ईभीमा ४३ देखि ८५ प्रतिशतसम्म कर लगाउने तयारी, कुन गाडीको मूल्य कति बढ्छ ?




काठमाडौं । सरकारले विद्युतीय सवारीसाधन (ईभी) मा ४३ देखि ८५ प्रतिशतसम्म कर लगाउने तयारी गरेको छ ।

करका स्रोतहरु खुम्चिएर खर्च नै धान्न गाह्रो हुने अवस्था आउन लागेपछि अर्थ मन्त्रालयले ईभीको कर बढाउन लागेको हो । सरकारले ईभीलाई प्रवर्द्धन गर्ने भन्दै सहुलियत दिदै आएको थियो । ईभीमा सहुलियत दिएकै कारण १ खर्ब रुपैयाँ राजस्व गुमेको भन्दै कर बढाउने तयारी गरेको हो ।

अर्थ मन्त्रालय स्रोतका अनुसार ५० किलोवाटसम्मको सवरीसाधनको भन्सार कर १० प्रतिशतबाट १५ प्रतिशत पुर्‍याउन लागिएको छ । अन्त शुल्क ५ प्रतिशत पुर्‍याइएको छ । हालसम्म ५० किलोवाटसम्मको सवारीसाधनमा अन्त शुल्क लाग्ने व्यवस्था छैन । १३ प्रतिशत भ्याट लाग्नेछ । सडक निर्माण शुल्क (आरडीएफ) ५ प्रतिशत नै कायम हुनेछ । एकमुष्ट रुपमा ३१ प्रतिशतबाट बढाएर ४३ प्रतिशत लिने तयारी सरकारको छ। अर्थात् बजेटमार्फत ५० किलोवाटसम्मको ईभीमा १२ प्रतिशत वृद्धि गर्न लागिएको हो ।

५० देखि १०० किलोवाटसम्मको गाडीको भन्सार शुल्क १५ प्रतिशतमा वृद्धि गरेर २५ प्रतिशत पूर्‍याउन लागिएको छ । अन्तशुल्क वृद्धि नगरी १० प्रतिशत नै कायम गर्न लागिएको छ ।
भ्याट १३ प्रतिशत र सडक निर्माण कर ५ प्रतिशत यथावत राखिएको छ । एकमुष्ठ ५० प्रतिशतबाट ६३ प्रतिशत कर पुर्‍याउन लागिएको छ ।

१०० किलोवाटदेखि २०० किलोवाटसम्मको भन्सार २० प्रतिशतबाट ३०प्रतिशत पुर्‍याउन लागिएको छ । अन्तशुल्क २० प्रतिशत यथावत रहनेछ । भ्याट १३ प्रतिशत र सडक निर्माण दस्तुर ५ प्रतिशत यथावत राख्न लागिएको छ । वृद्धि गर्ने निर्णयभएपछि ७१ प्रतिशतबाट कर ८५ प्रतिशत पुग्नेछ ।

० देखि ५० किलोवाट र ५० देखि १०० किलावाटमा करको फरक २० प्रतिशत हुनेछ । ५० देखि १०० किलोवाट र १०० देखि २०० किलोवाटमा २२ प्रतिशतको फरक हुनेछ ।कर प्रणाली सुधारका लागि गठित समितिले इन्टर्नल कम्बुसन इन्जिन भेहिकल (आईसीई) सवारीसाधनमा हरित कर ‘ग्रीन ट्याक्स’ लगाउन सुझाव दिएको छ ।

पेट्रोल र डिजेललगायका इन्धनबाट चल्ने इन्जिन भएका गाडीहरुमा हरित कर लगाउने नयाँ अवधारणा ल्याएको हो । समितिले विद्युतीय सवारीसाधनको पैठारी (आयात)बाट समग्र अर्थतन्त्रमा प्राप्त हुने लाभ, अन्तर्राष्ट्रिय अभ्यास, छिमेकी मुलुकहरुले अबलम्बन गरेको नीतिको अध्ययन विश्लेषण गरी विद्युतीय सवारीसाधन र गैर विद्युतीय सवारीसाधनको दरमा रहेको अत्याधिक फरकलाई समायोजन गर्दै जाने र सबै सवारीसाधनमा आधारभूत भन्सारको दर राख्न सुझाव दिएको छ।

कार्बन उत्सर्जन गर्ने सवारीसाधनमा हरित कर ग्रीन ट्याक्स थप लगाउने जस्ता विकल्पहरुमा अध्ययन गरी निष्कर्षमा पुग्न सुझाव दिएको छ ।

अर्थ मन्त्रालयललाई अल्पकालीनबाट मध्यकालीनसम्मको तालिका बनाएर कार्यान्वयन गर्नुपर्ने सुझाव छ । अहिले विद्युतीय सवारीसाधन (ईभी)मा प्रोत्साहन गर्ने भन्दै कर छुटको दिएको छ । जसका कारण पेट्रोलियम र ईभीका बीचमा करको दरमा ठूलो फरक छ ।

बढेको दर लागु हुदाँ १०० किलोवाटकमा बिवाईडी एटो थ्री, ओमोडा ई-फाइभ, आयोनवाईको मूल्य १३ प्रतिशतले बढ्नेछ ।
बिवाईडी एटो थ्री ५५ लाख ९९ हजार रुपैयाँदेखि ६५ लाख ८८ हजार रुपैयाँसम्म पर्छ । ओमोडा-ई फाइभ ५९ लाख ४९ हजार रुपैयाँ र आयोन वाईकमो ५४ लाख ९९ हजार रुपैयाँ पर्छ ।

बढेको मूल्य लागु भए ५५ लाख ९९ हजार रुपैयाँ पर्ने बिवाईडीको मूल्य ७ लाख २७ हजार ८७० रुपैयाँ बढ्छ । अर्थात ६३ लाख २६ हजार ८७० रुपैयाँ पर्छ ।

यसै गरी अन्य सवारीसाधनको पनि किलोवाट अनुसार मूल्य बढ्नेछ ।


दिनेश खड्का