नेपाल एयरलाइन्सलाई ‘ग्राउन्डेड’ गर्ने प्राधिकरण महानिर्देशकको योजना, फुल अडिट सुरु



काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहतका दुई निकायबीच आरोप प्रत्यारोपको क्रम बढेको छ ।

युरोपियन कमिसनले गत बिहीबार उडान सुरक्षा चासोबाट नेपाललाई हटाउन नसक्ने व्यहोरासहितको प्रतिवेदन सार्वजनिक गरेपछि प्राधिकरण र निगमबीच विवाद बढेको हो ।

नेपाललाई सन् २०१३ देखि उडान सुरक्षा चासोमा राख्दै नेपाली वायुसेवा र हेलिकप्टर कम्पनीलाई युरोपको आकाश प्रयोग गर्न प्रतिबन्ध लगाएको कमिसनले यसपटक पनि नेपाललाई सुरक्षा चासोबाट हटाउन नमानेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहालसहित उच्चराजनीतिक नेतृत्वलाई उडान सुरक्षामा पर्याप्त काम गरेकाले यसपटक कमिसनको चासोबाट हट्ने बिफ्रिङ गरेका महानिर्देशक प्रदीप अधिकारी कमिसनको प्रतिवेदन सार्वजनिक भएपछि निगमविरुद्ध खनिएका थिए ।

कमिसनले प्रतिवेदन सार्वजनिक गरेको बेलुका प्राधिकरणको प्रधानकार्यालयमा सीमित पत्रकारसँग अन्तक्रिया गर्दै अधिकारीले नेपाल वायुसेवा निगम र श्री एयरलाईन्सका कारण यसपटक उडान सुरक्षाबाट बाहिरिन नसकेको बताए । जबकी, कमिसनले प्राधिकरणको संगठन संरचनामाथि प्रश्न उठाएको छ ।

कमिसनको प्रतिवेदनको ५६ नम्बर बुँदामा प्राधिकरणको संगठनात्मक संरचनाको व्यापक संशोधन गर्दै बलियो र प्रभावकारी सुरक्षा निरीक्षण प्रणाली बनाउनु पर्ने उल्लेख गरेको छ ।

यस्तै, प्राधिकरणले हाल गरिएको अभ्यास अन्तर्राष्ट्रिय सुरक्षा मापदण्डअनुसार नभएको र प्राधिकरणले प्रभावकारी निगरानी संयन्त्र स्थापना गर्नु पर्नेमा कमिसनले जोड दिएको छ ।

यस्तै, क्यानको पर्सनल लाइसेन्सिङ इन्स्पेक्टर र सहायक निरीक्षकको भूमिकाका लागि तालिमको प्रभावकारी अनुगमन र दरुतावेजीकरणमा कमी रहेको कसिसनको मूल्यांकन छ ।

यस्तै, क्यानको अपरेसन डिभिजनमा महत्वपूर्ण कमी रहेको, थकान व्यवस्थापन प्रोटोकहरु लागु हुन नसकेको, निरीक्षकहरुबीचको विशेष तालिम र योग्यताको अभाव रहेको कमिसनको प्रतिवेदनमा उल्लेख छ।

कमिसनले क्यानले प्रभावकारी तालिम दिन नसकेको, डिजिटल रेकर्ड प्रणाली विकास गर्न नसकेको टिप्पणी गरेको छ । कसिसनले नेपाल भ्रमणका क्रममा श्री एयरलाइन्स र नेपाल वायुसेवा निगमको पनि उडान गरेको थियो ।

त्यसक्रममा दुई वायु सेवा कम्पनीको सेफ्टी म्यानेटमेन्ट म्यानुअव अन्तर्राष्ट्रिय मापदण्डअनुसार नभएको प्रतिवेदनमा उल्लेख गरेको छ ।

कमिसनले वायुसेवा सञ्चालकहरुको उडान सुरक्षा कागजातहरु र विशिष्ट अनुमोदनहरुको समीक्षा, मूल्यांकन र प्रमाणिकरण गर्न काम प्रभावकारी रुपमा गर्न नसकेको विषय समेत उठाएको छ ।

कमिसनले मुख्यगरी प्राधिकरणको संगठनात्म पुनर्संरचनामा जोड लिएको र सेवा प्रदायक र नियाकमको काम फरक फरक निकायले गर्नु पर्ने जोड दिएको छ ।

कमिसनले दुई वायु सेवा कम्पनीमा कमजोरी हुनुको साथै प्राधिकरणको समेत कमजोरी उडान सुरक्षा चासोबाट हटाउन नसकेको प्रतिवेदनमा उल्लेख गरेको छ ।

प्राधिकरणले न्यूनतम अन्तर्राष्ट्रिय सुरक्षा मापदण्डहरुको पालना समेत गर्न नसकेको र क्यानको पर्यवेक्षण क्षमता, कर्मचारी व्यवस्थापन, कर्मचारी तालिम र प्रमाणीकरण प्रक्रियाहरुमा थप सुधार गर्नु पर्ने कमिसनको निष्कर्ष छ ।

प्राधिकरणका महानिर्देशक अधिकारीले सिमित पत्रकारसँगको अन्तक्रियामा नेपाल वायु सेवा निगम र श्री एयरलाइन्सका विषयमा गरिएको टिप्पणी सार्वजनिक गरेका पनि निगमका विषयमा गरेको टिप्पणीका विषयमा मौन रहेका थिए ।

कमिसनले निगम र श्रीलाई स्याम्पलको रुपमा अध्ययन गरेको विषय लुकाउँदै श्री र निगमकै कारण सुरक्षा चासोबाट नहटेको गलत बयान दिएका अधिकारी निगमले कमिसनले दिएको प्रतिवेदन नेपालीमा ट्रान्सलेसन गर्दै सार्वजनिक गरेपछि निकै रुष्ट देखिएका छन् ।

