भारतमा २२५ किमि विद्युतीय हाइवे बन्दै



काठमाडौं । भारतको दिल्लीदेखि जयपुरसम्म २२५ किमि सडकखण्डमा विद्युतीय हाइवे निर्माण हुने भएको छ ।

भारत सरकारले आगामी ६ वर्षभित्रमा देशकै पहिलो इलेक्ट्रिसिटी इनेबल्ड हाइवे (विद्युतीय हाइवे) निर्माण गर्न लागेको हो ।

भारतको केन्द्रीय राष्ट्रिय राजमार्ग मन्त्रालयले यो सडकखण्डमा एउटा लेनलाई विद्युतबाट चल्ने बसहरुका लागि निर्माण गरिने बताएको छ । यसरी चल्ने बसहरुको गति १ सय किमि प्रतिघण्टासम्म हुनेछ ।

हाल विद्युतीय हाइवेमा चल्ने बसका लागि ५५ सिट भएको प्रोटोटाइप पनि भारतमा निर्माण गरिएको छ भने पूर्ण रुपमा सञ्चालनमा आउँदा ९५ सिट क्षमताको बस निर्माण हुने बताइएको छ ।

विद्युतीय हाइवेका लागि बेग्लै सडक आवश्यक नभएर एउटा निश्चित लेन मात्र आवश्यक पर्ने बताइएको छ । यस्तो लेनमा विद्युत प्रवाह भएका तारहरु हुनेछन्, जसमा जडित बसहरुले त्यहाँबाट नै विद्युत आपूर्ति गर्नेछन् र सञ्चालन हुनेछन् ।

यसका लागि सडकमा विजुलीका पोलहरु लगाइनेछ । यो परियोजनालाई भारतमा बीओटी (निर्माण, सञ्चालन र स्थानान्तरणको रुपमा निर्माण गर्ने योजना रहेको छ ।

यस्तो लेनमा चल्ने विद्युतीय बसहरु फरक किसिमका हुनेछन् । चार्जिङ र ब्याट्रीको सहायताले चल्ने नभएर पूर्ण रुपमा विद्युत प्रवाहकै आधारमा यस्ता बसहरु चल्नेछन् । यसका लागि निरन्तर विद्युतको आपूर्ति भने हुनुपर्ने छ ।


क्लिकमान्डु