निर्माण सकिएपछि नै ओलीले धरहरा उद्घाटन गरेका हुन्: एमाले महासचिव



नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीका अध्यक्षसमेत रहेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराको निर्माण सकिएपछि नै त्यसको उद्घाटन गरेको तर्क गरेका छन् ।

ओलीले उद्घाटन गरेको ३३ महिनापछि पनि सर्वसाधारण धरहरा चढ्न नपाएको र निर्माण सक्नका लागि सातौं पटक म्याद थपको तयारी भइरहँदा एमाले महासचिव शंकर पोखरेलले यो परियोजनाको दूरदर्शी दृष्टिकोण र महत्व नवुझ्नेले त्यसको आलोचना गर्नु स्वभाविक भएको टिप्पणी गरेका छन् ।

सोमबार काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले पनि उद्घाटन गरिएको यति लामो समयसम्म धरहराको निर्माण नसकिएको भन्दै आक्रोश पोखेका थिए ।

एमाले महासचिव पोखरेलले धरहरा पुननिर्माण परियोजना अन्तरगत त्यसलाई नयाँ स्वरुपमा निर्माण गर्नेगरी पाँच भागमा विभक्त गरिएको बताउँछन् ।

पहिलो, पुरानो धरहराको बचेको भागलाई परदर्शी सिसाले छोपेर जस्ताको त्यस्तै संरक्षणगरी सुरक्षित राख्ने । दोस्रो, त्यसको छेवैमा पुरानो स्वरुपमा तर नयाँ प्रविधिको प्रयोगरी सुरक्षित धरहराको निर्माण गर्ने । तेस्रो, भूकम्पको बारेमा जानकारी गराउने हिसाबले म्युजियमको निर्माण गर्ने । चौथो, भित्रि सहर र पर्यटकको सुविधालाई समेत ध्यानमा राखेर अण्डर ग्राउण्ड पार्किङ स्थल निर्माण गर्ने र पाँचौ, अण्डर ग्राउण्ड पार्किङको माथिल्लो भागमा बगैँचा निर्माण गर्ने र सुन्धारालाई सौन्दर्यीकरण गर्ने गरि पाँच भागमा काम विभाजन गरिएको उनको भनाइ छ ।

‘त्यसका लागि गोस्वारा हुलाकसमेतको वरीपरीको सरकारी जमिन समेत प्रयोग गरिएको छ । तत्कालिक प्रधानमन्त्रीले नवनिर्मित धरहरा उद्घाटन गरेको हो । जसको निर्माणकार्य उतिवेलै सम्पन्न भइसकेको छ,’ पोखरेलले भनेका छन्, ‘अरु परियोजनाको काम सरकार परिवर्तनका कारणले विलम्व भएको छ । तर निर्माण संझौता पहिले भएका कारणले काम भने कछुवाको गतिमा जारी छ । यो परियोजनाको दूरदर्शी दृष्टिकोण र महत्व नवुझ्नेले त्यसको आलोचना गर्नु स्वभाविक हो ।’


क्लिकमान्डु