रुस-युक्रेन युद्धका ५०० दिनः कुन क्षेत्रमा कति भयो क्षति ?



एजेन्सी । ५०० दिनअघि फेब्रुअरी महिनाको चिसो बिहानीमा रसियाले आफ्नो पश्चिमी छिमेकी युक्रेनमाथि सैन्य कारबाहीको सुरुवात गरेको थियो । सैन्य कारबाहीको नाम दिइएको यो हमला युक्रेनलाई रुसले आफूमा गाभ्ने नियतसहित सुरु गरेको मानिन्छ । क्रेमलिनयले तीव्ररुपमा सैनिक कारबाही सफल हुने सोचेको थियो । तर, साढे १६ महिना बित्दा पनि युद्ध चलिरहेको छ । र, यसको अन्त्य नजिक देखिएको छैन ।

शनिबार युद्ध सुरु भएको ५०० दिन पूरा भएको छ । यो अवधीमा लाखौंको जीवनमा प्रभाव परेको छ भने कैयौं कुराहरु परिवर्तन भएका छन् । विश्व राजनीति नै फरक धारतर्फ मोडिने प्रभाव यो युद्धले पारेको छ ।

५०० दिनमा के के भए त ?

संयुक्त राष्ट्र संघीय शरणार्थीसम्बन्धी काम गर्ने निकाय (युएनएचसिआर)काअनुसार ६३ लाख युक्रेनी नागरिकहरु शरणार्थी भएका छन् । दोस्रो विश्वयुद्धपछि हेर्ने हो भने रुस र युक्रेनबीचको द्वन्द्वले संसारकै सबैभन्दा तीव्ररुपमा बढेको शरणार्थी संकट सिर्जना गरेको छ । फेब्रुअरी २४, २०२२ यता ६३ लाख मानिसहरु युक्रेनबाट शरणार्थीका रुपमा बाहिरिएका छन् । तीमध्ये सबैभन्दा धेरै, संख्यामा भन्दा ५९ लाख ६७ हजार १ सय मानिसहरु युरोपेली देशतर्फ भागेको बताइएको छ ।

योसँगै थप ६० लाख मानिसहरु युक्रेनभित्र नै पनि तितरबितर भएका छन् । युद्धका कारण उनीहरुमाथि प्रत्यक्ष प्रभाव परेको छ।

शरणार्थीका रुपमा देश छाडेर भाग्नेहरुमा धेरै युक्रेनी नागरिकहरु महिला र बालबालिका छन् । सरकारले १८ देखि ६० वर्षसम्मका युक्रेनी नागरिकहरु देशमै रहनुपर्ने र युद्धमा सामेल हुनुपर्ने नियम लागु गरेका कारण पनि धेरै संख्यामा महिला र बालबालिकाहरु शरणार्थी बनेका छन् ।

युद्धको सुरुवाती दिनमा नै युक्रेन छाडेर भागेका एक युवक मार्क गोनचारुक भन्छन्, ‘हामीले बुबालाई किभमै छाडेर आयौं । र बुबा हाम्रा हिरोहरुलाई विभिन्न कुराहर बेच्दै सहयोग गरेर बस्नु भएको छ । हाम्रो आर्मिलाई सहयोग गरिरहनु भएको छ । सायद उहाँले पनि युद्ध लड्नुहुन्छ ।’

संयुक्त राष्ट्रसंघ अन्तर्गतकै अर्को निकाय ओएचसिएचआरका अनुसार ९ हजार ८३ युक्रेनी नागरिकहरुको मृत्यू भएको छ । तर, यो संख्या वास्तविक हो कि होइन भन्नेमा शंका भने यथावत नै छ । १५ हजार ७७९ जना युकेनी नागरिकहरु घाइते भएका छन् ।

मृत्यू हुने र घाइतेको संख्या यकिनका साथ यहि हो भन्न सकिँदैन । युक्रेन सरकारकै नियन्त्रणमा रहेको क्षेत्रमा ओएचसिएचआरले २० हजार ७३ यस्ता घटनाहरु पाएको छ, जसमध्ये ७ हजार ७२ जनाको मृत्यू भएको छ भने १३ हजार १ जना घाइते भएका छन् । डोनेत्स्क र लुहान्स्कको पूर्वी प्रान्तमा ४ हजार १०५ जनाको मृत्यू र ५ हजार ८६१ जना घाइते भएका छन् भने अन्य ठाउँमा बाँकी अर्थात् २ हजार ९६७ जनाको मृत्यू र ७ हजार १४० जना घाइते भएको बताइएको छ ।

