मुकुलले औंल्याएको रास्वपाको २७ कमजोरी: नेताहरु सुविधाभोगी भए, पार्टी एनजीओ जस्तै



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित महामन्त्री डा मुकुल ढकालले तयार गरेो समीक्षा यात्राको प्रतिवेदन सार्वजनिक भएको छ । उक्त प्रतिवेदनमा समीक्षा बैठकमा पार्टीले ध्यान दिनुपर्ने थुप्रै विषयहरु उठान गरेका छन् ।

डा. ढकालले ३२ पेज लामो समीक्षा यात्राको प्रतिवेदन तयार गरेका छन् ।

जसमा उनले नेताहरु सुविधा भोगी भएको, कार्यकर्ताको पहुँचबाट नेता र पार्टीका मन्त्रीहरु टाढा भएको, प्रशिक्षणको अभाव भएको, सभापति धेरै बोलेको, पार्टी एनजीओ जस्तो भएको लगायतका २७ बुँदे कमजोरी औंल्याएका छन् ।

नेताहरू सुविधाभोगी भए

केन्द्रबाट बाहिर निस्कँदा केन्द्रीय नेताहरू जसले गाडी चढाउन सक्छ उसैसँग मात्र हिँड्ने, ठुला होटलमा जसले बसाउन सक्छ, उसैकोमा मात्र बस्ने जस्ता सुविधाभोगी देखिए । पार्टी एलिटहरूको मात्र हो कि जस्तो आभास हुन थालेको छ । आम जनता नेताहरूबाट टाढा हुँदै गएको र धनी दलालहरूले नेताहरूलाई घेर्दै गएको विषय उठान भएको छ । पार्टीका नेतालाई प्लेनको टिकट तिरेर पार्टीको कामका लागि बोलाउनु पर्यो । हामी आफैँबाट सुधार गर्दै संवाद, सञ्चार, समन्वय र सम्पर्क बढाई चेन अफ कमान्ड अनुसार अघि बढी यो समस्यालाई समाधान गर्न सकिन्छ ।

पार्टी पार्टी जस्तो नभएर एनजिओ जस्तो भयो

पार्टीमा राजनीतिक संस्कार, बुझाईमा अतन्यन्त कमी देखियो । विभिन्न विचारबाट आएका साथीहरू हुँदा र प्रत्येक विषयमा अल्पमत र बहुमत के हुनसक्छ भनेर निर्णय गर्दा पार्टीको मूल विचार नै छायाँमा पर्यो । राजनीतिक पार्टीको मूल विचार एउटै हुनपर्छ र मूल विचारको बाटोमा हिँड्दा, कता कहीँ जानेमा दुविधा भएमा छलफल अनुसार निर्णय गर्नुपर्नेमा, एउटा एनजिओ जसरी चल्न खोज्दा त्यसले पार्टीका कदमहरू राजनीतिक देखिन सकेन । पार्टी यसैका कारण तथटस्थवाद, यथास्थितिवाद र तदर्थवादमा फसेको छ । राजनीतिक रणनीतिको कमी देखियो । सामान्य भन्दा सामान्य कुरामा कार्यविधि खोज्ने, नेता र कर्मचारीको फरक छुट्याउन नसक्नु, विचार भन्दा मत सङ्ख्या प्रधान हुनु आदि एनजिओको प्रारूपमा आएका रोग हुन् ।


क्लिकमान्डु