सुन तस्करी प्रकरण- विनाकारण दुःख दिइएको भन्दै विमानस्थल भन्सारका १३७ कर्मचारीले मागे सरुवा



काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा कार्यरत् १३७ कर्मचारीहरूले काम गर्ने वातावरण नभएको भन्दै सामूहिक सरुवा मागेका छन् ।

भन्सार विभागका महानिर्देशकसमक्ष भन्सार अधिकृतदेखि कार्यालय सहयोगीसम्मका १३७ कर्मचारीले सरुवा मागेका हुन् । पछिल्लो समयमा ६० किलो सुन बरामदको घटनापश्चात विभिन्न निकायबाट गरिएका अनुसन्धान तथा छानबिनको बहानामा विभिन्न निकायहरूबाट आफूहरूलाई विनाकारण दु:ख दिने तथा मानसिक रूपमा क्षतविक्षत् बनाएकाले कार्यालयमा रही कामकाज गर्न कठिनाई महसुस भएको उनीहरूको गुनासो छ ।

भन्सार कार्यालयका कर्मचारीहरुले निरन्तर रुपमा आफ्नो कर्तव्य निर्वाह गर्ने शिलशिलामा रात दिन नभनी २४ सै घण्टा सार्वजनिक विदाका दिनहरुमा समेत कुनै अतिरिक्त सेवा सुविधा नलिई प्रचलित कानुन बमोजिम नियमित रुपमा कामकाजमा खटिएको भए पनि कामकाजको शिलशिलामा भन्सार राजस्व उठाउँदा यात्रु शाखामा यात्रुबाट हुने दुर्व्यवहार र अपशब्द भोग्नु परेको उनीहरुको गुनासो छ ।

ब्रेक सुमा लुकाएर सुन तस्करी गरिएको प्रकरणपछि आफूहरुलाई बिनाकारण दुख दिइएको उनीहरुको आरोप छ ।
‘पछिल्लो परिवेशमा सिर्जित लगभग ६० किलो सुन भन्सार चोरी / छली जाँचपास भएको भन्ने घटनाक्रम पश्चात् विभिन्न निकायबाट गरिएका अनुसन्धान तथा छानबिनको बहानामा विभिन्न निकायहरुबाट हामीहरुलाई विनाकारण दुःख दिने तथा मानसिक रुपमा क्षतविक्षत बनाउने कार्यले कार्यालयमा रही कामकाज गर्न कठिनाई भएको महसुस भएको छ’ पत्रमा भनिएको छ ।

कर्तव्य पालनको शिलशिलामा खटिएका कर्मचारीहरुमाथि अनावश्यक रुपमा धरपकड गर्ने, प्रमाणबिना थुनामा राख्ने, संलग्नता भएको यथेष्ट प्रमाण नहुँदा नहुँदै समेत पक्राउ गरी दुःख दिने नियत देखिएको भन्दै उनीहरुले कार्यालयमा उपस्थित भई तोकिएको कार्यजिम्मेवारी पुरा गर्न आफूहरुमा व्यक्तिगत, मनोवैज्ञानिक त्रास उत्पन्न भएको उल्लेख गरेका छन् ।

‘स्वयं हामी तथा हाम्रा घर, परिवार कुन मानसिक तनाबबाट गुज्रिरहेका छौं त्यो कसैले कल्पना गर्न सक्दैन । विनाकारण भोग्नुपरेको मानसिक तनावका कारण घर परिवार तथा समाजबाट समेत बहिष्कार हुने स्थिति सिर्जना भएको छ’ पत्रमा भनिएको छ ।


क्लिकमान्डु