मन्त्री ‘तह’ लगाउने ज्वालाकुमारीले कृषिलाई उँभो लगाउन सक्छिन् ?



काठमाडौं । चार दलीय नयाँ गठवन्धनबाट कृषि मन्त्रीको जिम्मेवारी पाएकी मन्त्री ज्वालाकुमार साह एकताका क्रान्तिकारी मन्त्रीको रुपमा चिनिएकी नाम हो । माओवादी पृष्टभूमिमा रमेकी र भूमिगत जनयुद्धमा समावेश भएकी ज्वालाकुमारी उक्त पार्टीको पोलिटव्युरो सदस्यसम्म भएकी थिइन् । पछिल्लो समयमा उनी नेकपा एमालेसँग आवद्ध छिन् ।

नामजस्तै ‘गलत’ गर्ने विरुद्ध ‘ज्वाला’ बनेर प्रतिकार गर्ने खरो स्वभावकी मानिन्छन् उनी। पारदर्शी काम, बोल्ड निर्णय गर्नपछि नपर्ने आँटिलो मन्त्री ज्वालाकुमारी थिति बसाउन एकताका विभागीय मन्त्रीसम्मलाई तह लगाएकी थिइन् ।

पछिल्लो समयमा आउट अफ ट्र्याकमा गुडिरहेको नेपालको कृषि क्षेत्रलाई पनि डो¥याउन उनी त्यस्तै भूमिकामा आउछिन वा आउदिनन्, त्यो आगामी दिनको कार्यसम्पादनले पुष्टि गर्ला ।

डा.बाबुराम भट्टराईको नेतृत्वमा २०६८ भदौ १२ गते गठन भएको तत्कालिन समयमा ज्वालाकुमारी पहिलो पटक भूमिसुधार तथा व्यवस्था राज्यमन्त्री बन्ने सौभाग्य पाएकी थिइन् ।

त्यो वेला उक्त मन्त्रालयको विभागीय मन्त्री भीम गौतम भएका थिए । प्रतिव्यक्ति ५० हजार रुपैयाँदेखि ७ लाख रुपैयाँ असुल गरी सरुवा गरेको भन्दै आफ्नै मन्त्री गौतममाथि आरोप लगाउँदै ज्वालाकुमारी मन्त्रीविरुद्ध मन्त्रालयमा ठूलो युद्ध नै छेडेकी थिइन् ।

आफ्नै मन्त्रीविरुद्धको यो युद्धको विगुलका आवाज तत्कालिन समयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसम्म पुगेको थियो । तत्कालिन समयमा ज्वालाकुमारीले मन्त्री गौतममाथि भूमाफियाको संरक्षक रहेकोसमेत आरोप लगाएकी थिइन् ।

‘मन्त्री गौतमले एकलौटी रुपमा मापदण्ड मिचेर रातारात कर्मचारी सरुवा गरेका छन्,’ तत्कालिन समयमा उनले भनेकी थिइन् ।

मन्त्री गौतमले राजधानीमा बर्षौंदेखि कार्यरत रहेका भ्रष्ट कर्मचारीलाई काखी च्यापेर रकमको चलखेलको आधारमा पुनः राजधानीमै मालदार अड्डामा सरुवा गरेको तत्कालिन समयमा ज्वालाकुमारीले आरोप लगाएकी थिइन् ।

मन्त्री गौतमको अनैतिक गतिविधीको बारेमा आफ्नो तत्कालिन राजनीतिक दल नेकपा माओवादी र मन्त्रिपरिषदमा छलफल गरी माफियाको जालो तोड्ने उनले बिगुल फुकेकी थिइन् । उनले मन्त्री गौतमको बिषयमा तत्कालिन समयमा प्रधानमन्त्री डा.भट्टराईलाई समेत जानकारी दिएकी थिइन् ।

