एउटा ‘अद्भुत’ सहर बनाउन साढे ६५४ खर्ब खर्च गरिरहेको साउदी अरब



एजेन्सी । आकाशमा उडिरहेका गाडीहरु । हरेक कुरामा आर्टिफिसिल इन्टिलिजेन्सको प्रयोग । मानिसले नै बनाएको कृतिम चन्द्रमा र हावामै चलिरहेको लिफ्ट ।

यो सबै कुरा कुनै ‘साइन्स फिक्सन’ फिल्मको दृश्यको होइन । सुन्दा र हेर्दा कुनै साइन्स फिक्सन फिल्म जस्तै लागे पनि यो सबै कुराहरु वास्तवमै एउटा अद्भुत परियोजनाको रुपमा बनिरहेका छन् ।

यी विशेषताहरु दाबी गरिएका कैयौं विशेषताहरुमध्येका हुन्, जुन साउदी अरबमा एउटा शहरमा प्रस्ताव गरिएको छ ।सुरुवातमा ६५४ खर्ब ४२ अर्ब ६० करोड रुपैयाँ (५ सय बिलियन अमेरिकी डलर) लागतमा निर्माण गर्ने भन्दै सन् २०१७ मा साउदीका राजकुमार मोहम्मद बिन सलमानले घोषणा गरेको एउटा महत्वकांक्षी परियोजना ‘नियोम शहर’ का विशेषताहरु हुन् यी ।

हाल भने यो परियोजनाको लागत १३०८ खर्ब ८५ करोड रुपैयाँ (१ ट्रिलियन अमेरिकी डलर) पुग्ने बताइएको छ । यो लागत बढ्नुको कारण भने साउदी अरबले नियोम शहरभित्र दुई ठूला भवनहरु निर्माण गर्ने भएकाले हो ।

साउदी अरब गल्फ देशहरुमध्येमै धनी देशमा पर्छ । २०१७ मा साउदीका राजकुमार मोहम्मद बिन सलमानले यो महत्वकांक्षी प्रोजेक्टको घोषणा गरेका थिए । ‘नियोम सिटी प्रोजेक्ट’ नाम दिइएको यो शहरलाई हरेक तवरबाट आधुनिकतासँग जोडेर निर्माण गरिने बताइएको छ ।

पहाडी मरुभुमिमा बन्ने यो शहर कैयौं कुराहरुमा निकै उत्कृष्ट बन्ने गरि तयार गरिने घोषणा गरिएको छ । यो परियोजना पूरा गर्न लाग्ने अनुमानित लागतकै कारण पनि यो संसारभरकै हालसम्मको सबैभन्दा महंगो परियोजनामध्येमा रहेको छ ।

नियोम अर्थात नयाँ भविष्य

साउदीका राजकुमार मोहम्मद बिन सलमानले ‘नियोम शहर’लाई नयाँ भविष्यको रुपमा निर्माण गरिरहेका छन् । यसको नामले पनि सोही अर्थ जनाउँछ।

अरबी र ग्रिक भाषाका दुई शब्दहरु एम र नियो जोडेर नामाकरण गरिएको नियोम शहरको अर्थ नै नयाँ भविष्य भन्ने हुन्छ ।

नियोम शहर साउदी अरबको जोर्डन र ग्रिक देशसँग जोडिने सिमानामा बनाउने योजना बनेको छ। साउदी अरबको प्रशासनकाअनुसार यो शहरमा प्रदुषण शुन्य हुनेछ भने कुनै हलिउडको साइन्स फिक्सन फिल्मको जस्तै यो शहरभित्रका सवारी साधन, घर, अफिसलगायतका संरचनाहरु हुनेछन् ।

नियोम शहरमा प्रदुषणलाई शुन्यमा राख्न निकै खास किसिमको ट्रान्सपोर्ट सिस्टम बनाइनेछ। यो शहरभित्र कुनै कार चल्नेछैनन् भने कुनै सडक हुनेछैन् । यहाँ हरेक कुराहरु प्रकृति र वातावरणको नजिक रहेर निर्माण गरिने बताइएको छ ।

