तातोपानी नाका स्थानीयका लागि मात्रै खुला, व्यावसायिक अवरोध कायमै



काठमाडौं । चीन सरकारले शुक्रबार बिहानदेखि तातोपानी नाका खुला गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणको पूर्वसन्ध्यामा सिन्धुपाल्चोकबासीका लागि नाका खुला गरिएको हो ।

चीन सरकारले तातोपानी नाकानजिक बसोबास गर्ने स्थानीय बासिन्दाको हकमा दैनिक रुपमा किनमेल गर्न दिन भनेर नाका खुला गरेको जनाएको छ । चीनको खासाबाट ठूलो परिमाणमा मालसामान खरिद गरी आयात गर्ने व्यापारीको हकमा भने नाका खुला भएको छैन । अर्थात् व्यवसायीको हकमा अवरोध कायमै छ ।

तातोपानी नाकादेखि ३० किलोमिटरको दूरी क्षेत्रभित्रका स्थानीय बासिन्दालाई दैनिक रुपमा किनमेल गर्न र घुम्न दिनका लागि मात्रै यो नाका खुला गरिएको हो । अध्यागमन कार्यालय कोदारीका प्रमुख रवीन्द्र पोखरेलका अनुसार सिन्धुपाल्चोकबासीको हकमा लागु हुने गरी तातोपानी मितेरी पुल पारिपट्टिको चिनियाँ क्षेत्र लिपिङ, रमिते र खासाका पसलमा दैनिक रुपमा किनमेल र घुम्न जान दिने गरी नाका खुला गरिएको छ ।

‘लिपिङ, रमिते र खासामा केही पसल छन्,’ पोखरेलले क्लिकमान्डुसँग भने,‘ती क्षेत्रमा दैनिक रुपमा किनमेल र घुमफिर गर्नका लागि सिन्धुपाल्चोकबासीका लागि मात्रै नाका खुला गरिएको हो । व्यावसायिक र व्यापारिक प्रयोजनका लागि खुला भएको छैन, विस्तारै त्यो पनि खुल्दै जाला ।’ काठमाडौंमा व्यापार व्यवसाय गर्दै आएका व्यापारी र नेपाली नम्बर प्लेटका सवारी साधनलाई चिनियाँ क्षेत्रमा जान पाउने व्यवस्था भने खुला नभएको उनले प्रस्ट गरे ।

पोखरेलका अनुसार शुक्रबार दिउँसो १२ बजेसम्म २५० स्थानीयको हकमा नीलो रंगको पास जारी गरिएको छ । शुक्रबार साँझसम्म थप संख्यामा पास जारी हुनेछ । तर, पास जारी भएको संख्यामध्ये जम्मा १२५ जनालाई मात्रै चिनियाँ क्षेत्रमा घरायसी सामान किनमेल गर्न अनुमति दिइने पोखरेलले जानकारी दिए ।

सीमा क्षेत्रबाट करिब ३० किलोमिटरको दूरीमा हिमाली बजार न्यालम पर्छ । लिपिङबाट न्यालमसम्म जान पाउने व्यवस्था पनि गरिएको छ ।

तातोपानीस्थित भन्सार कार्यालयका प्रमुख दयानन्द केसीले शुक्रबारदेखि अध्यागमन विभागले दैनिक रुपमा किनमेल गर्न र घुम्न जान दिने भनेर स्थानीय बासिन्दाको हकमा मात्रै यो नाका खुला गरिएको बताए ।

‘ठूला व्यापारीको हकमा भने अवरोध कायमै छ,’ केसीले भने, ‘नेपाली ठूला व्यापारीलाई खासा जान दिइएको छैन । व्यापारीलाई मालसामान छनौट गर्न पनि जान दिइएको छैन । नेपाली नम्बर प्लेटका सामान ढुवानी गर्ने ट्रक र कन्टेनरलाई पनि पारिपट्टि जान दिइएको छैन । पुरानो अवरोध कायमै छ ।’ उनका अनुसार अहिले तातोपानी नाकाबाट दैनिक ५ देखि ७ वटासम्म मात्रै कन्टेनरहरु आइरहेका छन् ।

नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष कुमार कार्कीले रसुवा नाकाजस्तै तातोपानी नाकामा पनि स्थानीय बासिन्दालाई मात्रै प्रवेश गर्न दिने गरी सिन्डिकेट कायम गरिएको बताए ।

‘जबसम्म नेपाली सवारी साधन र नेपाली ठूला व्यापारीलाई प्रवेश गर्न दिइँदैन, तबसम्म तातोपानी पूर्ण रुपमा सञ्चालनमा आएको भन्न सकिँदैन,’ उनले भने, ‘भूकम्पअघि जसरी नेपाली व्यापारी र सवारी साधन खासासम्म जान पाएका थिए, त्यसरी नै जान पाउनुपर्ने हामी व्यवसायीको माग हो । यो व्यवस्था नभएसम्म तातोपानी नाका खुल्नुभन्दा नखुलेकै राम्रो । तातोपानी नाकामार्फत कुनै व्यावसायिक कारोबार नै गर्न पाइँदैन भने खुल्नुको के अर्थ रह्यो ?’

२०७२ वैशाखमा गएको भूकम्पको समयदेखि तातोपानी नाका विभिन्न बहानामा पटक-पटक अवरुद्ध हुँदै आएको छ । कोभिड १९ को महामारीसँगै चीनले नेपालको हकमा ‘जिरो काभिड पोलिसी’को नीति अवलम्बन गरेपछि चीनबाट नेपालमा मालसामान आयात सहज रुपमा भएको छैन ।

भूकम्पका कारण मितेरी पुल र भौतिक पूर्वाधार भत्केको भन्दै चीनले झन्डै ४ वर्षपछि २०७६ जेठ १५ देखि पुनर्निर्माणपश्चात् तातोपानी नाका सञ्चालन गरेको थियो । नेपालीहरुको ठूलो पर्व दसैं आउनै लाग्दा पनि यो नाका पूर्ण रुपमा नखुल्दा व्यापारीलाई कठिनाइ भएको छ ।

चीनसँग वार्षिक २० अर्बभन्दा बढीको आयात र करिब तीन अर्ब मूल्यबराबरको निर्यात हुन्छ । यसको प्रमुख मार्ग तातोपानी नाका हो ।


राजेश बर्मा