सुप्रिम सहकारी ठगी प्रकरणमा जोडिएका कान्तिपुरका कर्पोरेट म्यानेजरले दिए राजीनामा



काठमाडौं । सुप्रिम बचत तथा ऋण सहकारी संस्था ठगी प्रकरणमा मुछिएका पुष्पराज गिरीले कान्तिपुर पब्लिकेशनबाट राजीनामा दिएका छन् ।

उक्त सहकारीबाट २५ लाख रुपैयाँ गिरीले पेस्की लिएको अनुसन्धानबाट पुष्टि भएको छ । २०७८ असोज २४ गते उनले गोर्खा मिडिया नेटवर्कमा ल्याउन भन्दै २५ लाख रुपैयाँ पेस्की लिएको पाइएको थियो । त्यो समयमा गिरी गोर्खा मिडिया नेटवर्कमा कार्यरत रहेका थिए ।

हाल गिरी कान्तिपुर पब्लिकेशनमा कर्पोरेट म्यानेजरका रुपमा रहेका थिए । प्रहरीले अनुसन्धान गरेर अदालतमा दायर गरेको अभियोग पत्रमा आफ्नो पनि नाम जोडिएपछि गिरीले राजीनामा दिएको कान्तिपुरले जनाएको छ ।

उक्त सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले मंगलबार साँझ सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै कान्तिपुर कै एक कर्मचारी पनि सहकारी यसमा जोडीएको बताएका थिए ।

लामिछाने र गिरी गोरखा मिडिया नेटवर्क प्रालिमा सँगै काम गरेका हुन् । गोरखा मिडिया नेटवर्क प्रालिमा तत्कालिन समयमा लामिछाने प्रबन्ध निर्देशक रहेका थिए । उनले पनि सहकारीबाट २ करोड रुपैयाँ लिएको अनुसन्धानले देखाएको छ ।

यस्तै रास्वपाका सहमहामन्त्री विपिनकुमार आचार्य पनि उक्त सहकारी ठगी प्रकणमा जोडीएका छन् । सहकारीबाट २०७८ पुस १२ गते विपिन कुमार आचार्यको नाममा १ करोड ५६ लाख १५ हजार ऋण स्वीकृत भएको छ । उनले उक्त रकम गोर्खा मिडिया नेटवर्क प्रालिको खातामा जम्मा गरेको जिल्ला अदालत रुपन्देहीमा सोमबार दायर भएको अभियोगपत्रमा उल्लेख छ ।

अभियोग पत्रको कैफियतमा ‘संस्थाको बचत सदस्य उल्लेख गरी विपिन कुमार आचार्यको नाममा कुनै प्रकृया पूरा नगरी ऋण लगानी गरेको भौचर सदर गर्ने सागर केसी र रकम जम्मा गर्ने सुनिता पुन’ भन्ने उल्लेख छ ।

अभियोग पत्रमा उल्लेख भए अनुसार २०७७ कात्तिक ६ विपिन कुमार आचार्यको नोबडी प्रोडक्सन कम्पनीको एनआईसी एशिया बैंकको खातामा ७५ लाख रुपैयाँ जम्मा गरेको देखिएको छ । उनीबाट सहकारीलाई साँवा ब्याज केही पनि प्राप्त नभएको आरोपपत्रमा उल्लेख छ ।

१ हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रुपैयाँ हिनामिना गरेको पाइएपछि सरकारी वकिलको कार्यालय, रुपन्देहीले जिल्ला अदालतमा दायर गरेको मुद्दामा २८ जनालाई प्रतिवादी बताइएको छ ।

उक्त सहकारी प्रकरणमा नाम जोडीएका गिरीले आफ्नो पदबाट राजीनामा दिएर अनुसन्धानलाई सहज बनाएपनि गृहमन्त्री समेत रहेका लामिछाने र रास्वपाका आचार्यले अनुसन्धानलाई कसरी सहज बनाउने हुन, अहिले सबैमा यही प्रश्न रहेको छ ।


क्लिकमान्डु