अमेरिकासँग सबैभन्दा बढी सुन, नेपालसँग कति छ ?



काठमाडौं । लगातार नयाँ रेकर्ड कायम गर्दै गएको सुनको मूल्य विश्वबजार तताएको छ । एकपछि अर्को इतिहास कायम गरिरहेको सुनको मूल्यले आइतबार मात्रै विगतको रेकर्ड ब्रेक गर्दै हालसम्मकै उच्च मूल्य कायम भएको छ ।

विश्वबजारमा हरेक दिन नयाँ रेकर्ड कायम गर्दै जाँदा आगामी दिनमा सुनको मूल्य बढ्ने प्रक्षेपण नेपाली व्यवसायीहरुको छ ।

नेपाली व्यवसायीहरुले सुनको मूल्य बढ्ने क्रम जारी रहेको भन्दै आगामी ६ महिनामा १ लाख ५० हजार पुग्ने अनुमान गरेका छन् । त्यसैगरी विश्वभर नै सुनको मूल्य निरन्तर बढेर उच्च मूल्य कायम हुने अनुमान गरिएको छ ।

सामान्यतया डलरको मूल्य बढ्दा सुनको मूल्य घट्ने र डलरको मूल्य घट्दा सुनको मूल्य बढ्ने प्रचलन रहिआएको छ । तर अहिले डलरको मूल्यसँगै सुनको मूल्य पनि बढिरहेको अवस्था छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष मणिरत्न शाक्यले डलरको भाउसँगै सुनको मूल्ढ बढिरहँदा आफू आश्चर्यमा परेको बताए ।

‘विश्वव्यापी सिद्धान्तअनुसार डलरको मूल्य बढ्दा सुनको मूल्य घट्नुपर्ने हो । तर, अहिले ठिक उल्टो भइरहेको छ’ उनले भने ।

शाक्य अहिले डलरको मूल्यमा बढोत्तरी आउँदा सुनको मूल्यमा पनि वृद्धि हुनुमा कुनै वैज्ञानिक कारण नरहेको बताउँछन् ।

कहिलेकाँही बजारको अवस्थालाई हेरेर मूल्य तय हुने भएकाले अहिले पनि त्यही भइरहेको हुन सक्ने उनको अनुमान छ । ‘सँधै सिद्धान्तअनुसार नै बजार चलायमान हुन्छ भन्ने हुँदैन,’ उनले क्लिकमान्डुसँग भने, ‘कहिलेकाँही डलरसँगै सुनको मूल्य बढ्ने प्रवृत्ति छ ।’

सुनको मूल्य बढ्नुमा मुख्य दुई/तीन वटा कारण रहेको व्यवसायीहरुले बताउँदै आएका छन् । पछिल्लो समय अन्तर्राष्ट्रिय रुपमा डलर बिस्तारै कमजोर हुँदै गएको र अमेरिकाले डलरको मूल्य बलियो बनाउन खोजिरहेको छ । तर, डलर बलियो हुन सकेको छैन । डलर अवमूल्यन हुने भयले धेरै देशहरुले सुन सञ्चय गरिरहेका छन् ।

त्यस्तै कोभिड तथा विभिन्न देशबीच भएको युद्धका कारण विश्वमा मन्दी बढ्दै गएको छ । साथै, बेरोजगारीको संख्या बढ्दो क्रममा छ भने आम्दानीको स्रोत घट्दै गएकाले सुनको मूल्यमा प्रभाव देखिएको छ ।

अहिले धेरै देशका केन्द्रीय बैंकहरुले लगानीको क्षेत्रको रुपमा सुनको सञ्चय गरिरहेका छन् । स्वीस बैंक र अमेरिकी फेडेरल बैंकले ब्याजदर घटाउँदै लगेकाले पनि सुनको मूल्य निरन्तर बढिरहेको अवस्था छ।

विश्वव्यापी अर्थशास्त्रीहरुले आगामी २०२५ सम्ममा सुनको मूल्य ३ हजार डलर पुग्ने अनुमान गरेका छन् । सोहीअनुसार नेपालको हिसाब गर्ने हो भने नेपालमा सुनको मूल्य प्रतितोला १ लाख ७५ हजार पुग्ने अनुमान गर्न सकिन्छ ।

विश्वबजारमा सुनको महत्व बढ्दै जाँदा ठूला अर्थतन्त्र भएका देशहरुले सुन सञ्चय गरिरहेको अवस्था छ । त्यसैगरी विश्वबजारमा सुनको मूल्यले एक पछि अर्को रेकर्ड बनाउँदै जाँदा कुन देशसँग सबैभन्दा बढी सुन छ त भन्ने चासोको विषय बनेको छ । यो सामग्रीमा सबैभन्दा बढी सुन सञ्चय गर्ने २० देशको तथ्यांक उल्लेख गरिएको छ ।

विश्व सुन परिषद्का अनुसार विश्वका देशमध्ये सबैभन्दा बढी अमेरिकासँग रहेको छ । अमेरिकासँग ८ हजार १३३ टन सुन रिजर्भ रहेको परिषद्को रिपोर्टमा जनाइएको छ । नेपालसँग करिब ८ टन सुन रहेको तथ्यांकमा उल्लेख गरिएको छ ।


क्लिकमान्डु