सुन तस्करी गरेको कम्पनीले ल्याएको थप १३ कार्टुन जाँच गर्दा सुन भेटिएन



काठामाडौं । बुधबार ब्रेक सु भित्र सुन लुकाएर ल्याएको रेडी ट्रेडले ल्याएका १३ कार्टुन सामान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले जाँच गरेको छ ।

भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले सुन हुनसक्ने आशंकमा रेडी ट्रेडले आयात गरेको १३ कार्टुन सामान खोलेर हेरिएको जानकारी दिए ।

‘हामीले सबै कार्टुन खोलेर हेर्दा इलेक्ट्रोनिक सामान र मदरबोर्ड मात्रै भेटिएको छ’ पौडेलले भने,‘ आशंका लागेका सबै खोलेर हेर्न भन्सार अधिकृतलाई मैले निर्देशन दिएको छु ।’

त्रिभुवन विमानस्थल भन्सार परिसरमा थप १०० किलो सुन रहेको आशंकामा राजस्व अनुसन्धान विभाग र भन्सार विभागले थप अनुसन्धान गरेका थिए ।

बुधबार अन्तर्राष्ट्रिय विमानस्थलका कार्गो भवनबाट बाहिरिने क्रममा गेटबाट करिब १०० किलो बढी सुन समातिएको दोस्रो दिन विभागले थप अनुसन्धान गरेको हो ।

विभागले बुधबार कार्गो परिसरबाट नियन्त्रणमा लिएको सुनको मुचुल्का गर्ने र नेपाल राष्ट्र बैंकमा परिक्षण गर्ने काम भइरहेको छ।

विमानस्थलको कार्गो भवनमा गरिएको थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगाना र भन्सार विभागका महानिर्देशक पौडेल विमानस्थल परिसरमा पुगेका थिए ।


क्लिकमान्डु