जनकपुरलाई ‘म्यारिज डेस्टिनेशन’ बनाउन प्रदेशदेखि संघीय सरकारसम्मको योजना



काठमाडौं । मधेश प्रदेश सरकारले जनकपुरलाई अन्तर्राष्ट्रिय वैवाहिक स्थल(म्यारिज डेस्टिनेशन)को रुपमा विकास गर्ने घोषणा गरेको छ ।

मधेश सरकारले आगामी आर्थिक बर्ष २०८१/८२ को नीति तथा कार्यक्रममार्फत त्रेता युगकालिन परम्परालाई संस्थागत गर्ने उद्देश्यले मिथिला नगरी जनकपुरलाई संघ, प्रदेश र स्थानीय सरकारको सहयोगमा अन्तर्राष्ट्रिय वैवाहिक स्थलको रुपमा विकास गर्ने घोषणा गरेको हो ।

यसअघि जेठ १५ मा संघीय सरकारको अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक बर्षको बजेट तथा कार्यक्रममार्फत जनकपुरलाई वेडिङ हबको रुपमा तथा लुम्बिनीलाई बर्थिङ्ग हबको रुपमा विकास गर्ने घोषणा गरेका थिए ।

रामजानकीको विवाह क्षेत्रको रुपमा चिनिएको जनकपुरलाई ‘वेडिङ हब’ र गौतम बुद्धको जन्मस्थानको रुपमा रहेको लुम्बिनीलाई ‘बर्थिङ्ग हब’ को रुपमा विकास गरिने अर्थमन्त्री पुनले घोषणा गरेका थिए ।

उता संघीय सरकारको लगानी बोर्डले पनि जनकपुरधाममा वैवाहिक पर्यटनको विकास गर्ने योजना अघि सारेको छ ।

नीतिगत समस्या समाधान गर्नुपर्योः पर्यटन व्यवसायी

पर्यटन व्यवसायी शशिकान्त अग्रवालले जनकपुरलाई पर्यटनसँग जोडेर म्यारिज डेस्टिनेशनको रुपमा विकास गर्न आवश्यक भइसकेको जानकारी दिए । थाइल्याण्डजस्ता मुलुकले बर्षेनी म्यारिज डेस्टिनेशनमार्फत बार्षिक रुपमा २ खर्बभन्दा बढी आम्दानी गरिरहेको उनले बताए ।

‘जनकपुर र भारतबीच मिल्दो जुल्दो संस्कृति, कला, धर्म, वैवाहिक परम्परा, खानपान, भेषभुषा भएकाले यहाँ म्यारिज डेस्टिनेशनको रुपमा विकास गर्दा पर्यटन क्षेत्रको विस्तार पनि हुने र म्यारिज डेस्टिनेशन पनि हुने भएपछि योभन्दा बढी के चाहियो ?’ अग्रवालले भने, ‘हामीले यो बिषयमा धेरै पहिलेदेखि लविङ्ग पनि गर्दैआएकै हो ।’

तर यसका लागि सरकारले केही बिषयमा सुधार गर्नुपर्ने उनले जानकारी दिए । अन्य मुलुकको तुलनामा नेपालमा हवाई भाडादर निक्कै महँगो रहेको उनले बताए । हवाई भाडा दर सस्तो बनाउनुपर्ने सुझाव दिँदै उनले भने, ‘यो बाहेक एउटा गम्भीर बिषयमा पनि सरकारले ध्यान दिन आवश्यक छ । त्यो के हो भने म्यारिज डेस्टिनेशनमा सहभागी हुन अधिकांश भारतीय आउँछन् । पैसा पनि उनीहरुको अत्यधिक खर्च हुन्छ । ३–४ दिनको वेडिङ सेरेमनी हुन्छ, ३–४ करोड खर्च हुन्छ । तर उनीहरु यस्ता कार्यक्रममा सहभागी हुन आउँदा निक्कै समस्या झेल्नुपरिरहेको छ ।’

उनका अनुसार विवाहोत्सवमा सहभागी हुन आउँदा भारतीयहरु टन्नै गहना लगाएरै आउँछन् । भारतीयहरुले गहनामा लगानी गर्नुभनेको विवाह ब्रतबन्धमा लगाएर देखाउनु हो ।