‘मेरो मुद्दालाई प्रधानमन्त्री तहबाट सम्बोधन हुँदैन भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिन्छु, त्यसको पनि तयारी गरेको छु,’ तत्कालिन समयमा ज्वालाकुमारीले भनेकी थिइन् । विभागीय मन्त्री गौतमले रकमको चलखेलको आधारमा २०६८ फागुन ३० गते ३ सय ९० जना कर्मचारीको सरुवा गरेको उनको आरोप थियो।

तत्कालिन प्रधानमन्त्री भट्टराईसम्म पुगेको यो बिषयका कारण बर्दियामा मुक्त कमैया परिबारलाई जग्गाधनी प्रमाणपत्र बितरण गर्दैगर्दा ज्वालाकुमारीको पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयमा सरुवा भएको थियो । सरुवा गर्नुअघि तत्कालिन प्रधानमन्त्री भट्टराईले ज्वालाकुमारीसँग स्पष्टिकरणसमेत लिएका थिए ।

अघिल्लो पटक २०७९ माघ ३ गते कृषि मन्त्रालयको १३ दिनको लागि जिम्मेवारी सम्हालेकी उनले त्यो बेला समयअवधीको कारण खासै काम गर्न पाएकी थिइनन् । बाराको करैयामाई गाउँपालिका ४ की ज्वालाकुमारीले स्नातकसम्मको अध्ययन गरेकी उनीसामु अहिले कृषिसम्बन्धि विभिन्न मुद्दा सम्बोधन गर्नैपर्ने अवस्थामा मन्त्रालयमा आइपुगेकी छिन् ।

अहिले बजेट निर्माणको क्रम सुरु भएको छ । यस्तै १६औं आवधिक योजना पनि निर्माणको चरणमा छ ।

राष्ट्रिय कृषक समूह महासंघका पूर्वअध्यक्ष उद्धब अधिकारीले भूमिसुधार मन्त्रालयमा राज्यमन्त्रीको रुपमा जसरी उनी इमान्दारिता र खरो रुपमा काम गरेकी थिइन, त्यस्तै खरो रुपमा काम गरेको अवस्थामा मात्रै कृषि क्षेत्रको उभो लाग्न सक्ने जानकारी दिए ।

‘कृषि क्षेत्रको ठूलो समस्याको रुपमा देखापरेको दूध किसानको भुक्तानी, दूग्धजन्य पदार्थको बजार सुनिश्चित, रसायनिक मलको आपूर्ति र सुनिश्चितता, कृषि ऐन, कृषि नीति, खाद्य सम्प्रभूता नियमावलीको प्रक्रिया अघि बढाउने ठूलो चुनौती मन्त्री ज्वालाकुमारी सामु छ,’ अधिकारीले भने ।

उच्च स्तरीय प्रांगारिक कार्यदलले दिएको प्रतिवेदन कार्यान्वयनमा ल्याउने, कृषि तथा पशुपन्छी बीमाको भुक्तानी, संस्थान र अनुसन्धान निकायमा पारदर्शी रुपमा पदाधिकारी नियुक्ति, परनिर्भर बन्दै गएको कृषि क्षेत्रको उत्पादन बृद्धिलगायतको मुद्दा सम्बोधन नगरी मन्त्री ज्वालाकुमारीलाई सुखै नहुने उनले बताए ।

दूध किसानको भुक्तानी गराउँछौंः ज्वालाकुमारी

नवनियुक्त कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहले दूध किसानको बक्यौंता रकम समयमै भुक्तानी गर्ने प्रतिवद्धता जनाएकी छिन् ।

कृषि मन्त्रालयको पदवहाली गर्दै ज्वालाकुमारीले किसानका समस्या समाधानमा आफु केन्द्रित हुने बताइन् । किसानको समस्या समाधान गर्न नसके कुर्सीमा बस्नुको औचित्य नहुने मन्त्री ज्वालाकुमारीले जानकारी दिइन् ।

‘मन्त्री र कर्मचारीको संयुक्त प्रयासबाट मात्रै सरकारले लिएको लक्ष्य हासिल गर्न सकिन्छ,’ उनले भनिन्, ‘साकारात्मक कामको पक्षमा म सधैँ कर्मचारीको साथमा रहनेछु ।’


राजेश बर्मा