डेढ दशकमा बेलायतले नेपाललाई दियो डेढ खर्ब



काठमाडौं । नेपालमा बेलायतले पछिल्लो ११ वर्षमा करिब डेढ खर्ब रुपैयाँ लगानी गरेको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७७/७८ सम्मको ११ वर्षमा बेलायतले नेपालमा १ अर्ब २२ करोड ३६ लाख अमेरिकी डलर लगानी गरेको छ ।

नेपाल बेलायत दौत्य सम्बन्ध स्थापना भएको भने एक शताब्दी पुगेको छ । नेपाल र बेलायतबीच सन् १९२३ मा सन्धी हस्ताक्षर भएको थियो । उक्त सन्धीमा हस्ताक्षर गरेको १०० वर्ष पुगेको अवसरमा बेलायतका पनि नेपाली दूतावासले भर्खरै सिटी अफ लण्डनको म्यान्सन हाउसमा एक उच्चस्तरीय लगानी सम्मेलन आयोजना गर्यो ।

नेपाल र बेलायतबीचको लगानी प्रवर्द्धन र संरक्षणसम्बन्धी सम्झौता सन् १९९३ मार्च २ मा भएको थियो । नेपाल-बेलायत च्याम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीलाइ २ देशबीचकाे व्यापार तथा लगानी प्रवर्द्धन गर्न सक्रिय संस्था बनाउने उद्देश्यले पनि उक्त सन्धीमा हस्ताक्षर भएको थियो ।

नेपाल र बेलायतबीच बढ्दै गएको दौत्य सम्बन्धसँगै नेपालमा लगानी भने अपेक्षा अनुसार बढ्न सकेको छैन । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार नेपालमा आउने लगानीको सबैभन्दा ठूलो हिस्सा अनुदान छ ।

यो देशबाट भइरहेको दुइपक्षीय सम्झौता अनुसारको ऋण लगानी भने कम छ । अहिले पनि उक्त देशबाट आएको कुल लगानीको आधाभन्दा ठूलो हिस्सा अनुदानकै रहेको पनि सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको भनाइ छ ।

नेपालमा आएको बेलायती लगानीमध्ये सबैभन्दा बढी आर्थिक वर्ष २०७१/७२ मा थियो । उक्त वर्ष नेपालमा १८ करोड ८० लाख अमेरिकी डलर भित्रिएको छ । त्यसपछि आर्थिक वर्ष २०७०/७१ मा पनि १५ करोड ११ लाख डलर लगानी नेपाल आएको तथ्यांकले देखाएको छ ।

तथ्यांक अनुसार २०७७/७८ मा भने जम्मा ८ करोड ३९ लाख मात्रै लगानी आएको छ । कोरोना महामारीपछिको वर्ष विदेशी लगानी आउन सक्ने अवस्था नभएकोले पनि उक्त वर्ष नेपालमा लगानी घटेको बुझाइ अर्थ मन्त्रालयको छ ।

अर्थ मन्त्रालयका अनुसार कोरोना महामारीकै कारण आर्थिक वर्ष २०७६/७७ मा पनि ९ करोड ५२ लाख डलर मात्रै विदेशी लगानी आएको छ । त्यसअघिसम्म बार्षिक ११ करोड ७२ लाख डलर लगानी नेपालमा आएको थियो ।


क्लिकमान्डु