युक्रेनकै भूमि, जुन रुसको कब्जामा छ, त्यहाँ २ हजार ११ जनाको मृत्यू र २ हजार ७७८ जना घाइते भएको तथ्यांकमा देखिन्छ । यसमध्ये डोनेत्स्क र लुहान्स्कको पूर्वी प्रान्तमा ७२८ जना मारिएका छन् भने २ हजार ५२१ जना घाइते भएका छन् । र, बाँकी १२ सय ९३ जनाको मृत्यू र २५७ जना घाइते अन्य क्षेत्रमा भएका छन् ।

युक्रेन होस वा रुस, दुवैतर्फका कति सैनिक घाइते भए र कतिको मृत्यू भयो भन्ने कुराको अड्कल लगाउन सक्ने अवस्था छैन । किनभने दुवैतर्फबाट वास्तविक संख्या खुलाइएको छैन ।

जुलाई ५ मा उपलब्ध भएको तथ्यांककाअनुसार युक्रेनको रक्षा मन्त्रालयले रुसका तर्फबाट २ लाख ३१ हजार ७ सय जनाको क्षति रुस सरकारले भोग्नु परेको बताइएको छ । बेलायती रक्षा मन्त्रालयकाअनुसार भने रुस र युक्रेनबीचको युद्धको पहिलो वर्षमा रुसी सैनिकका लागि २ लाख वटा यस्ता घटना भएको बताइएको छ । जसमध्ये ४० हजारदेखि ६० हजार जनासम्म सैनिकको मृत्यू भएको बताइएको छ । यसमा रुसको नीजि सैन्य समूह वागनर समूहका सैनिकहरु पनि सामेल छन् ।

हालसालै अप्रिलमा सार्वजनिक भएको अमेरिकी रक्षा खुफिया एजेन्सीकाअनुसार भने रुसले कम्तीमा १ लाख ८९ हजार र५ सयदेखि २ लाख २३ हजार जना (मृत्यु र घाइते गरि) सम्मको क्षति बेहोरेको छ । यसमध्ये ३५ हजार ५ सयदेखि ४३ हजार जना सैनिकको मृत्यू भएको बताइन्छ भने १ लाख ५४ हजारदेखि १ लाख ८० हजार जनासम्म घाइते भएका छन् ।

अमेरिकी तथ्यांककै आधारमा हेर्ने हो भने युक्रेनमा १७ हजार ५ सय सैनिकको युद्धमा मृत्यु भएको छ भने १ लाख १३ हजार जना घाइते भएका छन् ।

तर, यी तथ्यांकहरु वास्तविक हुन वा होइनन् भन्ने कुनै पनि आधार छैन ।

हालसम्म युद्धका कारण १४३ बिलियन अमेरिकी डलर बराबरको क्षति भएको किभ स्कुल अफ इकोनोमिक्सले जनाएको छ । युद्धका कारण संरचनाहरुमा पुगेको क्षति वर्षौंसम्म पुनःनिर्माण गर्न पर्ने अवस्था सिर्जना भएको छ ।

रुसले सुरुवाती दिनबाटै युक्रेनमाथि वर्षा गरेका मिसाइल तथा बमहरुले युक्रेनमा अत्यावश्यक रहेका अस्पताल, उर्जा संरचना, घरलगायतमा क्षति पुर्याएको छ । गत मार्चमा विश्व बैंकले सार्वजनिक गरेको एक रिपोर्टकाअनुसार युक्रेनलाई आगामी १० वर्षमा युद्धका कारण भएको क्षतिबाट बाहिर निस्किन र पुनः निर्माण गर्नका लागि कम्तीमा ४११ बिलियन अमेरिकी डलर लाग्छ । यो रकम रुसको कुल ग्राहस्थ्य उत्पादनको दोब्बर रकम हो ।

व्यापारमा पनि उत्तिकै क्षति पुगेको छ । कम्तीमा ११.३ बिलियन अमेरिकी डलर रकम बराबरको क्षति बेहोरिनु परेको बताइएको छ । युक्रेनको उदाउँदो कृषि क्षेत्रमा पनि ८.७ बिलियन अमेकिरी डलरको क्षति पुगेको बताइएको छ ।

योबीचमा रुसले युक्रेनको कुल क्षेत्रफलमध्ये २० प्रतिशतभन्दा कममा मात्रै कब्जा जमाएको अनुमान गरिएको छ । तर, कतिपय अध्ययन तथा अनुसन्धानले भने रुसले १७ प्रतिशतमा मात्रै कब्जा जमाएको पनि बताएका छन् । युक्रेनले आफ्नो भूमिमाथि रुसको कब्जा रहेका क्षेत्रहरुमा गरिरहेको सैनिक हमलाले यी भूमिहरु फिर्ता आउने क्रममा छन् । अलजजिराबाट


क्लिकमान्डु