एमालेले सरकार बाहिर बस्नै नसक्ने मानसिकता राख्योः अर्थमन्त्री



काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले नेकपा एमालेले निरन्तर संसद अवरुद्ध गरेर सरकार बाहिर बस्नै नसक्ने मानसिकता राखेको टिप्पणी गरेका छन् ।

बिहीबार जनकपुरधाममा नेपाल प्रेस युनियन धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता समेत रहेका अर्थमन्त्री महतले यस्तो टिप्पणी गरेका हुन् ।

उनले समय–समयमा अनावश्यक बहानामा संसद अवरुद्ध गर्दै सरकार बाहिर बस्न नसक्ने मानसिकता एमालेले देखाउनु राम्रो नभएको बताए ।

उनले संसद भनेको समसामयिक विषयमा सघन रुपमा छलफल गर्ने,ऐन कानूनहरु बनाउने थलो भए पनि त्यस्तो बन्न एमालले नदिएको बताए । उनले सरकारले संघीयताको मर्मअनुसार ऐन कानूनहरु बनाउने संसदमा विधेयक प्रस्ताव गर्ने तयारीमा भए पनि एमालेले संसद अवरुद्ध गर्दा नसकिएको बताए ।

अर्थमन्त्री महतले संघीयता, संघीय कानून, संसद र कार्यपालिका चुस्त बनाएर प्राप्त उप्लब्धि बचाउने कर्तव्य प्रतिपक्षीको पनि रहेको बताए ।

उनले सरकारप्रति असहमति रहेका विषयमा संसदभित्रै छलफल गरेर निष्कर्षमा पुग्नुपर्ने बताए । सहज रुपमा सरकार बन्ने बनाउने कुरा संसदको सर्वाधिकार भएको भन्दै सांसदहरुले जसलाई बहुमत दिएर सरकार बनाउँछ त्यसलाई सहज रुपमा स्वीकार गर्नु एमालेले सक्नुपर्ने बताए ।

सरकारमा नहुने बित्तिकै संसदलाई असहज बनाउने मानसिकता राख्न नहुने उनको भनाइ थियो । उनले नेपाली कांग्रेस प्रतिपक्षमा बस्दा कहिल्यै पनि संसद अवरुद्ध गर्ने काम नगरेको बताए ।

अर्थमन्त्री महतले आर्थिक स्रोतहरु पर्याप्त जुट्न नसकेकाले मधेस सहितका लक्षित भुगोल र क्षेत्रका लागि पर्याप्त बजेट विनियोजन गर्न नसकिएको स्वीकार गरे । उनले सरकारले मधेस प्रदेशलाई बजेट विनियोजनमा विभेद नगरिएको दाबी गरे । उनले आगामी दिनमा देशको आर्थिक र राजश्व वृद्धि हुने अपेक्षा रहेको बताए ।


क्लिकमान्डु