दर्ताबिनै सञ्चालनमा रहेका दुई अस्पताल काठमाडौं महानगरले गर्‍यो सिल



काठमाडौं । काठमाडौं महानगरपालिकाले दर्ता नै नगरी सञ्चालनमा दुई अस्पताल सिल गरेको छ ।

महानगरपालिकाले बौद्धस्थित चाइना पिपुल्स हस्पिटल र कोटेश्वरस्थित हाम्रो सहयात्री अस्पताल एण्ड वर्थिङ सेन्टरलाई सिल गरेको हो। दुवै अस्पताल दर्ता बिना नै सञ्चालनमा रहेको महानगरको स्वास्थ्य विभागका प्रमुख राम प्रसाद पौडेलले बताए ।

‘दुवै अस्पताल दर्ता बिना नै सञ्चालनमा रहेछ,’ उनले क्लिकमाण्डूसँग भने, ‘अहिलेलाई गैरकानुनी रुपमा स्वास्थ्य सेवा प्रवाहलाई रोक्न हामीले तालाबन्दी गरेका छौं ।’

पौडेलकाअनुसार दुवै अस्पताल १५ शय्याको रहेको र अस्पताललाई महानगरले नै खारेज गर्न सक्ने भएको उनले बताए । आगामी दिनमा सबै मापदण्ड पुरा गरेर आएमा र दर्ता प्रक्रियामा जाने नदेखिएको बताउँदै उनले भने, ‘अहिलेलाई हामीले सिल गरेका छौं । भोलीको दिनमा दर्ता प्रक्रियामा मापदण्ड पुरा गरेर आएमा सोही अनुसार प्रक्रिया अघि बढ्छ ।’


क्लिकमान्डु