नियोम शहर युरोपियन देश बेल्जियम जत्रै क्षेत्रफलमा निर्माण हुनेछ, जसको कुल क्षेत्रफल ३० हजार ४२८ किलोमिटर हुनेछ । यो शहर अमेरिकीको न्युयोर्क शहरभन्दा ३३ गुणा ठूलो हुनेछ । मरुभूमिमा बेग्लै संसारजस्तो आभास दिने यो शहरमा घर, अफिस, सार्वजनिक पार्क, अस्पताल र स्कुलजस्ता सबै संरचनाहरु भर्टिकल हुनेछन् । यो सहरको सामुन्नेपट्टि १७० किलोमिटर लामो ऐना लगाइएको हुनेछ, जसमा सबै भवनहरुको प्रतिबिम्ब स्पष्ट रुपमा देखिनेछ ।

संरचना र पूर्वाधारले मात्रै साइन्स फिक्सन जस्तो लाग्ने नभएर यो शहर निर्माण पुरा भइसकेपछि यसभित्र एकसाथ ९० लाख मानिसहरु बस्न सक्नेछन् । यो शहर एउटा मेगासिटी प्रोजेक्ट भएकाले यसमा आर्टिफिसिल इन्टिलिजेन्स र क्लिन इनर्जीको भरपुर प्रयोग हुनेछ । शहरभित्र पेट्रोल र डिजेल नभएर सोलरजस्ता क्लीन इनर्जीबाट सबै कुराहरु चलाइनेछ ।

अब तपाईंलाई लाग्न सक्छ, यो शहरमा यातायातका लागि सडक नै नहुने, गाडी नै नहुने भए मानिसहरु कसरी यताउता गर्नेछन्?

त्यसको लागि पनि यो शहरमा खास किसिमको व्यवस्था गरिनेछ । हालसम्म तयार गरिएको योजनालाई हेर्ने हो भने यो शहरमा ड्रोन ट्याक्सी हुनेछन् । यहाँ एउटा यस्तो लिफ्ट हुनेछ, जुन पूर्ण रुपमा हावामा चल्नेछ र पुरै शहरमा जोडिएको हुनेछ । सँगै शहरमा एउटा हाइस्पिड ट्रेन पनि सञ्चालन गरिनेछ ।

लम्बाईमा १६१ किलोमिटर हुने भएपनि यो शहरको चौडाई २०० मिटर र उचाई ५ सय मिटर हुने बताइएको छ। यो शहरमा बस्ने नागरिकहरुले यहाँ भएका अत्याधुनिक यातायातको प्रयोग गरेर २० मिनेटमा नै एक छेउबाट अर्को छेउमा पुग्न सक्नेछन् ।

यहाँ बन्ने भवनहरु मानिसकै डिएनएजस्तो घुमेको डबल हिलिक्स शैलीका हुनेछन् । यहाँ दुई किलोमिटर लामो एउटा मानव निर्मित तलाउ पनि निर्माण गरिनेछ ।

हालसम्म साउदी अरबमा बन्ने यो नियोम शहरलाई लिएर ब्लु प्रिन्ट सार्वजनिक भइसकेको छ। साउदीका राजकुमार मोहम्मद बिन सलमानले २०१७ मा घोषणा गरेर २०२१ मा यो शहरको ब्लु प्रिन्ट सार्वजनिक गरेका थिए ।

५ सय बिलियन अमेरिकी डलरजस्तो ठूलो लगानीमा बन्ने यो शहर निर्माण गर्दा फन्डको कुनै पनि किसिमको समस्या नहोस भनेर अहिलेबाटै यसलाई सबै व्यवस्था गरिएको छ । साउदीका राजकुमार सलमानकाअनुसार नियोम शहरभित्रको बिजनेस जोनलाई २०२४ मा सुचिबद्ध गरिनेछ ।

