सरकारले सूचना प्रविधि दिवस मनाइरहँदा भारतले काट्यो इन्टरनेट, ३ अर्ब भुक्तानी दिन बाँकी



काठमाडौं । १ वर्षदेखि ३ अर्ब रुपैयाँ भुक्तानी नेपाली इन्टरनेट सेवा प्रदायकहरुले नतिरेपछि भारतले लाइन काटिदिएको छ । भारतबाट इन्टरनेट नआउँदा मुलुकभर इन्टरनेट सेवा अवरुद्ध भएको छ ।

नेपालका ठूला इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक, सुबिसु, भायनेटलगायत सेवा अवरुद्ध भएको छ । अघिल्लो साता इन्टरनेट सेवा प्रदायकहरुले सरकारले विदेशी मुद्राको सटही सुविधा नदिए इन्टरनेट सेवा बन्द हुने चेतावनी दिएका थिए ।

बिहिबार दिउँसो ४ बजेदेखि इन्टरनेट सेवा अवरुद्ध भएको इन्टरनेट सेवा प्रदायकहरुले जानकारी दिएका छन् ।

भारतीय कम्पनीको एयरटेल र टाटाको भुक्तानी बाँकी छ । उनीहरुले नेपालतर्फको लाइन काटिदिएका हुन् । नेपालमा आउने ८० प्रतिशत इन्टरनेट एयरटेल र टाटाबाट आउने इन्टरनेट सेवा प्रदायकहरुको संस्था आइस्पानले जनाएको छ ।

सेवाप्रदायकहरुले सेवा अवरुद्ध भएको सूचना जारी गरेका छन् । सरकारले आजै सूचना प्रविधि र सञ्चार दिवस मनाइरहँदा इन्टरनेट काटिएको हो ।

एक साताअघि इन्टरनेट सेवा प्रदायकहरुले इन्टरनेट जतिबेला पनि काटिन सक्ने चेतावनी सरकारलाई दिएका थिए ।

गत बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै इन्टरनेट सेवा प्रदायकहरुको संस्था आइस्पानले घरघरमा जोडिएको इन्टरनेटको सेवा जतिबेला पनि अवरुद्ध हुन सक्ने चेतावनी दिएको थियो ।

९ महिनादेखि इन्टरनेट ब्याण्डबिथको पैसा पठाउन नसकिएकोले इन्टरनेट जतिबेला पनि बन्द हुनसक्ने आइस्पानको भनाइ छ।

आइस्पानका अध्यक्ष सुधीर पराजुलीले नेपाल ब्याण्डविथ खरिद गर्दा तिर्नुपर्ने पैसा पठाउन नसकेको बताए । सरकारले सिफारिस नदिँदा उक्त पैसा पठाउन नसकेको उनले बताएका थिए ।


क्लिकमान्डु