सरकारको संलग्नता बिना विमानस्थलबाट सय किलो सुन बाहिरिन सक्दैनः कांग्रेस नेता केसी



काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सरकारको मिलेमतो बिना विमानस्थलबाट सय क्विन्टल सुन बाहिरिन नसक्ने बताएका छन् ।

बिहीवार सिंहदरबारमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले गत साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करी भएको सय किलो सुन सरकारमा रहेका शक्ति सम्पन्न व्यक्तिहरुको मिलेमतो बिना बाहिरिन नसक्ने दाबी गरे ।

उनले दुईवटा मोबाइल र दुई तोला सुनसमेत नछोड्ने विमानस्थलबाट सय क्वीन्टल सुन बाहिरिनुले सत्ता केन्द्रको संलग्नता रहने स्पष्ट हुने बताए । सुन तस्करीको अनुसन्धानका लागि निष्पक्ष, पारदर्शी, न्यायिक आयोग गठन हुनुपर्ने उनको भनाइ छ ।

‘एउटा सियो, एउटा मोबाइल, दुई तोला सुन एक्सरे गरेर हेर्ने एयरपोर्ट सत्तामा बसेका शक्ति सम्पन्न व्यक्तिको मिलेमतो र संलग्नता नभइकन एक क्वीन्टल सुन एयरपोर्टबाट बाहिर निस्किन्छ ? त्यसलाई छान्नको निम्ति निष्पक्ष, पारदर्शी, न्यायिक आयोग गठन हुनुपर्छ ’ उनले भने ।

नेता केसीले संसद बन्धक राख्नेकुरा प्रमुख प्रतिपक्षको स्वभावका रुपमा परिणत हुँदै गएको पनि बताए ।


क्लिकमान्डु