नक्कली शरणार्थी प्रकरण: खाण र रायमाझीसहित १६ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश

252
Shares

काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंले पूर्वमन्त्रीहरु बालकृष्ण खाण र टोपबहादुर रायमाझीसहित १६ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

दुई साता लामो थुनछेक बहसपछि न्यायाधीश प्रेमप्रसाद न्यौपानेको एकल इजलासले खाण, रायमाझी र सचिव टेकनारायण पाण्डेसहित १६ जनालाई थुनामा राख्न आदेश दिएको हो ।

अदालतले लक्ष्मी महर्जनसहित दुई जनालाई भने धरौटीमा छाड्ने आदेश गरेको छ । महर्जनलाई ५ लाख र टंककुमार गुरुङलाई १० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिइएको हो ।

दुई महिना लामो अनुसन्धानपछि प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत ३० जनाविरुद्ध ठगी, किर्ते र राज्यविरुद्ध संगठित अपराधमा जेठ १० गते जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

अदालतको फैसलासँगै पूर्व उपप्रधानमन्त्री रायमाझी, पूर्वगृहमन्त्री खाण, तत्कालीन गृहमन्त्रीका सुरक्षा सल्लाहकार इन्द्रजित राई र सचिव टेकनारायण पाण्डे पुर्पक्षका लागि थुनामा रहनेछन् ।

त्यस्तै योजनाकार भनिएका केशव दुलाल र सानु भण्डारी, भुटानी अधिकारवादी नेता टेकनाथ रिजाल, सागर राई, सन्देश शर्मा, टोपबहादुरका छोरा सन्दीप रायमाझी, खाणका स्वकीय सचिव नरेन्द्र केसी, गोविन्द चौधरी, रामशरण केसी, पूर्व सभासद् आङटावा शेर्पा, हज कमिटीका अध्यक्ष शमशेर मिया र हरिभक्त महर्जन पनि थुनामा रहनेछन् ।

उनीहरुलाई उच्च अदालत जान सुविधा भने कायमै छ ।