ऐनविपरीत ३ कम्पनीमा राष्ट्र बैंकको लगानी



काठमाडौं । अरुलाई ऐन कानून कार्यान्वयन गराउने नियामक निकाय (नेपाल राष्ट्र बैंक) आफैंले भने आफ्नै ऐनको उल्लंघन गर्दै विभिन्न संस्थामा लगानी गरेको पाइएको छ ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ७ (२)मा राष्ट्र बैंकले आफ्नो काम कारबाही वा दायित्व पुरा गर्न सहयोग हुने काम गर्ने संस्थालाई कुल पुँजीको १० प्रतिशत ननाघ्ने गरि ऋण दिन गर्ने वा सेयर प्राप्त गर्न सक्ने व्यवस्था छ ।

राष्ट्र बैंकले हाल ८ संस्थामा लगानी गरेको छ । जसमध्ये केही संस्थाहरुमा ऐनविपरित १० प्रतिशतभन्दा धेरै लगानी भएको समेत पाइएको छ । राष्ट्र बैंकले कुनै कम्पनीमा त ६२.५० प्रतिशतसम्मको लगानी गरेको छ ।

आर्थिक वर्ष २०७९/८० सम्ममा बैंकले विभिन्न ८ कम्पनीमा लगानी गरेको छ । बैंकको वित्तिय व्यवस्थापन विभागकाअनुसार विभिन्न संस्थाहरुमा भएको लगानीलाई मापदण्डअनुसार नै घटाउँदै लगिएको छ । तर, पनि हाल समेत ऐनमा उल्लेख भएविपरित राष्ट्र बैंकले विभिन्न तीन कम्पनीमा भने १० प्रतिशतभन्दा धेरै लगानी गरेको छ ।

कुन संस्था कति लगानी ?

ऐनविपरित राष्ट्र बैंक राष्ट्रिय बिमा संस्थान, राष्ट्रिय उत्पादकत्व र आर्थिक विकास केन्द्र लिमिटेड र कृषि आयोजना सेवा केन्द्र लिमिडेटमा लगानी गरेको पाइएको छ । राष्ट्र बैंक ऐनमा कुनै कम्पनीको चुक्ता पुँजीको १० प्रतिशतमात्रै राष्ट्र बैंकले लगानी गर्न पाउने व्यवस्था छ ।

तर, राष्ट्र बैंकले राष्ट्रिय विमा संस्थानमा ५५.५६ प्रतिशत लगानी गरेको छ । संस्थानका कुल सेयरमध्ये १ लाख ५ हजार ६६६ कित्ता सेयर राष्ट्र बैंकको स्वामित्वमा रहेको छ । बिमा संस्थानमा आव २०७९/८० मा हेर्दा राष्ट्र बैंकको सुरुवाती लगानी १ करोड रुपैयाँ रहेको छ । कुल १८ करोढ १० लाख रुपैयाँको पुँजी भएको कम्पनीमा राष्ट्र बैंकको हालको सेयरको मूल्य १० करोड रुपैयाँ रहेको छ ।

त्यस्तै, राष्ट्र बैंकले ऐनमा भएको व्यवस्थाविपरित लगानी गरेको अर्को संस्था राष्ट्रिय उत्पादकत्व र आर्थिक विकास केन्द्र हो । राष्ट्र बैंकले यस संस्थामा कुल पुँजीको ३१.५२ प्रतिशत लगानी गरेको छ । राष्ट्र बैंकका अनुसार २५ लाख रुपैयाँ सुरुवाती लगानी यस संस्थामा गरिएको छ । तर, उक्त संस्थामा राष्ट्र बैंकको के कति सेयर स्वामित्व छ भन्ने कुरा भने छैन ।

त्यस्तै, ऐन विपरित नै लगानी भएको अर्को संस्था हो कृषि परियोजना सेवा केन्द्र लिमिटेड । यस संस्थामा राष्ट्र बैंकले ६२.५० प्रतिशत लगानी गरेको छ । उक्त संस्थामा राष्ट्र बैंकले सुरुवातमा ५० लाख रुपैयाँ लगानी गरेको थियो । यस संस्थामा पनि राष्ट्र बैंकको कति सेयर स्वामित्व छ भन्ने कुरा खुलाइएको छैन ।

ऐनविपरित १० प्रतिशत लगानीभन्दा धेरै लगानी भएका यी संस्थाबाहेक अन्य ५ संस्थाहरुमा पनि लगानी गरेको छ ।

राष्ट्र बैंकको नेपाल क्लियरिङ हाउस लिमिटेडमा १० प्रतिशत अर्थात् ७ लाख ८३ हजार ३७५ कित्ता सेयर स्वामित्व छ । सुरुवातमा राष्ट्र बैंकले १ करोड ५० लाख रुपैयाँ यस कम्पनीमा लगानी गरेको भए पनि अहिले लगानी वृद्धि भएर ७ करोड ८३ लाख रुपैयाँ पुगेको छ । नेपाल क्लियरिङ हाउसको हालको पुँजी ७८ करोड ३३ लाख रुपैयाँ छ ।

