हनुमानढोका परिसरमा जानेले कहाँ गर्ने सवारी पार्किङ ? यसो भन्छन् महानगर प्रहरी
काठमाडौं । काठमाडौं महानगरपालिकाले हनुमानढोका परिसरभित्र सवारीसाधन निषेध गरेको छ ।
सम्पदाको मौलिकता जोगाउन महानगरपालिकाले सम्पदा क्षेत्रभित्र सवारीसाधन निषेध गरेको हो । महानगरपालिकाले न्युरोडको शालिक गेटदेखि बसन्तपुर क्षेत्र सबैमा सवारीसाधन निषेध गरेको महानगरीय प्रहरी बल, काठमाडौंका हनुमानढोका इन्चार्ज ध्रुव भुजेलले बताए ।
उनले सोमबारबाट नै सम्पदा क्षेत्रमा सवारीसाधन निषेध गरिएको र बुधबार मेयर बालेन्द्र साह र सम्पदा क्षेत्रका अधिकारीहरुसँग बैठक बसी थप निर्णय गरिने बताए ।
सम्पदा क्षेत्रमा जानेहरुका लागि न्युरोड, विशाल बजार र अन्य बाहिरि क्षेत्रमा पार्किङ गर्नुपर्ने बताए । त्यस्तै अर्का महानगर प्रहरी ध्रुव सिंह थापाले एम्बुलेन्स र दमकल बाहेकका सवारी साधन सम्पदा क्षेत्रमा प्रवेश नदिएको बताए ।
‘शालिक गेटदेखि यता सम्पदा क्षेत्रभित्र चाहीँ प्रवेश निषेध सम्पूर्ण गाडीहरु, एम्बुलेन्स, दमकल र पानीको गाडी बाहेक अरु सबै गाडीलाई हिजोदेखि नै बन्द गरिसकिएको छ । भोलि यहाँ मेयरसाबको अध्यक्षतामा बैठक बसेर थप निर्णय गर्छ । पार्किङको लागि न्युरोड, विशाल बजार बाहिर नै पार्किङ गर्ने र हिँडेर आउने सिस्टम शुरु भएको छ’ उनले भने ।