हवाई माफियाहरुको निर्देशनमा प्राधिकरणका महानिर्देशकले ग्राउण्ड ह्याण्डलिङ खोस्न खोजेको आरोप



काठमाडौं । नेपाल वायुसेवा निगमका कर्मचारीले खुला प्रतिस्पर्धाका आधारमा ग्राउण्ड ह्याण्डलिङ दिने निर्णयको बिरोधमा आन्दोलन सुरु गरेका छन् ।

बुधबारदेखि निगमका कर्मचारी तथा संयुक्त ट्रेड युनियनहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डलिङ खुला प्रतिस्पर्धाका आधारमा नभएर स्वतः निगमले पाउनुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका हुन् ।

झन्डै वार्षिक ४ अर्ब रुपैयाँ आम्दानी हुँदै आएको ग्राउण्ड ह्याण्डलिङ सेवा निगमले पाउनुपर्ने भन्दै निगमका कर्मचारीले बिरोध गरेका हुन् । उनीहरुले प्राधिकरणबाट अडिटका लागि आउने प्राविधिकलाई रोक्ने बताएका छन् ।

युरोपेली युनियन(ईयु)ले दिएको प्रतिवेदनका आधारमा प्राधिकरणले बुधवारदेखि तीन दिन विस्तृत अडिट गर्ने तयारी गरेको भन्दै निगमका कर्मचारीहरुले प्राधिकरणका अडिट गर्न आउने कर्मचारीलाई निगममा छिर्न नदिने तयारी गरेको बताए ।

नेपाल राष्ट्रिय कर्मचारी संगठनका उपाध्यक्ष तथा निगमका वरिष्ठ अधिकृत रमेशकुमार पाण्डेले युरोपेली युनियन(ईयु) को प्रतिवेदनका आधारमा नेपाल वायुसेवा निगमको कारण कालोसूचीबाट नहटेको आरोप लगाउँदै ग्राउण्ड ह्याण्डलिङ निगमबाट खोस्ने उद्देश्यले प्राधिकरणका डिजीले गरेको निर्णयविरुद्ध आन्दोलन सुरुवात गरिएको बताए ।

हवाई माफियाहरुको निर्देशनअनुसार नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकले नेपाल वायुसेवा निगमले अहिलेसम्म गर्दै आएको ग्राउण्ड ह्याण्डलिङ सेवा खोस्न खोजेको उनको आरोप थियो ।

प्राधिकरणले ग्राउण्ड ह्याण्डलिङबारे गरेको निर्णय प्राधिकरण र राष्ट्रको हितमा नभएको उनको भनाइ छ । निगमले ग्राउण्ड ह्याण्डलिङबाट वार्षिक ४ अर्ब रुपैयाँ आर्जन गर्दै आएको छ । अन्तर्राष्ट्रिय मापदण्डअनुरुप निगमले गर्दै आएको ग्राउण्ड ह्याण्डलिङ सेवालाई लक्षित गरेर आक्रमण गरिएको उनको आरोप छ ।

कर्मचारीहरुले ग्राउण्ड ह्याण्डलिङ खोस्ने निर्णयबिरुद्ध चरणवद्ध रुपमा आन्दोलन गर्ने बताएका छन् । उनीहरुले निगम र निगमका कर्मचारीहरुको हितको लागि भए पनि प्राधिकरणले ग्राउण्ड ह्याण्डलिङ निगमलाई नै दिनुपर्ने बताएका छन् ।

कर्मचारीहरुले ग्राउण्ड ह्याण्डलिङ निगमबाट खोस्ने प्राधिकरणको राष्ट्रघाति निर्णय खारेज गर, निगम मास्ने निर्णय फिर्ता गर,नागरिक उड्डन प्राधिकरणको दादागिरी बन्द गर, क्यानका भ्रष्ट डिजी राजीनामा दे लगायतका नारा समेत लगाएका छन् ।


क्लिकमान्डु