संयुक्त राष्ट्र संघको उच्चस्तरीय फोरममा राष्ट्रिय योजना आयोग उपाध्यक्षले के भने ?



काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले न्युयोर्कमा जारी उच्चस्तरीय राजनीतिक फोरमलाई सम्बोधन गरेका छन् ।

नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै अमेरिका पुगेका उपाध्यक्ष श्रेष्ठले उच्चस्तरीय राजनीतिक मञ्च (एचएलपीएफ) मा अल्पविकसित देश (एलडीसी) हरुका तर्फबाट सम्बोधन गरेका हुन् ।

यसअघि उपाध्यक्ष नेतृत्वको टिम मञ्चको तीनदिने उच्चस्तरीय सम्मेलनको उद्घाटन सत्रमा समेत सहभागी भएको थियो । फोरममा विभिन्न देशका मन्त्रीस्तरीय प्रतिनिधिको सहभागिता छ । उपाध्यक्ष श्रेष्ठले अल्पविकसित राष्ट्रहरूमा संकटका प्रभावबारे प्रकाश पार्दै अल्पविकसित राष्ट्रहरूमा एसडीजीहरूको कार्यान्वयनलाई तीव्रता दिनुपर्ने बताएका छन् ।

उनले एलडीसीहरूका लागि दोहा कार्ययोजनाको पूर्ण र समयमै कार्यान्वयन सुनिश्चित गर्न तथा नवप्रवर्तन र प्रविधि हस्तान्तरणमार्फत संरचनात्मक रूपान्तरण हासिल गर्न एलडीसीहरूलाई सहयोग गर्न विश्व समुदायलाई आग्रह गरेका छन् ।

उपाध्यक्ष श्रेष्ठले बहुपक्षीयताको महत्व र विश्वव्यापी वित्तीय संरचनाको सुधारको आवश्यकतामा जोड दिए । ‘एलडिसीहरु विश्वव्यापी फोकसको केन्द्रविन्दु हुनुपर्छ,’ उपाध्यक्ष श्रेष्ठले भने ।

उच्चस्तरीय पोलिटिकल फोरममा सहभागी हुन नेपाली टोली १३ जुलाईमा अमेरिकाको न्युयोर्क पुगेको हो । उपाध्यक्ष श्रेष्ठले नेतृत्व गरेको प्रतिनिधि मण्डलमा संघीय सांसद सदस्य तथा राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिका अध्यक्ष प्रकाश पन्थ, संघीय सांसद तथा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौला र माओवादी सांसद माधव सापकोटा, योजना आयोगका सदस्य सचिव तोयानारायण ज्ञवाली, सरकारका सचिव तथा अधिकारीहरु र संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी नियोगका अधिकारीलगायत सहभागी छन् ।


क्लिकमान्डु