चिनियाँ संलग्नताबाहेकका हाइड्रोलाई भारतले दिन थाल्यो विस्फोटक पदार्थ



काठमाडौं । भारतले चिनियाँ संलग्नताबाहेकका जलविद्युत् आयोजनाहरुमा विस्फोटक पदार्थ दिन थालेको छ ।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का उपाध्यक्ष आनन्द चौधरीले पछिल्लो समय केहि आयोजनाहरुले विष्फोटक पदार्थ पाउन थालेको बताए । उनकाअनुसार अझै पनि चाहिएजति सहज रुपमा भने भारतले विष्फोटक पदार्थ दिएको छैन ।

भारतले ६ महिनादेखि विष्फोटक पदार्थ रोकेका कारण सरकारीसहित ३ दर्जनभन्दा बढी जलविद्युत् आयोजना प्रभावित भएका थिए । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी तनँहु हाइड्रोपावर लिमिटेडले निर्माण गरिरहेको १४० मेगावाटको तनँहु जलाशययुक्त जलविद्युत् आयोजनाले विस्फोटक पदार्थ पाएको थिएन ।

अप्पर तामाकोसी हाइड्रोपावर लिमिटेडले निर्माण गर्न लागेको २२ मेगावाटको रोल्वालिङ खोला जलविद्युत् आयोजनाको काम विस्फोटक पदार्थ नपाएका कारण प्रभावित भएको छ । विस्फोटक पदार्थको अभावका कारण आयोजनाको कामले गति लिन सकेको छैन ।

सुपर बलेफी, सानिमा हाइड्रोको जुम खोला, लुप्चे लिखु, छुजुङ खोला, लिखुमा निर्माणाधीन पीके हाइड्रोलगायतका आयोजनाहरुले विस्फोटक पदार्थ नपाउँदा काम प्रभावित भएका थिए । विष्फोटक पदार्थ पाएसँगै आयोजनाहरुको कामले गति लिने अपेक्षा गरिएको छ ।

विस्फोटक पदार्थ ल्याउन भारतीय राजदूतावासले दिने नो अब्जेक्सन लेटर (एनओसी) प्रत्येक ६ महिनमा नवीकरण गर्नुपर्छ । दूतावासले नवीकरण गरिदिन ढिलाई गरेको थियो । कामको प्रेसर धेरै भएको, कर्मचारीको दरबन्दी खालि रहेका कारण ढिलाई भएको भारतीय दूतावासले जानकारी गराएको थियो । दूतावासले अनुमति लिनका लागि नयाँ डिपार्टमेन्ट थपिएको कारण पनि ढिला भएको बताउदै आएको छ ।

भारतले समय समयमा विभिन्न बाहाना बनाएर विस्फोटक पदार्थ निर्यातमा रोक लगाउने गरेको छ । विस्फोटक पदार्थ रोकिँदा जलविद्युत् आयोजनाहरुमात्रै नभई सडक सुरुङमार्ग, सडक आयोजनालगायतका पूर्वाधारका अरु आयोजनाहरु समेत रोकिने गरेका छन् ।

करिब एक वर्ष पहिले भारतको पेट्रोलियम तथा विस्फोटक सुरक्षा संगठनले विस्फोटक पदार्थ निर्यातमा रोक लगाएको थियो । जसका कारण पूर्वाधारका आयोजनाहरु ठप्प हुने अवस्था आएपछि नेपालले कूटनीतिक पहल गरेको थियो । त्यसपछि भारतले नेपालका लागि निर्यातमा लगाएको बन्देज फुकुवा गरिदिएको हो ।

यो पटक पनि कुटनीतिक पहल गरेपछि मात्रै भारतले विस्फोटक पदार्थ दिन थालेको हो । इप्पानले मुख्य सचिव, परराष्ट्र सचिव र ऊर्जा मन्त्रालयका सचिवलाई कुटनीतिक पहल गरिदिन आग्रह गरेको थियो । उक्त पहलपछि विस्फोटक पदार्थ दिन थालेको हो ।

भारतले अन्य परियोजनाहरुलाई दिन थालेको भएपनि चिनियाँ संलग्नता रहेको परियोजनामा दिन मानेको छैन् । भारतले नेपालमा चिनियाँ प्रविधि र संलग्नता रोक्न खोजेको छ । सोही कारण ४५६ मेगावाटको माथिल्लो तामाकोसीको बिजुली किन्न मानेको छैन् । यो आयोजना चिनियाँ कम्पनी सिनो हाइड्रो कर्पोरेनले सिभिल संरचना निर्माणको काम गरेको थियो ।


क्लिकमान्डु