क्वाँटी खाने गेडागुडी पनि विदेशबाटै, ५ वर्षमा झन्डै खर्बको आयात



काठमाडौं । जनै पूर्णिमाका दिन नेपालीले निक्कै स्वाद मानेर पोषिलो c खाने चलन छ । ९ प्रकारका गेडागुडी समिश्रण गरि क्वाँटी पकाउने चलन छ । क्वाँटीमा समिश्रण गरिने गेडागुडी पनि विभिन्न मुलुकबाट आयात गरि नेपालीले चाडपर्वको परम्परा धान्दै आएको पत्याउन गाह्रो होला । तर, वास्तविकता यहि हो ।

क्वाँटीमा समिश्रण गरिने सबै प्रकारका गेडागुडी भारतसहित तेस्रो मुलुकबाट नेपालमा आयात हुने गरेको तथ्यांकले देखाउँछ ।

क्वाँटीमा मास, भटमास, मुंगी, ठूलो केराउ, मस्याङ, चना, सिमी, टाटे सिमी र बोडी समिश्रण गरिएको हुन्छ । क्वाँटीमा मिसाइने कुनै पनि गेडागुडीमा नेपाल आत्मनिर्भर नभएकाले खपतको अधिकांश हिस्सा आयात नै गर्नुपर्छ । जनै पूर्णिमाको दिन क्वाँटीको रुपमा खाने चलन भएपनि पछिल्लो समयमा नेपालीको भान्छामा यो समिश्रण गरिएको खाद्य पदार्थ नियमितरुपमै पाक्न थालेको छ।

यसले गर्दा आयात दर पनि चुलिएको छ । चालु आर्थिक बर्षको पहिलो साउन महिनामा मात्रै १ अर्ब ३४ करोड ९९ लाख ५ हजार रुपैयाँबराबरको १४ हजार ३ सय ३६ टन विभिन्न प्रकारका गेडागुडी नेपालमा आयात भएको छ । आयातित यो परिमाणमा स्वदेशी उत्पादनको अंश मुस्किलले १ प्रतिशत पनि पुग्दैन । साउनमा भएको यो आयात दरले जनै पूर्णिमामा गेडागुडी समिश्रण गरि क्वाँटीको खपत कति हुन्छ भन्ने तथ्यलाई यसले उजागर गर्छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता शवनम शिवाकोटीले पनि जनै पूर्णिमाको दिन क्वाँटीको रुपमा खाइने विभिन्न गेडागुडीको उत्पादनमा नेपाल परनिर्भर रहेको जानकारी दिइन् ।

‘हामी कहाँ गेडागुडीको उत्पादन नहुने भन्ने होइन, तर जुन रुपमा खाने चलन सुरु भएको छ । त्यसको अनुपातमा हामी कहाँ उत्पादन हुन्न । निक्कै थोरै उत्पादन हुन्छ। त्यो उत्पादन प्रमुख बजारसम्म आउन नपाउँदै स्थानीय तहमै खपत भइसक्छ,’ शिवाकोटीले क्लिकमाण्डुसँग भनिन्, ‘जनै पूर्णिमासहित वर्षभर खपत हुने यस्ता गेडागुडी प्रायः बाहिरबाटै आउने हो ।’

भन्सार विभागको तथ्यांकअनुसार अघिल्लो आर्थिक बर्ष २०७९/८० मा १४ अर्ब ८ करोड ३८ लाख ६५ हजारको विभिन्न प्रकारको गेडागुडी नेपालमा आयात भएको थियो । आयात हुने यस्ता गेडागुडीमध्ये अधिकांश हिस्सा भने क्यानाडा, अष्ट्रेलिया र म्यानमारबाट आयात हुन्छ । विभागका सूचना अधिकारी पुण्यबिक्रम खड्काअनुसार यो तीन मुलुकबाहेक भारत, रुस, युक्रेन, अमेरिका, खाडी मुलुक, अर्जेन्टिना, चीन र टर्कीलगायतका मुलुकबाट पनि थोरथोरै परिमाणमा यस्ता गेडागुडी आयात हुन्छ ।

मूल्यको हिसावले हेर्ने हो भने पछिल्लो ५ बर्षको तथ्यांकअनुसार सबैभन्दा बढी आर्थिक बर्ष २०७७/७८ मा २१ अर्ब ६३ करोड ४९ लाख रुपैयाँबराबरको २ लाख ८६ हजार २ सय टन विभिन्न प्रकारको गेडागुडी आयात भएको देखिन्छ । परिमाणको हिसाबले सबैभन्दा बढी आर्थिक बर्ष २०७६/७७ मा १८ अर्ब १९ करोड ५० लाख ९९ हजार रुपैयाँबराबरको ३ लाख ३९ हजार ९ सय ११ टन आयात भएको थियो ।

