नेपाल-बेलायत दौत्य सम्बन्धको एक शताब्दी: पर्यटक आगमन अपेक्षित भएन

१५ वर्षमा भित्रिए ७ लाख २३ हजार बेलायती पर्यटक



काठमाडौं । एक शताब्दीमा नेपालले बेलायतबाट धेरै पर्यटक ल्याउन सक्नु पर्ने हाे तर बेलायतबाट पछिल्लो १५ वर्षमा ७ लाख २३ हजार ४७० जना मात्र पर्यटक नेपाल भित्रिएका छन् ।

नेपाल बेलायत दौत्य सम्बन्ध स्थापना भएको एक शताब्दी पुगेकोसँगै दुई देशबीचको सम्बन्ध थप प्रगाढ बन्दै गएको छ । नेपालीको बेलायत आकर्षण र बेलायती पर्यटकको नेपाल भ्रमण दुबै बढ्दै गएको छ । तर नेपालले पर्यटन प्रचार प्रसार गर्न नसकेका कारण अपेक्षितरुपमा बेलायती पर्यटकको संख्या बढ्न सकेकाे छैन ।

अध्यागमन विभागको तथ्यांक अनुसार नेपालमा सन् २००९ देखि २०२३ को अक्टोबरसम्ममा सवा सात लाख पर्यटक आएकाे देखिन्छ । सन् २०१५ बाहेक अन्य वर्ष पर्यटक आगमन औसत देखिएको छ । सन् २०१५ मा भने एकैवर्ष २ लाख ४४ हजार बेलायती पर्यटक नेपाल भित्रिएका थिए ।

तर कोभिड महामारीपछि नेपालमा बेलायती पर्यटकको संख्या पनि ओरालो लागेको छ । सन् २०१९ मा ६१ हजार पर्यटक भित्रिएका थिए । त्यसपछिको वर्ष सन् २०२० मा महामारीको असरका कारण जम्मा ११ हजार ७ सयमात्र बेलायती पर्यटक आएका थिए । नेपाली दूतावासले भने भ्रमण वर्ष २०२० मा बेलायतबाट एक लाख पर्यटक पठाउने घोषणा गरेको थियाे । तर काेराेनाका कारण नेपाल भ्रमण वर्ष २०२० स्थगित भएकाे थियाे ।

सन् २०२१ मा ८ हजारमा झरेको बेलायतीकोे नेपाल आगमन २०२२ मा ४५ हजार पुगेको थियो । सन् २०२३ को पछिल्लो १० महिनासम्मको तथ्यांक अनुसार नेपालमा जम्मा ८ हजार बेलायती पर्यटक आएका छन् ।

तथ्यांक अनुसार नेपालमा बेलायती पर्यटकको संख्या पुनः घट्न थालेको छ । गत वर्ष ४५ हजार बेलायती पर्यटक आएकोमा यो वर्षको १० महिनामा जम्मा ८ हजार मात्रै आएको देखिन्छ ।

नेपालमा पछिल्लो समय बेलायती पर्यटक कम हुनुको कारण विश्वव्यापी मन्दीको प्रभाव हुन पुगेको नेपाल पर्वतारोहण संघका महासचिव तथा मकालु एड्भेन्चरका प्रबन्ध निर्देशक मोहन लम्सालले बताए । उनले भने ‘नेपालमा बेलायती ट्रेकिङका लागि आउँछन् । उनीहरूको रुची कल्चरल टुरमा भन्दा साहसिक पदयादामा नै बढी हुने गरेको छ ।’

उनीहरूले गर्ने खर्च पनि अन्य देशका तुलनामा औषत नै हुने गर्छ । पर्यटक जति बढ्यो उति अर्थतन्त्रलाई राम्रो गर्ने हुँदा बेलायती पनि बढ्दै गएका थिए । तर पछिल्लो समय आर्थिक मन्दीकै कारण बेलायतीलाई समेत प्रभाव पारेको देखिएको छ।

यस अघि सन् २०१५ मा भने नेपालमा एकैवर्ष २ लाख ४ हजार पर्यटक आएका थिए । त्यतिबेला नेपालले बीबीसीमा प्रचार गरेको कारण पर्यटक बढेको थियो । ‘नेपालले त्यतिबेला गरेको प्रचारका कारण बढेको पर्यटक सख्या प्रचार नगरेको वर्ष भने तुलनात्मक रुपमा कम भएको पनि लम्सालको भनाइ छ ।’

पर्यटक आगमन बढाउन प्रवद्र्धन नै महत्वपूर्ण हुने भएकोले जति धेरै अन्तर्राष्ट्रिय जगतमा नेपालको प्रचार गर्न सक्यो उति नै धेरै पर्यटक बढाउन सकिन्छ भन्ने उदाहरण बेलायतबाटै लिन सकिने तर्क पनि लम्सालको छ ।


क्लिकमान्डु