‘आफ्नो आर्थिक अवस्था झल्काउनु पनि हो । त्यो संस्कृति पनि हो । अहिले कस्तो समस्या देखापरेको छ भने गहना लगाएर आउँदा नाकामै सुरक्षाकर्मीले त्यो गहना त्यहि खोलाएर पठाउने समस्या देखापरेको छ । यो समस्याले गर्दा भारतीयहरु नेपालमा वेडिङ सेरेमनीमा सहभागी हुन आउन अहिले हच्किरहेका छन्,’ उनले भने,‘अहिले सरकारले जनकपुरलाई वेडिङ हबको रुपमा विकास गर्ने घोषणा गरेको छ । घोषणाकै लागि घोषणा गरिएको भने मेरो भन्नु केहि छैन । बास्तबमै विकास गर्ने हो भने यस्ता संवेदनशिल बिषयलाई नीतिगत रुपमै समाधान गरेपछि भारतीयहरु सहज रुपमा वेडिङ सेरेमनी पर्यटकको रुपमा नेपाल आउँछन् ।’

लगानी बोर्डको अढाई अर्बको योजना

हुन त लगानी बोर्डले पनि ‘दि जानकी हेरिटेज होटेल एण्ड कल्चरल भिलेज’ प्रोजेक्ट नाम दिएर जनकपुरलाई म्यारिज डिस्टीनेशनको रुपमा विकास गर्न योजना तयार पारेको छ । यो योजना सम्पन्न गर्न बोर्डले अढाई अर्ब रुपैयाँ लाग्ने योजनासमेत तयार पारिसकेको छ ।

राम र सीताको विवाह ऐतिहासिक महत्वको विवाह हो, त्यसैले जनकपुरमा विवाह पर्यटनको विकास गर्न यो आयोजना तयार पारिएको हो ।

विश्वभर नै विवाह पर्यटनको कारोबार बढिरहेको छ । भारतमा मात्रै प्रत्येक वर्ष १ खर्ब रुपैयाँ बराबरको विवाह पर्यटनको कारोबार हुन्छ । यस्ता विवाहमा भारतीय मध्यम परिवारले एक करोडदेखि १० करोड रुपैयाँसम्म खर्च गर्ने गरेका छन् । भारतमा पछिल्लो समय विदेशमा गएर विवाह गर्ने करिब २० प्रतिशतले बढेको पाइएको तथ्यांक भेटिन्छ ।

हिन्दू धर्म मान्नेहरु खासगरी भारतीयहरु राम र सीताको विवाह भएको ठाउँमा आएर विहे गर्न चाहन्छन् । जनकपुरमा विवाह गराउने स्तरीय र सुविधासम्पन्न होटेल बनाउने हो भने भारतीयहरुको ठूलो आकर्षण हुने बताइएको छ ।

नेपालको धर्म संस्कृतिलाई ब्राण्डिङ गर्दै पर्यटकलाई आकर्षित गर्नका लागि यस्तो आयोजनाको परिकल्पना गरिएको हो । आदिम युगमा भगवान राम र राजा जनककी छोरी सीताबीच जनकपुरको जानकी मन्दिर भएको ठाउँमा विवाह भएको धार्मिक मान्यता छ । त्यसैले जनकपुरलाई हिन्दु धर्मावलम्बीहरुले विवाहका लागि पवित्रस्थलको रुपमा लिने गरेका छन् । जनकपुरधाम र जानकी मन्दिर नेपालको महत्वपूर्ण सांस्कृतिक पर्यटकीय क्षेत्र पनि हो ।

नेपालमा हालसम्म साँस्कृति महत्व झल्किने म्यारिज डेस्टिनेशन पर्यटकीय गन्तव्य क्षेत्र छैन ।

‘म्यारिज डेस्टिनेशन’ पर्यटकीय गन्तव्य क्षेत्रको माध्यमबाट स्वदेशी तथा विदेशी पाहुनाहरु भित्र्याएर उक्त स्थानमा मौलिक परम्परागत साँस्कृतिक धरोहरहरुको अनुभूति गराउनुका साथै कलात्मक वैवाहिक समारोहको सुविधासमेत उपलब्ध गराउने उद्देश्यले लगानी बोर्डले यो आयोजनालाई दोस्रो र लगानी सम्मेलनको शोकेसमा समेत राखेको थियो ।

बोर्डले ३.३ हेक्टर जग्गामा भौतिक पूर्वाधार निर्माण हुने प्रस्ताव गरेको छ । निर्माण हुने द जानकि हेरिटेज होटेल एन्ड कल्चर भिलेजमा परम्परागत वास्तुकला तथा संस्कृतिमा आधारित अत्याधुनिक विवाह स्थलहरु निर्माण गर्ने योजना तयार पारेको छ ।

