साढे २ अर्बमा जानकी होटल बनाउन सोल्टी समूहको इच्छा




काठमाडौं । जनकपुरमा जानकी हेरिटेज होटल बनाउन सोल्टी होटल समूहले आवेदन दिएको छ । लगानी बोर्डले आयोजना गरेको लगानी सम्मेलनको सोकेसमा परेको यो आयोजनालाई बनाउन सोल्टी काठमाडाै‌ लिमिटेडले आवदेन दिएको लगानीको बोर्डका सहसचिव बाबुराज अधिकारीले बताए ।

‘दि जानकी हेरिटेज होटेल एण्ड कल्चरल भिलेज’ प्रोजेक्ट नाम दिएर जनकपुरलाई म्यारिज डिस्टीनेशनको रुपमा विकास गर्नेसहित यो हाेटल बन्ने भएको छ । यो योजना सम्पन्न गर्न बोर्डले साढे अर्ब रुपैयाँ लाग्ने योजना सहित यसलाइ गत लगानी सम्मेलनको सोकेसमा उक्त आयोजना राखिएको थियो ।

यो होटलसहित राम र सीताको विवाह ऐतिहासिक महत्वको स्थल बनाउने गरी आयोजना अगाडि बढाइएको हो ।

विश्वभर नै विवाह पर्यटनको कारोबार बढिरहेको छ । भारतमा मात्रै प्रत्येक वर्ष १ खर्ब रुपैयाँ बराबरको विवाह पर्यटनको कारोबार हुन्छ । यस्ता विवाहमा भारतीय मध्यम परिवारले एक करोडदेखि १० करोड रुपैयाँसम्म खर्च गर्ने गरेका छन् । भारतमा पछिल्लो समय विदेशमा गएर विवाह गर्ने करिब २० प्रतिशतले बढेको पाइएको तथ्यांक भेटिन्छ ।

‘म्यारिज डेस्टिनेशन’ पर्यटकीय गन्तव्य क्षेत्रको माध्यमबाट स्वदेशी तथा विदेशी पाहुनाहरु भित्र्याएर उक्त स्थानमा मौलिक परम्परागत साँस्कृतिक धरोहरहरुको अनुभूति गराउनुका साथै कलात्मक वैवाहिक समारोहको सुविधासमेत उपलब्ध गराउने उद्देश्यले लगानी बोर्डले यो आयोजनालाई दोस्रो र लगानी सम्मेलनको शोकेसमा समेत राखेको थियो ।

नेपालको धर्म संस्कृतिलाई ब्राण्डिङ गर्दै पर्यटकलाई आकर्षित गर्नका लागि यस्तो आयोजनाको परिकल्पना गरिएको हो । आदिम युगमा भगवान राम र राजा जनककी छोरी सीताबीच जनकपुरको जानकी मन्दिर भएको ठाउँमा विवाह भएको धार्मिक मान्यता छ । त्यसैले जनकपुरलाई हिन्दु धर्मावलम्बीहरुले विवाहका लागि पवित्रस्थलको रुपमा लिने गरेका छन् । जनकपुरधाम र जानकी मन्दिर नेपालको महत्वपूर्ण सांस्कृतिक पर्यटकीय क्षेत्र पनि हो ।


क्लिकमान्डु