फुल अडिट गर्दै

बिहीबार सुरक्षा चासोबाट नहटेपछि अधिकारी आफनो दोष निगम माथि पन्छाउन सक्रिय भएका छन् ।

शुक्रबार अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्ड ह्ण्डलिङको काम खुला प्रतिस्पर्धाबाट दिने सार्वजनिक सूचना प्रकाशित गरे ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थापना भएदेखि नै निगमले ग्राउण्ड ह्याण्डलिङको काम गर्दै आएको छ । ग्राउण्ड ह्ण्डलिङ निगमको आम्दानीको मुख्य स्रोत हो ।

नेपाल राष्ट्रिय कर्मचारी संगठनका उपाध्यक्ष तथा निगमका वरिष्ठ अधिकृत रमेशकुमार पाण्डेले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकले हवाई माफियाहरुको निर्देशनअनुसार नेपाल वायुसेवा निगमले अहिलेसम्म गर्दै आएको ग्राउण्ड ह्याण्डलिङ सेवा खोस्न खोजेको आरोप लगाएका छन् ।

‘युरोपेली युनियनको प्रतिवेदनलाई देखाएर नेपाल वायुसेवा निगमको कारण कालोसूचीबाट नहटेको आरोप लगाएर ग्राउण्ड ह्याण्डलिङ निगमबाट खोस्ने उद्देश्य प्राधिकरणका डिजी राखेका छन्,’ उनले भने, ‘हामीले उक्त निर्णयविरुद्ध आन्दोन सुरु गरेका हौं ।’

कमिसनले सुरक्षा चासोबाट नहटाउनुमा निगम दोषी रहेको राजनीतिक नेतृत्वलाई देखाउन अधिकारीले निगमको भूमिका माथि प्रश्न उठाइरहेका छन् ।

अधिकारीले आइतबार निगमको आकस्मिक अडिट गर्न लगाएका थिए। निगमको उडान सुरक्षाका विषयमा अधिकारीले प्राधिकरणको सेफ्टी विभागलाई आकस्मिक अडिट गर्न अधिकारीले निर्देशन दिए ।

निगमले प्राधिकरण महानिर्देशक अधिकारीको भनाइ खण्डन गर्दै विज्ञप्ति र कमिसनको रिपोर्ट सार्वजनिक गरेपछि अधिकारीले निगमका अध्यक्षलाई समेत स्पष्टीकरण सोधका थिए ।

निगमको सुरक्षा अवस्थामा प्रश्न उठाउँदै कमिसनले गत सेप्टेम्बरमा नै प्रतिवेदन दिइसकेको थियो ।

सेप्टेम्बरमा प्रतिवेदन प्राप्त गरेका अधिकारीले प्राधिकरणको आन्तरिक संरचना, नियामकिय क्षमता, कर्मचारीको तालिम लगाएका विषयमा कुनै ध्यान दिएनन् । आन्तरिक वायु सेवा निगमको सुरक्षा व्यवस्थाका विषयमा समेत निगमले कुनै प्रभावकारी काम गरेको थिएन ।

आइतबार निगमको छड्के जाँच गरेको प्राधिकरणले बुधबारबाट बिस्तृत अडिट गर्ने योजना बनाएको हो ।

निगमको उडान सुरक्षा कमजोर रहेको देखाएर निगमका विमानलाई उडानमा रोक लगाउने (ग्राउडेड) गर्ने मनसायका साथ प्राधिकरण महानिर्देशकले निगमको अडिट गरेको प्राधिकरणकै उच्चअधिकारी बताउँछन्।

‘निगम र प्राधिकरणमा समस्या छ भन्ने प्रतिवेदन सेप्टेम्बरमा आएको थियो,’ प्राधिकरणका एक अधिकारीले भने, ‘उहाँले ३ महिनासम्म के हेरेर बस्तु भयो ? अहिले निगमलाई आरोप लगाउँदा निगमले प्रतिवाद गरेपछी आकस्मिक अडिट गर्ने र फुल अडिट गर्ने काममा लाग्नु भएको छ ।’

उडान सुरक्षामा कमजोरी हुँदा वायुसेवा कम्पनीलाई कारबाही गर्न सामान्य विषय भएपनि आरोपप्रत्यारोप चलेपछि फुल अडिट हुनुमा शंका गर्ने ठाउँ रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक सञ्जिव गौतम बताउँछन् ।

‘प्राविधिकरणलाई वायुसेवा कम्पनीको अडिट गर्ने अधिकार हुन्छ । त्यसमा कसैले प्रश्न उठाउन मिल्दैन् । उडान सुरक्षा प्रत्याभुत गर्न पनि नियमित अडिट हुनु पर्छ । यो राम्रो सुरुवात हो,’ पूर्वमहानिर्देशक गौतमले भने, ‘तर, यस पटक प्राधिकरण निगम बीच बढेको अवस्था छ । जसले गर्दा आम नागरिकले ठिक नियतले अडिट भयो वा भएन भन्ने प्रश्न गर्न सक्छन् ।’

प्राधिकरणले आजबाट ३ दिन निगमको उडान सुरक्षा, इन्जिनियरिङ, मर्मत सम्बन्धी व्यवस्था, तालिम सम्बन्धी अवस्था, लगायतका विषयमा निरीक्षण गर्नेछ ।

प्राधिकरणले फूल अडिट गर्न थालेपछि निगमका कर्मचारी युनियनले प्रतिसोधपूर्वक हुन लागेको फूल अडिटमा प्रतिरोध गर्ने जनाएको छ ।


शरद ओझा