ब्रेक सुबाट निकालिएको सुन गालियो



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय बाहिर बरामद भएको सुन गाल्न सुरु गरिएको छ ।

राजस्व अनुसन्धान विभागले साउन २ गते राति सिनामंगलबाट सुनसहितको १५५ किलो ‘ब्रेक सु’ बरामद गरेको थियो जसलाई सोमबार ब्रेक सुबाट निकालेको थियो ।

मंगलबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), राजस्व अनुसन्धान विभाग, नेपाल राष्ट्र बैंक र टक्सार कार्यालयका प्रतिनिधिको रोहबरमा सुन गाल्ने प्रकृया सुरु गरिएको हो । गाल्नुअघि उक्त सुनमा टासिएको कालो पदार्थ झिकिने छ ।

एक क्विन्टल बढी सुन भएको अनुमान गरिएको भए पनि जोख्दा भने ६० किलो हाराहारी मात्र भएको छ । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखा प्रमुख थानेश्वर आचार्यका अनुसार ब्रेक सु बाट छुट्टयाएर जोख्दा सुन ६० किलो ७८९ ग्राम भएको हो ।

सुन प्रकरणको अनुसन्धान १९ दिनसम्म गरेर राजस्व अनुसन्धान विभागले थप छानबिनका लागि सीआईबीलाई जिम्मा लगाएको छ । सीआईबीले संगठित अपराध र राजस्व छलीको कसुरमा सुन प्रकरणको अनुसन्धान गरिरहेको छ ।


क्लिकमान्डु