दफा ५७ मा गरिएको संशोधनले मोलमोलाई तथा कर छली बढाउन सक्छ: पूर्वअर्थराज्य मन्त्री राणा



काठमाडौं । पूर्वअर्थराज्यमन्त्री उदयशमसेर राणाले दफा ५७ मा गरिएको संशोधनले कर छली बढाउने बताएका छन् ।

नेपाल कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका प्रतिनिधि सभा सदस्य राणाले आयकर ऐनको दफा ५७ को उपदफा १ मा गरिएको संशोधनले ब्याकरुम नेगोसियसन (गोप्यरुपमा कोठाभित्र हुने मोलमोलाई ) बढ्ने आशंका व्यक्त गरे ।

सरकारले आर्थिक विधेयकमार्फत दफा ५७ मा संशोधन गरेपछि गत जेठ २१ गते क्लिकमान्डुले ‘राज्यलाई अर्बौं नोक्सान पुर्‍याउने गरी अर्थमन्त्री पुनले कसको स्वार्थमा गरे दफा ५७ मा छेडखानी ?’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो ।

आर्थिक विधेयक २०८१ मार्फत अर्थमन्त्री वर्षमान पुनले केही कम्पनीलाई लाभ हुने गरी आयकर ऐनको दफा ५७ मा गरेको संशोधनले सेयर खरिद बिक्री नगरी पुँजी बढाएरै कम्पनीको स्वामित्व परिवर्तन गर्ने बाटो खुला गरेकाले आयकर ऐनको दफा ९५ क अनुसार धितोपत्र बजारमा सूचीकरण नभएका कम्पनीबाट अर्बौं पुँजीगत लाभकर असुल गर्ने बाटोसमेत बन्द हुने जोखिम सिर्जना भएको छ ।

‘राजस्व चुहावट हुनु अहिले हाम्रो ठूलो समस्या छ । म आयकर ऐनको दफा ५७ को उपदफा १ मा गरिएको संशोधनमा केन्द्रित हुन चाहन्छु,’ राणाले मंगलबारको प्रतिनिधि सभाको बैठकमा भने, ‘ दफा ५७ को उप दफा १ मा -तर साबिकका सेयरवाला तथा साझेदारको सेयर संख्या र पुँजी यथावत रही नयाँ सेयरवाला तथा साझेदार थप भई पुँजी वृद्धि भएको अवस्था यो उपदफाको व्यवस्था लागू हुने छैन ’ भनिएको छ । एक हिसाबले हेर्दा प्रक्रिया सरल बनाउने गरी यो संशोधन भएको जस्तो पनि देखिन्छ । तर, अहिलेको परिस्थितिमा यो व्यवस्थाले धेरै ब्याक रुम नेभोसेसन हुन्छ । कर छली गर्ने सम्भावना बढ्छ । त्यसैले यो व्यवस्थालाई व्यवस्थित गर्न अर्थमन्त्रीको ध्यानाकर्षण गर्न चाहन्छु ।’

विशेषगरी जलविद्युत कम्पनीहरुले कर छली गर्दा दफा ५७ को संशोधन प्रयोग गर्न सक्ने राणाको आशंका छ ।

‘हेर्दा केही नदेखिए पनि दफा ५७ मा गरिएको संशोधनले सेयर किनबेच हुने र सरकारले थाहा नपाउने अवस्था आउन सक्छ,’ राणाले भने, ‘यो संशोधनले राजस्व छली हुने सक्ने सम्भावना देखाएको छ ।’


क्लिकमान्डु