एक क्विन्टल सुन तस्करी प्रकरण: अब कसरी बढ्छ अनुसन्धान ?



काठमाडौं । राजस्व अनुसन्धान विभागले एक क्विन्टल सुन तस्करी प्रकरणको सम्पूर्ण अनुसन्धानको फाइल नेपाल प्रहरीलाई जिम्मा लगाएको छ । राजस्व अनुसन्धान विभागले आइतबार पत्रकार सम्मेलन गरेर सुन तस्करी प्रकरणमा भेटिएका प्रमाण, तथ्य र हिरासतमा रहेका १७ जना समेत नेपाल प्रहरीलाई बुझाएको हो ।

साउन २ गते त्रिभुवन विमानस्थलको भन्सार जाँच पार गरेको भित्रिएको सुन विभागको टोलीले पक्राउ गरेको थियो । त्यसयता प्रहरीलाई समेत संलग्न नगराई विभागले आफैं सुनको अनुसन्धान गरिरहेको थियो ।

बिहीबार साँझ गृहमन्त्री, रक्षामन्त्री, महान्यायाधिवक्ता, प्रहरी महानिरीक्षक, सीआईबी प्रमुख र राजस्व अनुसन्धानका महानिर्देशकसहितको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमार्फत थप अनुसन्धान अघि बढाउन निर्देशन दिएका थिए ।

विभागका महानिर्देशक नवराज ढुंगानाले सुन तस्करी अन्तरदेशीय संगठित अपराध भएकाले विभागले थप छानबिन र मुद्दा अभियोजनको सम्पूर्ण जिम्मेवारी प्रहरीलाई सुम्पिएको बताएका छन् । उनले अन्तर्राष्ट्रिय अपराधको रुपमा स्थापित हुने र राजस्व अनुसन्धान गर्दै जाँदा यससँग अन्य कानुन पनि आकर्षित हुने अवस्था देखिएको बताए ।

‘संगठित रुपमा सुनको व्यापार गर्ने देखिएका र नेपालको कानुनअनुसार यो प्रकरणमा संगठित अपराधसम्बन्धी कानुन आकर्षित हुने भएकाले महान्यायाधिवक्ता, नेपाल प्रहरी र राजस्व अनुसन्धानले प्रहरीलाई सामेल गराउने निर्णय गरेको छ,’ उनले भने ।

नेपाल प्रहरीलाई पनि सुन तस्करी प्रकरणको अनुसन्धानमा सामेल गराउँदा बढी यर्थाथपरक र अझ टुङ्गोमा पुग्न सजिलो हुने देखिएको उनको प्रस्टोक्ति छ । तर, सुन पक्राउ परेको १८ दिनसम्म अनुसन्धानमा प्रहरीलाई किन सामेल गराएन भन्ने तथ्य उनले खुलाएनन् ।

तथापि, पक्राउ परेका सबै आरोपित र तथ्य प्रमाण समेतलाई आइतबार विभागले प्रहरीको जिम्मा लगाएको छ । महानिर्देशक ढुंगानाले २ साउनमा विभागले सय किलो सुन विमानस्थल भन्सारको मूल गेटमा बरामद गरी ३ गते परीक्षण भएर सुन प्रमाणित भएपछि अनुसन्धान गरी विभिन्न तथ्य भेटाएको बताए ।

हङकङबाट नेपाल भित्र्याइएको सो सुन प्रकरणमा हालसम्म १४ जना नेपाली, २ जना चिनियाँ र एक भारतीयसहित १८ जना पक्राउ परेको एक जनालाई हाजिरी जवानीमा छाडिएको उनले जानकारी गराए । ‘सुन तस्करीका विभिन्न ठाउँमा रहेका अखडा छापा र शिलबन्दी गरिएको छ,’ उनले भने, ‘अनुसन्धान गर्दै जाँदा सुन तस्करी प्रकरण थप पेचिलो बन्दै गएको छ ।’

अध्ययन गर्दै जाँदा यो एउटा देशभित्र मात्रै नभएर अन्तर्राष्ट्रिय अपराधको रुपमा स्थापित हुने तथ्य देखिएको उनको भनाइ छ । ‘यसको सुरुवात हङकङकबाट उड्ने क्याथिप्यासिफिक हुँदै नेपाल आएको र यसको सम्भावित डेस्टिनेसनको बारेमा अनुसन्धान गर्दै गरेका कारण भुगोलका हिसाबले यो अन्तर्राष्ट्रिय अपराधको रुपमा स्थापित हुने देखिएको छ,’ महानिर्देशक ढुंगानाले भने ।

संगठित अपराधअन्तर्गत यसलाई अनुसन्धान गर्ने, राजस्व अनुसन्धानसम्बन्धी केसको वेसमा संगठित अपराध आकर्षित हुने र यसका सम्पूर्ण अनुसन्धान र कार्यसम्पादन नेपाल प्रहरीबाट हुने गरी बाँकी कार्य सम्पन्न गर्नको निम्ति नेपाल प्रहरीलाई सम्पूर्ण तथ्य बुझाएको उनले बताए ।

सुन तस्करी प्रकरणमा राजनीतिक संलग्नता रहेको आशंका बढेपछि प्रमुख प्रतिपक्षी नेकपा कम्युनिस्ट पार्टी एमालेले उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै आएको छ । सरकारले छानबिन समिति गठन नगरेको भन्दै एमालेले संसद बैठकसमेत अवरुद्ध गर्दै आएको छ ।


रवि धिताल