सुन काण्डपछि भन्सारमा जाने उपसचिव भेटिएनन्, अर्थले गर्‍यो कर कार्यालयमा मात्रै कर्मचारी हेरफेर



काठमाडौं । अर्थ मन्त्रालयलाई भन्सार विभाग र अन्तर्गतका कार्यालयका कर्मचारी व्यवस्थापन गर्न कठिन भएको छ । बुधबार अर्थ मन्त्रालयले ५५ जना उपसचिवको सरुवा गर्दा भन्सार विभाग र अन्तर्गतका कार्यालयमा भने कर्मचारी हेरफेर गर्न सकेनन् ।

बुधबार सरुवा भएको ५५ जना मध्ये १ जना उपसचिव भन्सारबाट आन्तरिक राजस्व कार्यालयमा सरुवाहुँदा अर्थ मन्त्रालयबाट एक जना कर्मचारीमात्रै भन्सार विभाग गएका छन् ।

बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा रहेका यमराज पाण्डेलाई आन्तरिक राजस्व कार्यालय कालिमाटीको प्रमुखमा सरुवा गरिएको छ । यस्तै, अर्थ मन्त्रालयबाट उमेश श्रेष्ठलाई भन्सार विभागमा लगिएको छ ।

जबकी, भन्सार विभाग र अन्तर्गतको कार्यालयमा २ वर्ष पुगेर सरुवाको तयारीमा रहेको कर्मचारी सूची लामै थियो । सामान्य तया अर्थ मन्त्रालयले उपसचिव र अधिकृतको सरुवा २ वर्ष पुगेपछि गर्ने गर्छ ।

अर्थ मन्त्रालयले केही दिनपछि भन्सार कार्यालयमा कार्यरत उपसचिवको सरुवा गर्नेछ ।

अर्थ मन्त्रालयमा राजस्व समुहको अधिकृत र उपसचिव कार्यारत हुन्छन् । राजस्व समुहका कर्मचारीलाई भन्सार वा कर कार्यालयमा जिम्मेवारी दिन सकिन्छ ।

विगतमा अर्थ मन्त्रालयले भन्सार र आन्तरिक राजस्व विभागका कर्मचारीको एकै साथ सरुवा गर्ने गरेको थियो ।

यसपटक पनि अर्थ मन्त्रालयले दुबै विभागका कर्मचारी हेरफेर गर्न चाहेको थियो ।

तर, भन्सार कार्यालयबाट बाहिर जाने खोज्ने धेरै र आउन खोज्ने कर्मचारी कोही पनि नहुँदा अर्थ मन्त्रालयले पहिलोपटक आन्तरिक राजस्व विभाग मातहतका कार्यालयमा मात्रै उपसचिव सरुवा गरेको अर्थ मन्त्रालयका एक अधिकारी बताउँछन् ।

‘विगतमा कर र भन्सारमा काम गर्ने कर्मचारीलाई एक साथ सरुवा गर्ने गरिन्थ्यो । तर यसपटक भन्सारमा जान खोज्ने कर्मचारी भेटिएनन्,’ अर्थ मन्त्रालयका उच्च अधिकारीले भने,‘सबै भन्सार कार्यालयभन्दा पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालय जाने खोज्ने कर्मचारी नहुँदा भन्सारका उपसचिवको सरुवा रोकिएको हो ।’

विभिन्न प्रदेशमा कार्यरत राजस्व समुहका उपसचिवले कर कार्यालय, आन्तरिक राजस्व विभाग र अर्थ मन्त्रालयको जुनसुकै महाशाखामा सरुवा गरे पनि भन्सारमा सरुवा नगर्न माग गरेपछी पनि भन्सार समुहको सरुवा रोकिएको अर्थ मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

‘एयरपोर्टबाट हटाइदिनुस् भनेर दिनहुँ कर्मचारीहरु मन्त्रालय आउने गर्छन्,’ अर्थ मन्त्रालयका एक अधिकृतले भने,‘एयरपोर्ट जान्छु भन्ने कोही सुनिएको छैन । काम नभएको कार्यालयमा जान्छु तर एयरपोर्टमा जान्न भन्ने कर्मचारी धेरै भए ।’


क्लिकमान्डु