अगाडि महिला राखेर पछाडिबाट फलामे रड र ढुंगा प्रहार भयो: महानगर प्रहरी प्रमुख



काठमाडौँ । सुन्धारा सडक किनारामा व्यापार गर्न आएका व्यापारीलाई पैदल मार्गमा व्यापारिक क्रियाकलाप नगर्न अनुरोध गर्दा नगर प्रहरी माथि आक्रमण भएको र त्यसको प्रतिरक्षा आफूहरुले गरेको महानगर प्रहरी बलका प्रमुख वरिष्ठ नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले दाबी गरेका छन् ।

नगर प्रहरी उपरीक्षक मनोज लामिछानेसहित ९ जना प्रहरी घाइते भएको भएको र घाइतेमध्ये लामिछानेसहित ३ जनालाई टाउकोमा चोट लागेर गम्भीर भएको पाण्डेको भनाइ छ ।

त्यस क्षेत्रमा सडक व्यापार नगर्न महानगरले गएको १ महिना अघिदेखि माइकिङ् गरेर सचेत गराइरहेको उनको भनाइ छ । ‘गएको १५ दिनअघि देखि व्यापारीहरुले नगर प्रहरीलाई गाली गर्न थालेका थिए’ उनले भने,’ बुधबार सडकमा व्यापारी आउन थालेको सूचना पाएर मध्य क्षेत्रका कमाण्डर लामिछानेको कमाण्डमा प्रहरीहरु सुन्धारा जानुभएको थियो । उहाँ पुग्ने वित्तिकै आक्रमण भयो ।’

भीडको अगाडि महिला राखेर पछाडिबाट फलामे रड र ढुंगा प्रहार भएपछि आफूहरुले प्रतिरक्षा गरेको उनको दाबी छ ।

‘भीडको अगाडि महिला राखेर पछाडिबाट फलामे रड र ढुङ्गा प्रहार भयो । यसबाट बच्न नगर प्रहरीले प्रतिरक्षा गरेको हो । कसैमाथि दमन गर्ने वा घरपकड गर्ने काम हामीबाट भएको छैन । त्यो हाम्रो काम पनि होइन’उनले भने ।

सडक व्यापारलाई महानगरपालिकाले पूर्ण निषेध गरेको उनले बताए । ‘कुनै समय दिएर व्यापार गर्न पाउने भनेको छैन । यस्तो नीति पनि छैन । सडक व्यापार पूर्ण निषेध गर्ने महानगरपालिकाको नीति कार्यान्वयन गर्ने दायित्व महानगर प्रहरी बलको हो । हामीले कर्तव्य निर्वाह गर्दा गर्दै घटना भएको हो’ उनले भनेका छन् ।


क्लिकमान्डु