यसमा लक्जरी होटल, पम्परागत स्थानीय सम्पदा र सांस्कृतिक महत्वका धरोहरसहितको गाउँको झलक दिने संग्रहालयका साथै आरामदायी र विलासी आवासको समेत व्यवस्था हुनेछ । १५० वटा हेरिटेज रुमको व्यवस्था गरिनेछ । यसमा मनोरञ्जन सुविधा, अतिथिलाई भोज खुवाउन छुट्टै भोज हल, पार्किङ सुविधा, साँस्कृतिक गाउँ र जातीय संग्रहालयसमेत रहने व्यवस्था गरिएको छ।

पाँच तारे होटेलले उपलब्ध गराउने विभिन्न सुविधाहरु स्पा, स्वीमिङ पुल, शपिङ सेन्टर, परम्परागत, सांस्कृतिक र आधुनिक नृत्य तथा संगितको व्यवस्था हुने योजनामा उल्लेख छ । यसका साथै रोमाँचक यात्रा र स्थानिय धार्मिक स्थलहरुको प्रत्यक्षरुपमा अवलोकन गराउने व्यवस्था पनि यो योजनामा समावेश गरिएको छ।

साथै संसारभर प्रसिद्ध मानिएका विभिन्न स्वादका खाना, खाजाका साथै स्थानीय परम्परागत र संस्कृति बोकेको खाना समेत उपलब्ध हुने योजनामा उल्लेख गरिएको छ ।

जनकपुर विमानस्थलबाट १।६ किलोमिटर दूरीमा रहने यो हेरिटेज भिलेज पब्लिक प्राइभेट पार्टनरशिप ९पीपीपी० मोडेलमा निर्माण हुने लगानी बोर्डले अवधारणा पत्र तयार गरेको छ । यो योजनाको सन् २०२३ मा सम्भाव्यता अध्ययनसमेत भइसकेको छ । यो योजनाको लागि सरोकारवाला निकायको रुपमा बोर्ड, मधेश प्रदेश तथा जनकपुर उपमहानगरपालिकालाई तोकिएको छ ।

‘घुमौं मधेश, बुझौं मधेश’ नाराका साथ मधेश पर्यटन बर्ष घोषणा

मधेश सरकारले आगामी आर्थिक बर्ष २०८१/८२ लाई ‘घुमौं मधेश, बुझौं मधेश’ नाराका साथ मधेश प्रदेश पर्यटन बर्षको रुपमा घोषणा गरेको छ ।

यसअन्तर्गत नीजि क्षेत्रको सहकार्यमा धार्मिक, साँस्कृतिक, पर्यापर्यटन, साहसिक पर्यटन, शैक्षिक तथ खेलकुद पर्यटनजस्ता नवीन पर्यटन क्षेत्रको विकास र विस्तार गरिनेछ । पर्यटकलाई सुविधा उपलब्ध गराउने उद्देश्यले पर्यटकीय स्थलनजिकै सामुदायिक पर्यटन विश्रामस्थल तथा सुविधासम्पन्न धर्मशाला निर्माण गर्ने पनि मधेश सरकारले घोषणा गरेको छ ।

भारतीय पर्यटकलाई उक्त प्रदेशमा आकर्षित गरी सहजिकरणका लागि नाकाहरुको प्रवेश विन्दुमा पर्यटन विश्रामस्थल निर्माण गरी क्युआर कोड प्लेट, पर्यटकीय क्षेत्रको बारेमा जानकारी दिने बोर्ड, यातायातको व्यवस्थापनका साथै तथ्यांकमा आधारित पर्यटकको डेटा बैंक सिस्टम पनि निर्माण गर्ने प्रदेश सरकारले घोषणा गरेको छ ।

साथै एग्रो टुरिज्म र होम स्टे टुरिज्मलाई पनि प्रोत्साहन गर्ने नीति लिइएको छ । मधेश प्रदेशलाई पर्यटक क्षेत्रको रुपमा विकास गर्नका लागि मधेश प्रदेश पर्यटन बोर्ड गठन गरिने बताइएको छ ।

मधेश सरकारले सप्तरीको रुपनीमा केवलकार सञ्चालनको लािग सम्भाव्यता अध्ययन गर्ने पनि घोषणा गरेको छ । प्रदेश सरकारले सप्तरीको छिन्नमस्ता, कंकालिनी र कोशी क्षेत्रलाई जोड्ने गरी पर्यटन मार्ग निर्माण गर्ने घोषणा गर्दै न्यौर, छिन्नमस्ता, कुनौली, राजविराज, गाईघाट जोड्ने गरी औद्योगिक करिडर निर्माण गर्न सम्भाव्यता अध्ययन गर्ने आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गरेको छ ।


राजेश बर्मा