने उल्लेख गरेका हुन् । समीक्षा बैठकमा सहभागी भएकाहरु अधिकांशको मत रास्वपा बालेनसँग मिल्नु रहेको उनले उल्लेख गरेका छन् ।

बालेनबारे ढकालले प्रतिवेदनमा यस्तो लेखेका छन्

ओली र प्रचण्डसँग मिल्नुभन्दा बालेनसँग मिल्नु जाती । समीक्षा बैठकमा सहभागी अधिकांशको मत पनि बालेनसँगको सहकार्यलाई लिएर थियो । बालेनको टिमसँग हामी नियमित सम्पर्कमा रहे पनि, बालेन आफैंको भनाइ अनुसार उनी राजनीतिमा छैनन्, र स्थानीय निकायका प्रमुख हुन् उनको विचारमा यो एक गैरराजनीतिक पद हो ।

बालेन राजनीतिमा आउँछन् वा आउँदैनन्, आए फरक दल खोलेर आउँछन् कि आउँदैनन् ? र आउँदा स्थानीय निकाय गैरदलिय हुनपर्छ भनेर बोकेको राजनीतिक एजेण्डा त्याग्छन् कि त्याग्दैनन् ? २०८४ को स्थानीय चुनावमा स्वतन्त्रहरूको छुट्टै टोली बनाएर, स्थानीय निकाय गैरदलीय हुनपर्छ भन्ने आफ्नो अभियानलाई बालेनले अघि बढाउन सक्छन् र २०८९ को चुनाव ताका मात्र पार्टी खोल्ने सम्भावना छ ।

बालेनसँगको सहकार्यको कुरा गरेर मात्र पुग्दैन, बालेनले उठाएका राजनीतिक एजेण्डामा हाम्रो सहमति छ वा छैन पनि महत्वपूर्ण छ । हामी स्थानीय निकायलाई गैरदलियरूपमा अघि बढाउन तयार छौं वा छैनौं ? अराजनीतिकरणको मूल मुद्दा रास्ट्रिय स्वतन्त्र पार्टीको पनि भएकाले स्थानीय निकाय गैरदलीय नै हुन पर्ने पार्टीको मुल मुद्दासँग मेल खान्छ ।

तर पछिल्ला दिनमा अराजनीतिकरणको मुद्दा हामीले बिर्सिएका छौं र हामीले पनि सानादेखि ठूलासम्म ठाउँहरूमा राजनीति कता न कता शुरू गरिसकेका छौं । हामी हाम्रो मूल मुद्दा अराजनीतिकरणको मुद्दामा फर्कने, स्वतन्त्र पार्टी स्वतन्त्रहरूको पार्टी बनाउने, स्थानीय निकाय गैरदलीय बनाउनेमा सहमत हुँदै स्थानीय निकायलाई गैरदलीय बनाउने अभियान चलाउने र स्वतन्त्र पार्टी पनि स्थानीय निकायको चुनावमा भाग नलिने हिम्मत सहितको निर्णय गर्न सके, बालेनसँगको सहकार्य त्यति पर छैन ।

बालेनले उठाउँदै आएको नदी किनारको अनाधिकृत बस्तीका विषयमा सरकारमा रहेको बेला सहयोग गर्दै अघि बढ्ने हो भने बालेनसँगको सहकार्यको बाटो खोल्न सकिन्छ ।

बालेन, गोपी हमाल र हामी मिल्ने हो भने २०८४ मा स्पष्ट बहुमतको सङ्केत छ तर यो मिलन २०८३ तिर मात्र हुँदा पुरानाले हामीविरूद्ध त्यति धेरै खेल्न सक्दैनन् तर माहोल अहिलेबाट बनाउन जरूरी छ । बालेनसँग दूरी बढाएर अघि बढ्दा त्यसले हामीलाई थप क्षति मात्र हुन्छ । आजको दिनमा ओली र प्रचण्डसँग सम्झौता गर्नको साटो बालेनसँगको सहकार्यलाई प्राथमिकता दिनु हाम्रा लागि हितकर छ ।


क्लिकमान्डु