नबिल र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका कर्मचारीको पारिश्रमिक खर्चमा ७६% वृद्धि, कुन बैंकको कति बढ्यो ?



काठमाडौं । बैंकको जागिर सेवा सुविधाका हिसाबले आकर्षक मानिन्छ । त्यसैले पनि बैंकको जागिर खाने या बैंकर बन्ने चाहना धेरैमा हुन्छ । मेहनतका हिसाबले बैंकको जागिर सजिलो छैन ।

बैंकहरुले दैनिक ८-१० घण्टा काममा लगाउँछन् र त्यसबापत आकर्षक पारिश्रमिक पनि भुक्तानी गर्छन् । त्यसैले पनि मेहनतअनुसार पारिश्रमिक प्राप्त हुने भएकाले बैंकको जागिर अधिकांशको रोजाइमा पर्छ ।

गत आर्थिक वर्षमा बैंकहरुले कर्मचारीको सेवा सुविधामा ठूलो रकम खर्च गरेका छन् । सबैभन्दा धेरै एनआईसी एसिया बैंकले गत वर्ष कर्मचारीको पारिश्रमिकमा ४ अर्ब ५३ करोड खर्च गरेको छ । यो रकम अघिल्लो वर्षको भन्दा ११.१ प्रतिशत धेरै हो । अघिल्लो वर्ष बैंकले कर्मचारीको पारिश्रमिकमा ४ अर्ब ८ करोड खर्च गरेको थियो ।

कर्मचारीको सेवा सुविधा नबिल बैंकको खर्च गत वर्ष ७६.४ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष २ अर्ब २३ करोड खर्च गरेको बैंकले गत वर्ष ३ अर्ब ९४ करोड खर्च गरेको हो ।

त्यस्तै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको पनि कर्मचारीको सेवा सुविधामा ७६.१ प्रतिशतले खर्च बढेको छ । बैंकले अघिल्लो वर्षको १ अर्ब ४९ करोडबाट बढाएर २ अर्ब ६३ करोड रुपैयाँ पुर्‍याएको हो ।

कर्मचारीमा सबैभन्दा धेरै खर्च गर्ने अर्को बैंक सरकारी राष्ट्रिय वाणिज्य बैंक हो । यो बैंकले अघिल्लो वर्ष २ अर्ब ७७ करोड खर्च गरेकोमा गत वर्ष ३१.३ प्रतिशतले बढाएर ३ अर्ब ६४ करोड रुपैयाँ पुर्‍याएको छ ।

सरकारी स्वामित्वको अर्को वित्तीय संस्था नेपाल बैंकले पनि ५९.२ प्रतिशतले बढाएको छ । बैंकले अघिल्लो वर्ष २ अर्ब १६ करोड खर्च गरेकोमा गत वर्ष ३ अर्ब ४४ करोड खर्चिएको हो ।

त्यस्तै ग्लोबल आइएमई बैंकले कर्मचारी पारिश्रमिक गत वर्षको भन्दा २२.१ प्रतिशतले बढाएर २ अर्ब ७९ करोडबाट ३ अर्ब ४१ करोड पुर्‍याएको छ भने प्रभु बैंकले ३१.४ प्रतिशतले बढाएर २ अर्ब ५१ करोडबाट ३ अर्ब ३० करोड पुर्‍याएको छ ।

बैंकहरुले जारी गरेको गत वर्षको अपरिष्कृत वित्तीय विवरणअनुसार कृषि विकास बैंकले कर्मचारीको सेवा सुविधामा गरेको खर्च भने १३.३ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष ३ अर्ब ६० करोड रहेको बैंकको खर्च गत वर्ष ३ अर्ब १२ करोडमा झरेको हो ।

सिद्धार्थ बैंकले ५.९ प्रतिशतले बढाएर २ अर्ब ३९ करोडबाट २ अर्ब ५४ करोड पुर्‍याएको छ भने कुमारी बैंकको पारिश्रमिक खर्च १७.१ प्रतिशतले बढेर २ अर्ब ८ करोडबाट २ अर्ब ४३ करोड पुगेको छ ।

त्यस्तै एनएमबी बैंकले ७.६ प्रतिशतले बढाएर २ अर्ब २१ करोडबाट २ अर्ब ३८ करोड पुर्‍याउँदा हिमालयन बैंकको ४३ प्रतिशतले बढेर १ अर्ब ३९ करोडबाट २ अर्ब पुगेको छ ।

बैंकहरुको असारसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार माछापुच्छ्रे बैंकले १२.३ प्रतिशतले बढाएर १ अर्ब ७६ करोडबाट १ अर्ब ९७ करोड बनाएको छ भने एभरेस्ट बैंकले १.६ प्रतिशतले बढाएर १ अर्ब ८० करोडबाट १ अर्ब ८३ करोड पुर्‍याएको छ ।

त्यस्तै एसबिआई बैंकले ७.९ प्रतिशतले बढाएर १ अर्ब ६६ करोडबाट १ अर्ब ८० करोड बनाउँदा सिटिजन्स बैंकले १ अर्ब ५८ करोडबाट ७.२ प्रतिशतले बढाएर १ अर्ब ७० करोड पुर्‍याएको छ ।

लक्ष्मी सनराइज बैंकको १०.६ प्रतिशतले १ अर्ब ४६ करोडबाट १ अर्ब ६१ करोड पुगेको छ भने सानिमा बैंकले १२.८ प्रतिशत बढाएर १ अर्ब ३४ करोडबाट १ अर्ब ५१ करोड रुपैयाँ पुर्‍याएको छ ।

प्राइम कमर्सियल बैंकले गत वर्ष कर्मचारीको सेवा सुविधामा ८.५ प्रतिशत वृद्धि गरेको छ । प्राइमले अघिल्लो वर्ष १ अर्ब ३९ करोड खर्च गरेकोमा गत वर्ष १ अर्ब ५१ करोड खर्च गरेको हो । स्ट्यान्डर्ड चार्टर्ड बैंकले १ अर्ब ४ करोडबाट १५ प्रतिशत बढाएर १ अर्ब २० करोड पुर्‍याएको छ ।

बैंकहरुले यसबाहेक कर्मचारीलाई क्षमताअनुसार बोनस उपलब्ध गराउने गरेका छन् । मर्जरमा गएका बैंकको कर्मचारी संख्या बढी भएकाले खर्च पनि बढेको हो ।


रवि धिताल