सुन तस्करी प्रकरण: अध्यागमन विभागका महानिर्देशक अधिकारीलाई गृहमा तानियो
काठमाडौं । अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारी गृहमन्त्रालयमा तानिएका छन् ।
साउन ३ गतेको सुन तस्करी प्रकरणपछि पक्राउ परेका दावा छिरिङसँग नियमित सम्पर्क रहेको विवरणसहितको समाचार सिधाकुरा नामक अनलाइनबाट सार्वजनिक भएपछि अधिकारीलाई मन्त्रालयमा तानिएको हो ।
गृहमन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले अधिकारीलाई गृहमन्त्रालयमा तानिएको जानकारी दिए । उनका अनुसार विभागका महानिर्देशकमा कसैलाई लगिएको छैन भने अधिकारीलाई मन्त्रालयमा कुनै जिम्मेवारी दिइएको छैन ।
१६ फागुन २०७९ मा अध्यागमन विभागको महानिर्देशक बनेका अधिकारीले सुन तस्करीमा मुछिएका दावा छिरिङसँग पटक पटक सम्पर्कमा रहेर कुरा गरेको म्यासेजसहितका समाचारहरु सार्वजनिक भएका थिए ।
साउन ३ गते अध्यागमन विभागबाट पास भएको ६० किलो सुन राजस्व अनुसन्धान विभागले विमानस्थलको गेट नजिकैबाट बरामद गरेको थियो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेका उनलाई गृह मन्त्रालयमा ल्याएर विभागको महानिर्देशक बनाइएको थियो ।