विमानस्थलमा ‘डोमेस्टिक जहाज’लाई इन्धन भर्न असुविधा, रिफ्युलिङ सुविधाको माग



काठमाडौं । आन्तरिक विमानस्थलमा हवाई इन्धन भर्ने सुविधा उपलब्ध नहुँदा जहाज कम्पनीहरुले प्राविधिक समस्या व्यहोर्नुपरेको छ । आन्तरिक विमानस्थलहरुमध्ये यात्रुको बढी चाप देखिएको सिमरा र भरतपुर विमानस्थलमा उडान भर्ने जहाज कम्पनीहरुले प्राविधिक समस्या व्यहोर्नुपरेको हो ।

विमानस्थलमै हवाई इन्धन (एटीएफ) को डिपो र जहाजमा फ्युल भर्ने रिफ्युलिङ स्टेसनको सुविधा नहुँदा उडान भर्ने र अवतरण गर्ने जहाजहरुले टेकअप, ल्याण्डिङ वेट रेस्ट्रिक्सन र पेलोडको ठूलो समस्या व्यहोर्दै आएका छन् ।

यस्ता प्राविधिक समस्या समाधान गर्न विभिन्न सरोकारवाला निकायले ती दुवै विमानस्थलमा तत्कालै हवाई इन्धन(एटीएफ) को डिपो र जहाजमा फ्युल भर्ने रिफ्युलिङ स्टेशन निर्माण गरिदिन नेपाल आयल निगमसँग माग गरेका छन् ।

देशभरका आन्तरिक विमानस्थलमध्ये यात्रुको चाप अत्यधिक भएको सिमरा र भरतपुर विमानस्थलमा यस्तो सुविधा उपलब्ध गराइदिन माग गरिएको हो ।

विमानस्थलमा हवाई इन्धन भर्ने सुविधा नहुँदा उडान भर्ने र अवतरण गर्ने विमान कम्पनीहरुले प्राविधिक कठिनाइको सामना गर्नुपरिरहेको औंल्याएका छन् । बुध्द एयर प्रालि, सिमरा नागरिक उडड्यन कार्यालय, जितपुर सिमरा उपमहानगरपालिका र नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदेशले विमानस्थलमा हवाई इन्धन भर्ने सुविधा उपलब्ध गराइदिन माग गरेका हुन् ।

नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष अशोककुमार टेमानीले नेपाल आयल निगमलाई पत्राचार गरि हवाई इन्धनको डिपो निर्माण र रिफ्युलिङ गर्ने सुविधा माग गरेका छन् ।

‘जहाज उडानको दृष्टिले काठमाडौंबाट सबैभन्दा नजिकको दूरीमा सिमरा विमानस्थल पर्छ,’ टेमानीले क्लिकमान्डुसँग भने, ‘आन्तरिक औद्योगिक नगरीहरुलाई जोड्न पनि यो विमानस्थल महत्वपूर्ण भएकाले रिफ्युलिङ सुविधा उपलब्ध गराउन माग गरेका हौं ।’

काठमाडौंबाट उडान गर्ने वा अवतरण गर्ने आन्तरिक उडानका लागि सिमरा विमानस्थललाई वैकल्पिक विमानस्थलको रुपमा राखिएको छ । तर उक्त विमानस्थलमा हवाई इन्धनको डिपो निर्माण नहुँदा विमान कम्पनीहरुले प्राविधिक कठिनाइ भोगिरहेको भन्दै अध्यक्ष टेमानीले डिपो निर्माणका लागि निगमलाई पत्राचार गरेका हुन् ।

सिमरा विमानस्थलमा डिपो निर्माण हुँदा विमान कम्पनीहरुले काठमाडौंको तुलनामा केही सस्तो मूल्यमा इन्धन खरिद गर्न सक्षम हुने भन्दै टेमानीले यथाशिघ्र हवाई इन्धनको रिफ्युलरसहितको डिपो निर्माण गरिदिन निगमलाई आग्रह गरेका छन् ।

यस्तै बुद्ध एयरले सिमरा नागरिक उडड्यन कार्यालयलाई पत्राचार गर्दै सिमरा विमानस्थलमा डिपोसहितको रिफ्युलिङ सुविधा उपलब्ध गराइदिन माग गरेको छ । बुद्ध एयरका अपरेसन विभाग प्रमुख सुवर्ण खरेलले सिमरा विमानस्थलमा रिफ्युलिङ सुविधा भए आगामी दिनमा जहाज उडान संख्यामा थप वृद्धि हुने बताए ।

‘रिफ्युलिङ सुविधा उपलब्ध भए मौजुदा टेकअफ र ल्याडिङ वेटको रेस्ट्रिक्सनको समस्या हट्नुका साथै पेलोड (बोक्न सक्ने क्षमता) को क्षमता पनि बढ्नेछ,’ बुद्ध एयरका वरिष्ठ प्रवन्धक रुपेश जोशीले भने, ‘रिफ्युलिङ स्टेसनको अभावमा टेक अफ, ल्याण्डिङ वेट रिस्ट्रिक्सन र पेलोडको समस्या आन्तरिक विमान कम्पनीहरुले व्यहोर्न बाध्य भएका छन् ।’

उनका अनुसार रिफ्युलिङ सुविधा भएको अवस्थामा जहाजले पूर्ण क्षमतामा यात्रु र लगेज बोक्न सहज हुन्छ ।

