दौत्य सम्बन्ध कायम भएको १०० वर्षपछि बेलायतले नर्स लैजाने कार्य अन्तिम चरणमा



काठमाडौं । नेपालले दौत्य सम्बन्ध कायम गरेको पहिलो देश बेलायतले सय वर्षपछि नर्स लैजाने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बेलायती सरकारसँग २०७९ भदौ ६ गते श्रम सम्झौता गरेको थियो । बेलायतमा नेपाली नर्स र स्वास्थ्य क्षेत्रमा कामदार पठाउनेबारे दुई देशबीच हस्ताक्षर भएको हो ।

नेपालबाट बेलायतमा गोर्खाज् अर्थात् ब्रिटिस आर्मीमा जाने इतिहास धेरै लामो भए पनि अन्य रोजगारीका लागि भने अवसर खुला गरिएको थिएन । बेलायत र नेपालबीचको कूटनीतिक सम्बन्ध हेर्ने हो भने सन् १८१६ मा कायम भएको पाइन्छ । तर, दौत्य सम्बन्ध भने सन् १९२३ मा कायम भएको हो ।

सन् १८१५ देखि हालसम्म २ लाख ७० हजार नेपाली गोर्खाज् ब्रिटिस आर्मीमा भर्ती भएका छन् । तत्काल ४ हजार बेलायती गोर्खामा काम गरिरहेका छन् । सरकारले गत वर्षमा नर्सका लागि रोजगारी खुला गरेसँगै स्वास्थ्य क्षेत्रमा रोजगारीका लागि जाने बाटो खुलेको छ ।

रोजगारीको बाटो खुला नगरे पनि विभिन्न तवरबाट बेलायत पुग्नेहरुको भने कमी छैन । गत आर्थिक वर्षमा मात्रै नेपालबाट २ हजार २६४ जना नेपाली रोजगारीका लागि बेलायत पुगेको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाउँछ । आर्थिक वर्ष २०७८/७९ मा नेपालबाट २ हजार ८१४ जना बेलायत पुगेका थिए ।

नेपाल र बेलायतबीच जीटूजी (सरकार-सरकारबीचको समझदारी) गरी श्रमिक लैजाने अन्तिम चरणमा पुगेको छ । सरकारले आवेदन खुला गरेर छनौटको तयारी गरिरहेको छ । श्रम मन्त्रालयले रोजगारीका लागि बेलायत जान मागभन्दा कम आवेदन परेको जनाएको छ । सरकारले एक सय नर्स लैजान आवेदन माग गरेको थियो तर ७५ जनाको मात्रै आवेदन योग्य भएको हो ।

आवेदनका लागि ७७१ जनाले आवेदन फाराम भरेका थिए । त्यसमध्ये ७५ जनाले मात्रै मापदण्डअनुसारको कागजात पेस गरेका छन् । मन्त्रालयका सहायक प्रवक्ता डम्बरबहादुर सुनुवारले बेलायत रोजगारीका लागि धेरैले आवेदन दिए पनि मापदण्ड पूरा गर्नेको संख्या निकै न्यून छ । उनका अनुसार सरकारले माग गरेको आवेदनको संख्या नै पुगेको छैन ।

‘बेलायत रोजगारीका लागि कतिपयले आफ्नो नामबाहेक अन्य विवरण नै पेस नगरेको पाइएको छ । त्यसमा अधिकांश बेलायत सरकारले माग गरेअनुसारको योग्यताको अपुग देखिन्छ,’ उनले भने ।

सरकारले गत जुलाई २० तारिखममा आवेदन माग गरेको थियो । सरकारले तीन महिना लामो समय राखेर आवेदन माग गरे पनि योग्य नर्सको संख्या निकै न्यून पाइएको हो । सरकारले गत जुलाई २१ मा आवेदन खुला गरेको थियो भने अक्टोबर २१ मा आवेदन भर्ने म्याद बन्द गरेको छ ।  सरकारले तोकेको अवधिमा माग गरेको संख्या नपुग भएपछि के गर्ने भन्नेमा मन्त्रालयले केही निर्णय भने गरेको छैन । 

बेलायत सरकारले आवेदनका लागि कम्तीमा दुई वर्षको कार्य अनुभव भएको हुनेपर्ने जनाएको छ । साथै, अंग्रेजी भाषा परीक्षाको प्रमाणपत्र पेश गर्नुपर्ने व्यवस्था गरेको छ । अंग्रेजी भाषा परीक्षा अक्युपेसनल इङ्लिस टेस्टमा बी ल्याउनुपर्नेछ । त्यस्तै, इन्टरनेसनल इङ्लिस ल्याङ्वेज टेस्टिङ सिस्टम (आईईएलटीएस) मा ७ अंक ल्याउनुपर्नेछ ।

समझदारीमा बेलायत जान इच्छुक नर्सहरूले आईईएलटीएसमा राइटिङमा ६.५ र रिडिङ, लिस्निङ र स्पिकिङमा ७ अंक ल्याउनुपर्ने मापदण्ड छ । तर, उक्त मापदण्ड पूरा गर्ने नर्स नेपालमा कम हुँदा आवेदन निकै कम परेको मन्त्रालयको बुझाइ छ ।

समझदारीअनुसार नेपालका नर्सहरु छनौट भई बेलायत गएमा सुरुमा असिस्टेन्ट (सहायक) का रूपमा काम गर्नेछन् । त्यसपछि बेलायतको नर्सिङ काउन्सिलमा दर्ता हुने अवसर पाउनेछन् । तर, सहायकका रुपमा काम गरे पनि बेलायत सरकारले तोकेअनुसारको पारिश्रमिक दिनेछन् ।

सम्झौता गरेअनुसार बेलायतमा काम गर्न जाने नर्सहरूले न्यूनतम मासिक तलब  २ हजार ३६७ पाउन्ड पाउनेछन् । उक्त तलबको हिसाब गर्ने हो भने नेपाली नर्सहरुले बेलायतमा वार्षिक २८ हजार ४०४ पाउन्ड (४५ लाख ७७ हजार भन्दा बढी) हुनेछ । शून्य लागतमा जान पाउने नेपाली नर्सहरू बेलायतमा पाँच वर्ष काम गर्न पाउनेछन् ।

समझदारी पत्रमा स्वास्थ्यकर्मी छनोट, पदस्थापना नेपालको वैदेशिक रोजगार विभाग र बेलायतको डिमार्टमेन्ट अफ हेल्थ एन्ड सोसियल केयर वा तोकिएको निकायको प्रत्यक्ष संलग्नतामा सरकारी (गभर्मेन्ट टु गभर्मेन्ट) प्रक्रिया अगाडि बढाइएको हो ।

त्यसैगरी, नेपाली स्वास्थ्यकर्मीलाई बेलायतको स्वास्थ्य सेवा (एनएचए) मा सुरक्षित, मर्यादित र व्यवस्थित तवरले रोजगारीमा संलग्न हुने व्यवस्था मिलाएको छ । बेलायत जाने स्वास्थ्य जनशक्तिले नर्सिङ काउन्सिलबाट अनुमतिपत्र लिनुपर्ने, पाँच वर्षसम्म काम गरेपछि अनिवार्य स्वदेश फर्किनुपर्ने र आईईएलटीएस अनिवार्य गरेको छ ।


क्लिकमान्डु