साउदीले नियोम इन्भेस्टमेन्ट फन्डको नाममा ३ सय बिलियन रियाललाई छुट्याएर राख्नेछन् । सँगै यसको निर्माणका क्रममा पहिलो चरणको खर्च १.२ ट्रिलियन रियाल हुने भएकाले त्यसका लागि आधार खर्च साउदीको सावरेन वेल्थ फन्डले उठाउने बताइएको छ ।

२०१७ मा घोषणा भएको यो प्रोजेक्ट २०२६ सम्म निर्माण भइसक्ने पनि भनिएको थियो । तर, विभिन्न कारणले यसको निर्माण कार्यमा थप ढिलाइ भइरहेको छ । हुन त साउदीका राजकुमार मोहम्मद बिन सलमाले यसलाई २०३० मा निर्माण सम्पन्न गरिसक्ने बाचा पनि गरेका छन ।

आक्रामक बन्दै साउदीः १० करोड पर्यटक भित्राउने लक्ष्य, नियोममा बेलायतका कम्पनीलेसमेत होटल खोल्ने

नियोम शहरको निर्माणको विषयलाई लिएर अहिले साउदी अरब आक्रामक रुपमा प्रस्तुत भइरहेको छ । केही दिनअघि मात्रै यो शहरको निर्माण गर्नका लागि खडा गरिएको कम्पनी ‘नियोम कम्पनी’का सिईओ नाद्मी अल नासरले कोरियाली पूर्वाधार मन्त्री वाङ हि–र्योङसँग भेटवार्ता गरेका थिए ।

सन् २०२२ को नोमम्बरमा उनीहरुबीच भएको भेटपछि यो दोस्रो भेट हो । दुई बीच ठूला कोरियाली कम्पनीहरुबाट यो मेगा सिटीको निर्माणमा महत्वपूर्ण सहयोगको विषयमा छलफल भएको छ ।

हाल साउदीले ‘भिजन २०३०’ योजनामा काम गरिरहेको छ । साउदी अरबको पर्यटकिय प्राधिकरणको एसिया प्यासिफिक बजार विभागअन्तर्गतका निर्देशक रहेका अल हसन अल्दबागले वियोन न्युजसँगको कुराकानीमा सन् २०३० सम्ममा १० करोड पर्यटकलाई भित्राउने माहोल निर्माण गर्ने बताएका छन् ।

उनले २० लाख भन्दा धेरै रोजगारी पर्यटकिय क्षेत्रमा सिर्जना हुने र साउदीको जिडिपीमा हाल ३ प्रतिशत रहेको पर्यटकिय क्षेत्रको योगदान बढाएर १० प्रतिशत पुर्याउने योजना रहेको बताएका छन् ।

साउदीले सन् २०१६ मा सुरु गरेको यो भिजन पनि नियोम मेगा सिटीसँग जोडिएको छ । साउदीले यो शहरलाई प्रमुख पर्यटकिय गन्तव्यको रुपमा विकास गरिरहेको छ सन् २०३० मा १० करोेड पर्यटक भित्राउने लक्ष्य लिएको साउदीले यो परियोजनालाई पनि त्यसको मुख्य कारणको रुपमा लिएर काम गरिरहेको छ ।

विश्वलाई नै चकित बनाउने परियोजनाको रुपमा सुरु भएको नियोम मेगा सिटी परियोजनाामा अहिले साउदी मात्रै नभएर अरु देशहरु पनि आकर्षित हुँदै गएको देखिएको छ ।

बेलायतको ‘इन्टरकन्टिनेन्टल होटल ग्रुप (आईएचजी)’ले हालै मात्र साउदीको नियोम शहरमा २५० कोठासहितको होटल खोल्ने बताएको छ । उक्त होटललाई नियोम शहरभित्रको वातावरण र प्रविधिको विशेषतासहित नै निर्माण गरिने बताइएको छ ।

एजेन्सीहरुको सहयोगमा


क्लिकमान्डु