अहिले बढी चल्ने विमानस्थलहरुमध्ये सिमरा र भरतपुरमा यस्तो सुविधा नहुँदा विमान कम्पनीहरुले काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा इन्धन बोकेर काठमाडौंबाट सिमरा, सिमराबाट काठमाडौं ओहोरदोहोर गर्दै आएका छन् । भरतपुर विमानस्थलमा उडान भर्दै आएको विमान कम्पनीले काठमाडौंमै हवाई इन्धन भर्नुपर्ने बाध्यता छ ।

सिमरा नागरिक उडड्यन कार्यालयका प्रमुख सूर्यबहादुर खत्रीका अनुसार सिमरा विमानस्थलमा अहिले यान्त्रिक उडान विधि (आईएफआर) अनुसार रात्रिकालीन उडानको समेत व्यवस्था छ । यही सुविधाअनुसार रात्रिकालीन उडान भइरहेका छन् ।

यो विमानस्थलबाट बुद्धको दैनिक ७ र यति एयरलाइन्सको २ गरी अहिले ९ वटा उडान भइरहेका छन् । क्षेत्रीय सम्पर्कको रुपमा रहेको यो विमानस्थलबाट आगामी दिनमा अझै व्यावसायिक उडान थपिने हुँदा रिफ्युलिङ सुविधा उपलब्ध गराइदिन खत्रीले नेपाल आयल निगमको अमलेखगन्जस्थित क्षेत्रीय डिपोलाई गत शुक्रबार पत्राचार गरेका हुन् ।

खत्रीले हवाई इन्धनको डिपो र रिफ्युलिङ सुविधा उपलब्ध नभएको अवस्थामा तत्कालका लागि सिमरा विमानस्थलमा विहान ६ वजेदेखि साँझ ६ बजेसम्मको लागि हवाई इन्धन बोकेको ट्यांकर परिचालन गरी रिफ्युलिङ सुविधा उपलब्ध गराइदिन विकल्पको रुपमा माग अघि सारेका छन् ।

भरतपुर विमानस्थलका प्रमुख दिपक विकले पनि हवाई इन्धनसहितको डिपो र रिफ्युलिङ सुविधा विमानस्थलमा नहुँदा विमान कम्पनीहरुले प्राविधिक समस्या व्यहोर्नुपरेको बताए । ‘हामीले दीर्घकालीन रुपमा समस्या समाधानका लागि नेपाल आयल निगमलाई धेरै पटक पत्राचार गरेका छौं तर अहिलेसम्म समस्या समाधान भएको छैन,’ उनले भने । भरतपुर विमानस्थलमा बुद्ध एयरले दैनिक ८ देखि १० वटा उडान भर्दै आएको छ ।

अमलेखगन्जस्थित नेपाल आयल निगमको प्रादेशिक कार्यालयका प्रमुख विनितमणि उपाध्यायले सिमरा विमानस्थलमा रिफ्युलिङ सुविधाका साथै विकल्पको रुपमा हवाई इन्धनसहितको ट्यांकर परिचालन गर्ने विषयमा विभिन्न निकायबाट आएको मागको बारेमा निगमको केन्द्रीय कार्यालयलाई जानकारी गराइसकेको बताए ।

‘विमानस्थलमा रिफ्युलिङ सुविधा नहुँदा विमान कम्पनीहरुलाई कठिनाइ भएको हामीले पनि महसुस गरेका छौं,’ उनले भने, ‘विभिन्न क्षेत्रबाट आएको मागक विषयमा केन्द्रीय कार्यालयलाई जानकारी गराइसकेका छौं ।’

नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुरले विमान उडानको आधारमा बढी चाप देखिने विमानस्थलमा हवाई इन्धन डिपोसहित रिफ्युलिङ स्टेसन निर्माण गर्न माग आइरहेको जानकारी दिए । ‘माग आउँदैमा सबै स्थानमा यस्तो सुविधा उपलब्ध गराउन सकिँदैन,’ उनले भने, ‘जहाजको उडानको चाप, व्यापारको अवस्था र निगमको क्षमताको आधारमा मात्रै डिपोसहित रिफ्युलिङ स्टेसन निर्माण हुन्छ ।’

मागको बारेमा निगमको माथिल्लो निकायलाई जानकारी गराइसकिएको उनले बताए । ‘भरतपुर, सिमरा तथा जुम्ला विमानस्थलमा हवाई इन्धनको डिपोसहित रिफ्युलिङ स्टेसन निर्माण गर्ने विषय चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गरिएको छ,’ उनले भने, ‘यसै आर्थिक वर्षमा माग भएका विमानस्थलमा डिपो स्टेसन निर्माण गर्न अध्ययन प्रतिवेदनको सुझावका आधारमा आवश्यक गृहकार्य अघि बढाइनेछ ।’

आन्तरिक विमानस्थलहरुमध्ये जनकपुर, दाङ र झापाको चारआलीमा गत वर्ष हवाई इन्धनको डिपोसहित रिफ्युलिङ स्टेसन निर्माण भएको निगमले जनाएको छ । आन्तरिक जहाजहरुले खपत गर्ने हवाई इन्धन मासिक रुपमा १५ हजार किलोलिटरको हाराहारीमा बिक्री हुँदै आएको छ ।

हाल कोशी प्रदेशमा १२, मधेसमा ३, बागमतीमा ६, गण्डकीमा ५, लुम्बिनीमा ५, कर्णालीमा ९ र सुदूरपश्चिममा ९ वटा विमानस्थल छन् ।


राजेश बर्मा