‘बालेनको दम्भ बढ्यो, कर तिर्ने व्यापारीको टाउकोमा डन्डा बजार्न मिल्छ ?’



काठमाडौं । सुन्धारामा फुटपाथ व्यवसायीमाथि महानगरप्रहरीले बल प्रयोग गरेको घटना संसदमा प्रवेश गरेको छ ।

शुक्रबार प्रतिनिधि सभा बैठकमा स्वतन्त्र सांसद अमरेश कुमार सिंहले काठमाडौं संघीय राजधानी भएको र यहाँ देशका हरेक क्षेत्र र वर्गका मानिसले बस्न र व्यवसाय गर्न पाउने बताए ।

त्यसलाई व्यवस्थित गर्नुको सट्टा टाउकोमा लट्ठी बजार्नु न्याय संगत नभएको उनको भनाइ छ ।

सिंहले महानगरपालिकाका मेयर बालेन्द्र शाहको दम्भ बढेको आरोप लगाए । ‘महानगरका मेयरको दम्भ बढेको छ । यहाँ तल्लो वर्गका मान्छे बस्न नपाउने ?’ उनले भने, ‘महानगर व्यवस्थित गर्न नसक्ने, विकासको एउटा सिन्को नभाँच्ने तर कहिले फुटपाथको व्यापारीको टाउको फुटाउने, कहिले कवाडीलाई त्रसित बनाउने ?’

मधेशका सडक व्यवसायीका कारण काठमाडौंमा बस्नेहरुले फलफूल र तरकारी खान पाइरहेको उनले बताए ।

‘४२ सालमा म काठमाडौं आउँदा यहाँ फल खाँदैन थिए । खाए पनि सिजनल नास्पातिहरु जस्तो फर्किङबाट आउथ्यो,’ उनले भने, ‘मधेशकाहरु आएर त्यो सम्भव भएको हो ।’

व्यवसाय गर्नेहरुले कर तिरिरहेको र कर तिर्नेहरुमाथि राज्यले ज्यादती गर्न नमिल्ने उनले बताए ।

‘उनीहरु कर तिरिरहेका छन् । प्यानमा दर्ता छन्,’ सिंहले भने, ‘सरकारले कर पनि लिने र अपमानित पनि गर्न मिल्छ ?’

नेपाल हरेक नेपालीको भएको भन्दै उनले कुनै मेयर र मन्त्रीको मात्र देश नभएको भन्दै गरि खानेलाई रेगुलेट गर्ने काम गर्न उनले माग गरे ।

‘कुनै मेयरले बनाएको राजधानी होइन यो । यहाँ सबै बस्न पाउँछन् । यस्तो हर्कतबाट बाहिर जाओस् मेयर’ उनले भने, ‘होइन भने कुनै दिन काठमाडौंमा संघर्ष हुन्छ । यो संघको नियन्त्रणमा हुँदैन । मेयरको त यसलाई रोक्ने औकात छैन ।’


क्लिकमान्डु