प्याज निर्यातमा भारतले लगायो ४० प्रतिशत कर, नेपालमा मूल्य बढ्ने



काठमाडौं । भारत सरकारले प्याजको निर्यातमा कर लगाएको छ । प्याज निर्यात नियन्त्रण गर्दै मूल्य घटाउन भारत सरकारले निर्यातमा कर लगाउने निर्णय गरेको हो ।

भारतको केन्द्र सरकारले प्याजको निर्यातमा ४० प्रतिशत कर लगाउने व्यवस्था गरेको छ । अहिलेसम्म प्याजको निर्यातमा कुनै पनि किसिमको कर लाग्दैन थियो । तर, हाललाई भने प्याजको निर्यात निरुत्साहित गर्दै मूल्य वृद्धिलाई नियन्त्रणमा राख्नका लागि केन्द्र सरकारले निर्यातमा ४० प्रतिशत कर लगाउने निर्णय गरेको हो ।

भारतको वित्त मन्त्रालयले जारी गरेको विज्ञप्तिमा प्याजको निर्यातमा कर लगाइएको उल्लेख गरिएको छ । तत्कालै कार्यान्वयनमा आएको यो व्यवस्था ३१ डिसेम्बरसम्म रहने जनाइएको छ । जनवरीदेखि बजारमा नयाँ प्याज आउने गर्छ ।

भारत सरकारकाअनुसार प्याजको मूल्य बढ्न थालेको छ । अल इण्डिया रिटेल प्राइसकाअनुसार प्याजको मूल्य १० अगस्टमा २७.९० रुपैयाँ प्रतिकेजी थियो ।

गत वर्ष यही समयमा भारतमा २ रुपैयाँ प्रतिकेजीमा प्याज पाइन्थ्यो ।

नेपालले भारतबाट प्याज आयात गर्ने गरेका कारण यसको प्रभाव नेपाली बजारमा पनि पर्नेछ । गत आर्थिक वर्षमा नेपालले ६ अर्ब ७५ करोड ९ लाख २३ हजार रुपैयाँ बराबरको १ लाख ८० हजार मेट्रिक टन प्याज भारतबाट आयात गरेको थियो ।

नेपालभित्र उत्पादन भएको प्याजले माघदेखि वैशाख/जेठसम्ममात्र धान्छ । जसले गर्दा भारतबाट प्रत्येकवर्ष अर्बौ रुपैयाँको प्याज आयात हुने गरेको छ । भारत सरकारले निर्यातमा लगाएको ४० प्रतिशत करले नेपालमा प्याजको खुद्र बिक्री मूल्य कम्तिमा पनि ५० प्रतिशतले बढ्ने निश्चित छ ।


क्लिकमान्डु