खुद्रा व्यापार संघका महासचिव अमुलकाजी तुलाधरकाअनुसार जनै पूर्णिमाको दिन अधिकांश नेपालीको घरमा गेडागुडी मिसाएर क्वाँटी पकाउने चलन भएकाले यसको व्यापार उच्च हुने गरेको जानकारी दिए । मुख्यगरी ९ प्रकारको गेडागुडी मिसाएर क्वाँटी खाने चलन भएपनि पछिल्लो समयमा उपभोक्ताले आफै छनौट गरि थप प्रकारका गेडागुडी पनि मिसाएर खाने चलन बढ्दै गएको उनले बताए ।

‘परम्परागतरुपमा ९ प्रकारका गेडागुडी समिश्रण गर्ने भनिएपनि पछिल्लो समयमा उपभोक्ता आफैंले ९ प्रकार वाहेक थप ५-७ प्रकारका गेडागुडी अतिरिक्त खरिद गरि क्वाँटी पकाउने चलन बढेको छ,’ तुलाधरले भने, ‘पहिले त जनै पूर्णिमाको दिन अत्याधिक बिक्री हुन्थ्यो । तर, अहिले यस्ता गेडागुडी बाह्रै महिना बिक्री हुन्छ । प्रोटिनको मात्रा पर्याप्त मात्रामा पाइने हुनाले चिकित्सकले पनि मिश्रण गरिएको सन्तुलित गेडागुडी खान सुझाव दिन थालेपछि यसको बिक्री बाह्रै महिना हुन थालेको हो ।’

संघकाअनुसार बाह्रै महिना बिक्री भएपनि जनै पूर्णिमाको २-३ दिन पहिले यसको अत्याधिक माग र बिक्री हुन्छ । २-३ दिनको अवधिमा एउटा खुद्रा व्यापारीले कम्तिमा ३ हजारदेखि १९ हजार रुपैयाँसम्मको गेडागुडी बिक्री गर्दैआएका छन् ।

के हो क्वाँटी ?

क्वाँटी शब्द नेपाल भाषाको ‘क्वाती’ शब्दबाट आएको हो । नेपाल भाषामा ‘क्वा’ को अर्थ तातो र ‘ती’ को अर्थ झोल वा सुप भन्ने हुन्छ । क्वाँटी बनाउनुअघि गेडागुडीलाई टुसा उम्रिने गरी भिजाउनु पर्छ । टुसा उम्रिएको क्वाँटीमा पर्याप्त मात्रामा फाइबर पाइन्छ।

सन्तुलित रुपमा खानुपर्छः खाद्य विज्ञ

चाडपर्व छ भन्दै अचाक्ली परिमाणमा क्वाँटी सेवन गर्न नहुने खाद्य विज्ञको सुझाव छ । सन्तुलित परिमाणमा मात्रै सेवन गर्दा यसले फायदा गर्छ । असन्तुलित परिमाणमा आए यसले खति पनि गर्ने खाद्य बैज्ञानिक डा. दिलिप सुब्बाले जानकारी दिए । उनकाअनुसार गेडागुडीमा प्रोटिन निक्कै बढी परिमाणमा पाइने हुनाले ठिक्क मात्रामा मात्रै खानुपर्छ ।

‘एक दिनमै धेरैपटक खानु हुँदैन,’ सुब्बाले भने,‘आवश्यकताभन्दा बढी खाइयो भने शरीरमा प्रोटिनको मात्रा बढेर स्टोन र युरिक एसिड बढ्ने समस्या निम्तिन सक्छ । यस्तै यस्ता गेडागुडी पानीमा फुलाएर काँचो रुपमा पनि खानुहुन्न । यसमध्ये कतिपय गेडागुडीले नकारात्मक असर गर्ने भएकाले सकेसम्म काँचो नखाँदा अति उत्तम हुन्छ।’

गेडागुडीमा पाइने फाइबरले पाचन प्रणाली, मुटुरोग, मधुमेह, क्यान्सर र तौल घटाउन मद्दत पुर्याउँछ । क्वाँटीमा पाइने फाइबरले कब्जियत, पायल्स आदि समस्याबाट जोगाउन सहयोग गर्छ । क्वाँटीमा भिटामिन बी, सी, ई, क्याल्सियम, फोस्फोरसलगायतका खनिज पदार्थहरु प्रचुर मात्रामा पाइन्छ ।

३७ करोड धागो आयात, जनै कति ?

जनै पूर्णिमाको दिन हातमा बाँधिने धागो र जनैको अधिकांश हिस्सा पनि आयात भइरहेको पाइएको छ । तर, आयात हुने यस्ता धागो जनै र डोरोको लागि मात्रै प्रयोग भने नहुने विभागले जनाएको छ । जनैको लागि छु्ट्टै एचएस कोड नभएकाले यसको कति आयात हुन्छ भन्ने बिषयमा वास्तविक तथ्यांक फेला नपर्ने विभागका सूचना अधिकारी खड्काले जानकारी दिए ।

गत आर्थिक वर्ष २०७९/८० मा मात्रै ३७ करोड ७१ लाख बराबरको धागो आयात भएको छ । तर आयात भएको सबै धागो जनै तथा डोरोका लागि मात्र प्रयोग भने नहुने विभागको भनाइ छ ।


राजेश बर्मा