सिमरा विमानस्थलमा बन्ने भयो रिफ्युलिङ स्टेसन



सिमरा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सिमरा विमानस्थलमा आइतबार हवाई इन्धन (एटीएफ) को रिफ्युलिङ स्टेसन उद्घाटन गरेका छन् । विमानस्थलमा रिफ्युलिङ स्टेसन र रिफ्युलर नहुँदा आन्तरिक उडानका जहाज काठमाडौंबाट हवाई इन्धन भरेर ओहोरदोहोर गर्दै आएका थिए ।

मन्त्री रिजालले सिमरा विमानस्थल नेपालको सबैभन्दा पुरानो भए पनि आवश्यक विकास हुन नसकेको बताए । ‘आन्तरिक विमान कम्पनीहरुले पटक-पटक भेटेर रिफ्युलिङ स्टेसन निर्माण गरिदिन आग्रह गर्दै आएका थिए,’ उनले भने ।

रिफ्युलिङ स्टेसन निर्माण भएर सञ्चालनमा नआउँदासम्म वैकल्पिक व्यवस्थाका लागि भाउजरको व्यवस्था गरिएको हो । तत्कालका लागि जनकपुरबाट दैनिक हवाई इन्धन ल्याएर सिमरा विमानस्थलमा ओहोरदोहोर गर्ने जहाजलाई आइतबारदेखि नै उपलब्ध गराउन भाउजरको व्यवस्था गरिएको हो ।

भाउजरसँगै १६ र ११ किलोलिटर रिफ्युलर पनि सञ्चालनमा ल्याइएको छ । निगमका कार्यकारी निर्देशक उमेश थानीले केही समयपछि भरतपुर र जुम्ला विमानस्थलमा पनि रिफ्युलिङ स्टेसन निर्माण गर्न लागिएको जानकारी गराए ।

थानीले निगम व्यापारिक संस्था भए पनि सामाजिक उत्तरदायित्वका लागि घाटा खाएर ग्यास बिक्री गरिरहेको बताए ।

नागरिक उड्डयन प्राधिकरणका उप-महानिर्देशक प्रेम ठाकुरले हवाई इन्धन रिफ्युलिङ नहुँदा आन्तरिक जहाज कम्पनीलाई बर्सेनि करोडौं रकम घाटा लागेको जानकारी दिए । ठाकुरले सिमरा विमानस्थलमा दैनिक १५ सयभन्दा बढी यात्रुको चाप भएको पनि बताए ।

रिफ्युलिङ स्टेसन निर्माण गर्न सम्झौता

सिमरास्थित आन्तरिक विमानस्थलमा हवाई इन्धन (एटीएफ) भर्ने सुविधाका लागि कात्तिक २२ मा सिमरा नागरिक उडड्यन कार्यालय र नेपाल आयल निगमबीच सम्झौता भएको थियो ।

सम्झौताअनुसार विमानस्थलमा हवाई इन्धनको डिपो निर्माण गर्न सिमरा विमानस्थलमा पाँच कट्ठा जमिन उपलब्ध गराइएको छ । सोही जग्गामा निगमले हवाई इन्धनको डिपो निर्माण गर्नेछ ।

रिफ्युलिङ स्टेसनको अभावमा जहाजलाई प्राविधिक समस्या

यात्रुको अत्यधिक चाप हुने सिमरा र भरतपुर विमानस्थलमा हवाई इन्धन भर्ने सुविधा नहुँदा जहाज कम्पनीहरु प्राविधिक समस्या व्यहोर्न बाध्य छन् ।

काठमाडौंमा मौसम खराब हुँदा वा अन्य प्राविधिक समस्या हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुपर्ने जहाजहरु डाइभर्ट गरी अहिले भैरहवा वा विराटनगर लैजानुपर्ने बाध्यता छ ।

विराटनगर र भैरहवा दूरीको हिसाबले टाढा पर्छ । सबैभन्दा नजिक सिमरा विमानस्थल भए पनि इन्धन भर्ने सुविधा नहुँदा जहाज डाइभर्ट गर्नसक्ने अवस्था नरहेको सिमरा विमानस्थल कार्यालयका प्रमुख सूर्यबहादुर खत्रीले जानकारी दिए । ‘सिमरा विमानस्थलमा हवाई इन्धन भर्ने सुविधा उपलब्ध भएपछि आपतकालीन अवस्थामा जहाज डाइभर्ट गर्न मिल्छ,’ उनले भने ।

विमानस्थलमै हवाई इन्धन (एटीएफ) को डिपो र जहाजमा फ्युल भर्ने रिफ्युलिङ स्टेसनको सुविधा नहुँदा उडान भर्ने र अवतरण गर्ने जहाजले टेकअफ, ल्यान्डिङ वेट रेस्ट्रिक्सन र पे लोडको ठूलो समस्या व्यहोर्दै आएका छन् ।

यस्ता प्राविधिक समस्या समाधान गर्न सरोकारवालाहरले दुवै विमानस्थलमा तत्काल हवाई इन्धनको डिपो र जहाजमा फ्युल भर्ने रिफ्युलिङ स्टेसन निर्माण गरिदिन निगमसँग माग गर्दै आएका थिए ।

बुद्ध एयर प्रालि, सिमरा नागरिक उडड्यन कार्यालय, जितपुर सिमरा उपमहानगरपालिका र नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदेशले विमानस्थलमा हवाई इन्धन भर्ने सुविधा उपलब्ध गराइदिन माग गर्दै आएका थिए ।

काठमाडौंबाट उडान वा अवतरण गर्ने आन्तरिक उडानका लागि सिमरा विमानस्थललाई वैकल्पिक विमानस्थलको रुपमा राखिएको छ ।

तर, अहिले इन्धन भर्ने सुविधा नहुँदा विमान कम्पनीहरुले काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै इन्धन बोकेर सिमरा र सिमराबाट काठमाडौं ओहोरदोहोर गर्दै आएका छन् । सिमरा विमानस्थलबाट बुद्धका दैनिक ७ र यति एयरलाइन्सका २ गरी ९ उडान भइरहेका छन् ।

आन्तरिक विमानस्थलहरुमध्ये जनकपुर, दाङ र झापाको चारआलीमा गत वर्ष हवाई इन्धनको डिपोसहित रिफ्युलिङ स्टेसन निर्माण भएको निगमले जनाएको छ । आन्तरिक जहाजहरुले खपत गर्ने हवाई इन्धन मासिक १५ हजार किलोलिटर हाराहारीमा बिक्री हुँदै आएको छ ।

हाल देशभर कोशी प्रदेशमा १२, मधेसमा ३, बागमतीमा ६, गण्डकीमा ५, लुम्बिनीमा ५, कर्णालीमा ९ र सुदूरपश्चिम प्रदेशमा ९ वटा विमानस्थल छन् ।


राजेश बर्मा