जेठ मसान्तसम्म उठ्यो साढे ९ खर्ब राजस्व, लक्ष्य पुरा गर्न असारमा करिब ५ खर्ब उठ्नु पर्ने



काठमाडौं । सरकारले जेठ मसान्तसम्म ९ खर्ब ४१ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ ।

जेठ मसान्तसम्म कर राजस्वबाट ८ खर्ब २९ अर्ब रुपैयाँ, गैरकरबाट ९० अर्ब १५ करोड तथा बेरुजु असुली अन्य प्राप्तिबाट २२ अर्ब ६५ करोड रुपैयाँ संकलन भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

सरकारले चालु आर्थिक वर्षमा १४ खर्ब २२ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । लक्ष्य अनुसार राजस्व संकलन गर्न सरकारले असारमा मात्रै ४ खर्ब ८१ अर्ब रुपैयाँ राजस्व संकलन गर्नु पर्छ । जुन असम्भव छ ।

जेठ १५ गते संघिय सदनमा बजेट सार्वजनिक गर्दै अर्थ मन्त्री वर्षमान पुनले चालु आर्थिक वर्षमा १२ खर्ब ५३ अर्ब ५२ करोड रुपैयाँ राजस्व संकलन हुने बताएका थिए । संशोधित लक्ष्य पुरा गर्न समेत सरकारले असारमा ३ खर्ब १२ अर्ब रुपैयाँ राजस्व संकलन गर्नु पर्छ ।

अर्थ मन्त्रालयका अधिकारीहरु जेठ मसान्तसम्म संकलन भएको राजस्वका आधारमा चालु आर्थिक वर्षमा ११ खर्ब रुपैयाँ समेत राजस्व संकलन गर्न कठिन हुने बताउँछन् ।

गत वर्ष जेठ मसान्तसम्म सरकारले ८ खर्ब ७६ अर्ब रुपैयाँ राजस्व संकलन गरेको थियो । चालु आर्थिक वर्षको ११ महिनामा गत वर्ष भन्दा ७.५ प्रतिशत बढी राजस्व संकलन भएको छ ।

गत आर्थिक वर्षमा १० खर्ब १० अर्ब रुपैयाँ राजस्व संकलन गर्दा असार महिनामा मात्रै १ खर्ब ३४ अर्ब रुपैयाँ राजस्व संकलन भएको थियो ।

चालु आर्थिक वर्षमा जेठ मसान्तसम्मको राजस्व वृद्धिदरले निरन्तरता पाएमा असारमा बढीमा १ खर्ब ४५ अर्ब राजस्व संकलन हुन सक्ने देखिन्छ ।

असारमा १ खर्ब ५० अर्ब रुपैयाँ राजस्व संकलन भएपनि चालु आर्थिक वर्षमा ११ खर्ब रुपैयाँ भन्दा कम राजस्व संकलन हुने देखिन्छ । ११ खर्ब रुपैयाँ राजस्व संकलन गर्न असारमा १ खर्ब ५९ अर्ब रुपैयाँ राजस्व संकलन हुनु पर्छ । जुन वर्ष असारमा संकलन भएको राजस्व भन्दा १८ प्रतिशत बढी हो ।

जेठ महिनासम्म ७ प्रतिशत हाराहारीमा रहेको राजस्व वृद्धिदर असारमा ह्वात्तै नबढ्ने अर्थ मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

संघिय सरकारको खातामा १० खर्ब भन्दा कम राजस्व जम्मा हुने

चालु आर्थिक वर्षमा संघिय सरकारको सञ्चित कोषमा १० खर्ब रुपैयाँ भन्दा कम राजस्व जम्मा हुने देखिएको छ । सरकारले १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट बनाउँदा संघिय सरकारको खातामा राजस्वबाट १२ खर्ब ४८ अर्ब जम्मा हुने अनुमान गरेको थियो ।

जेठ मसान्तसम्म संकलन भएको ९ खर्ब ४१ अर्ब रुपैयाँ राजस्व मध्ये संघिय सरकारको खातामा ८ खर्ब २८ अर्ब रुपैयाँ जम्मा भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । यस्तै, राजस्व बाँडफाँडबाट प्रदेश र स्थानीय तहमा १ खर्ब १३ अर्ब रुपैयाँ गएको छ । ।

जेठ मसान्तसम्मको राजस्व वृद्धिदर र आगामी दिनमा संकलन हुने राजस्व हेर्दा चालु आर्थिक वर्षमा संघिय सरकारको खातामा १० खर्ब रुपैयाँ भन्दा कम जम्मा हुने देखिएको हो ।

असार महिनामा राजस्व संकलन १८ प्रतिशतले बढ्दै कुल राजस्व ११ खर्ब रुपैयाँ संकलन भएपनि संघीय सरकारको सञ्चित कोषमा ९ खर्ब ७० अर्ब रुपैयाँ भन्दा कम जम्मा हुनेछ ।

जुन चालु आर्थिक वर्षको लक्ष्य भन्दा २२ प्रतिशत कम हुनेछ । लक्ष्य अनुसार राजस्व संकलन नहुने तर सरकारी खर्च बढ्दै जाँदा संघिय सरकारको सञ्चित कोष निरन्तर घाटामा रहेको छ । जेठ १५ गतेसम्म संघिय सरकारको सञ्चित कोष घाटा १ खर्ब ९५ अर्ब रुपैयाँ माथी पुगेको थियो ।


क्लिकमान्डु