त्यस्तै, नेपाल बैंकिङ इन्स्टीच्युटमा पनि राष्ट्र बैंकको ९.५० प्रतिशत अर्थात् ४७ हजार ५०१ कित्ता सेयरको स्वामित्व छ । २०७८/७९ मा उक्त संस्थामा नेपाल राष्ट्र बैंकको लगानी १५.२९ प्रतिशत थियो । तत्कालिन समयमा ७६ हजार ४५२ कित्ता सेयर स्वामित्व रहेको राष्ट्र बैंकले उक्त लगानीलई कम गर्दै हाल नेपाल बैंकिङ इन्स्टिच्युटमा ९.५० प्रतिशत मात्रै लगानी गरेको छ ।

त्यस्तै, कर्जा सुचना केन्द्रमा राष्ट्र बैंकको ९.५० प्रतिशत अर्थात् ४ लाख १४ हजार २८७ कित्ता स्वामित्व रहेको छ । उक्त संस्थामा पनि राष्ट्र बैंकले आफ्नो लगानीलाई कम गरेको छ । यसअघि आव २०७८/७९ मा कर्जा सूचना केन्द्रमा राष्ट्र बैंकको लगानी १०.०३ प्रतिशत थियो ।

निक्षेप तथा कर्जा सुरक्षण कोषमा राष्ट्र बैंकको लगानी १० प्रतिशत रहेको छ ।

त्यस्तै, राष्ट्र बैंकले नेपाल स्टक एक्स्चेन्जमा पनि ९.५० प्रतिशत लगानी गरेको छ । नेपाल स्टक एक्सचेन्जमा रहेको लगानी प्रतिशतलाई कम गर्दै लगेको छ ।

२०७८/७९ मा सो संस्थामा राष्ट्र बैंकको लगानी १४.५९ प्रतिशत थियो । हाल त्यसलाई घटाएर ९.५० प्रतिशत बनाइएको छ ।

राष्ट्र बैंकले कस्ता कम्पनीमा लगानी गर्न पाउँछ ?

राष्ट्र बैंकले जुनसुकै संस्थामा लगानी गर्न पाउँदैन । ऐनमै लगानी गर्न पाउने संस्था र लगानीको सीमा सम्बन्धि प्रष्ट व्यवस्था छ ।

राष्ट्र बैंक ऐन, २०५२ मा उल्लेख भएअनुसार सम्बन्धित संस्था भन्नाले वाणिज्य बैंक वा वित्तीय संस्थाको धितो मूल्यांकन, सञ्चालन र संरक्षण गर्ने, धितो पुनसंरचना गर्ने र हस्तान्तरण गर्ने, साख मूल्यांकन गर्ने, वित्तीय उपकरण मुद्रण गर्ने, भुक्तानीको क्लियरिङ्ग गर्ने, सम्पत्तिलाई तरल बनाउने, बैंक नोट वा सिक्का उत्पादन गर्ने, ट्रष्टिको रुपमा काम गर्नेजस्ता बैंकले तोकेका संस्थाहरु हुनुपर्छ ।

राष्ट्र बैंकको लगानी भएका सम्पूर्ण संस्थाहरु आफूसँग सम्बन्धित संस्था भएको भन्दै आएको छ । राष्ट्र बैंकको वित्तीय व्यवस्थापन विभागका निर्देशक मुकुन्दकुमार क्षेत्री यी संस्थाहरु राष्ट्र बैंकको दायित्व पुरा गर्नसँग सम्बन्धित संस्था भएको बताउँछन् ।

राष्ट्र बैंकले आफ्नो वार्षिक प्रतिवेदनमा भने कृषि परियोजना सेवा केन्द्रले कृषिसँग सम्बन्धित सुविधा दिने र राष्ट्रिय उत्पादकत्व र आर्थिक विकास केन्द्रले आर्थिक सामाजिक विषयमा अनुसन्धान र परामर्शलगायतका सेवा दिने भएकाले सम्बन्धित रहेको राष्ट्र बैंकले उल्लेख गरेको छ ।

तर, महालेखा परीक्षकको ६०औं वार्षिक प्रतिवेदनमा राष्ट्र बैंकले आफ्नो कामकारबाहीसँग असमन्धित ९ संस्थामा लगानी गरेको र जसमा पनि ९ मध्ये ६ संस्थामा १० प्रतिशतभन्दा धेरै लगानीको औंल्याएको थियो ।

हाल भने राष्ट्र बैंकले त्यसलाई घटाउँदै आएको छ । तर, कस्ता संस्था सम्बन्धित र राष्ट्र बैंको दायित्व पुरा गर्ने संस्था हुन र कस्ता होइनन् भन्ने कुरामा भने महालेखा र राष्ट्र बैंककै कुरा पनि बाझिएको देखिन्छ ।

क्षेत्रीका अनुसार ऐनविपरित लगानी रहेका संस्थाहरुबाट लगानी कम गर्दै जाने प्रक्रियामा छ राष्ट्र बैंक । बैंकले यसअघि २.७९९ प्रतिशत लगानी रहेको ग्रामिण विकास लघुवित्त वित्तिय संस्थामा रहेको आफ्नो स्वामित्वको २ लाख ७४ हजार ९८२ रुपैयाँको सेयर हाल बेचिसकेको छ ।

विगतको तुलनामा अहिले लगानीलाई कम गर्दै लगेको दृष्टान्त उल्लेख गर्दै क्षेत्रीले भने, ‘हामी अहिले भएको लगानीलाई पनि कम गर्दै लैजाने क्रममा छौं । अब केही कम्पनीमा मात्रै धेरै लगानी छ । यीनिहरुलाई पनि अब मिलाउँदै लैजाने काम भइरहेको छ ।’


युवराज भट्टराई